काठमाडौँ- गृहमन्त्री जनार्दन शर्माले ६ महिनाभित्र बाढी प्रभावित क्षेत्रमा घर बनाउने गरी योजना निर्माण गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन्।
आज गृह मन्त्रालयमा आयोजित केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बैठकमा मन्त्री शर्माले उक्त निर्देशन दिएका हुन्। 'तथ्यांक संकलन गरेर एकमुष्ट रकम निकासा गर्ने व्यवस्था मिलाएर कम्तीमा ६ महिनामा बाढी प्रभावितलाई पुनःस्थापना गर्ने गरी योजना बनाउनुहोस्,' मन्त्री शर्माले भने।
बाढीका कारण विस्थापितहरुको तथ्यांक तयार गर्न निर्देशन दिँदै उनले अर्को वर्षामा बाढी आउँदा आवश्यक उद्धार सामग्री अहिले नै किन्नुपर्नेमा जोड दिए।
मन्त्री शर्माको निर्देशनपछि केन्द्रीय दैवीप्रकोप उद्धार समितिले स्याउला, खर लगायतका सामग्रीले छाएको घरको छानोलाई जस्ताले छाउनका लागि दुई बण्डल जस्तापाता वितरण गर्ने निर्णय समेत गरेको छ। यस्तै, बाढी आएको बेला राहत र उद्धारमा विशेष भूमिका खेल्ने संघसंस्थालाई पुरस्कृत गर्ने पनि बैठकले निर्णय गरेको छ।
बैठकमा बोल्दै गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले नीतिगत कमजोरीका कारण विपद्सम्बन्धी कार्य युद्धस्तरमा हुन नसकेको धारणा राखे।
बैठकमा सरोकारवाला मन्त्रालयका सचिवहरुले आ–आफ्नो मन्त्रालय मातहतको क्षेत्रमा भएको क्षतिको विवरण प्रस्तुत गरेका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।