

तमिलनाडु– तमिलनाडुको सत्तारुढ पार्टी अन्नाद्रमुक (एआइडिएमके) को महासचिव पदबाट शशिकलालाई हटाउने समाचारका बीच दक्षिणका सुपरस्टार कमल हासनको राजनीतिमा इन्ट्री हुने सम्भावना बढेर गएको छ।
तमिलनाडुको पछिल्लो ५ दशक लामो इतिहासमा सिनेमाको पर्दाबाट उठेर राजनीतिमा जमेका थुप्रै कलाकारहरु छन्। द्रमुक (डिएमके) सुप्रिमो एम करुणानिधि, अन्नाद्रमुकका नेता एमजी रामचन्द्रन र जे जयललिता सिनेमाबाट उठेर राजनीतिको शिखरमा पुगेको इतिहास छर्लङ छ। यो परम्परालाई निरन्तरता दिन कमल हासन राजनीतिमा प्रवेश गर्न लागेको अनुमान लगाइएको छ।
कमल हासन राजनीतिमा आउन सक्ने ५ वटा कारण बताइएको छ।
१. कमल हासन पक्षधरका अनुसार यतिबेला तमिलनाडुमा जयललिताको निधनपछि राजनीतिक अस्थिरता चरममा छ। अन्नाद्रमुकमा मुख्यमन्त्री ई पलानीस्वामी र उपमुख्यमन्त्री ओ पन्नीरसेल्वम पक्षको विलय भए पनि यसले पार्टीमा उल्टो असर परेको छ। अहिले पार्टीमा राज्यभरी जनाधार भएका एउटा नेता छैनन्।
२.कमल हासन पुरै राज्यमा लोकप्रिय छन्। हरेक जिल्ला र टोलमा उनको फ्यान क्लब छ। यही नोभेम्बरमा स्थानीय निर्वाचन हुन लागेको छ। यो निर्वाचनमा आफ्नो समर्थकलाई सडकमा उतारेर कमल हासनले राजनीतिको सुरुवात गर्न सक्नेछन्। भारतबाट प्रकासित हुने चर्चित पत्रिका इन्डियन एक्सप्रेसले दशैँ वा गान्धी जयन्तीको अवसरमा कमल हासनले छुट्टै पार्टीको घोषणा गर्न सक्ने लेखेको छ।
३. श्रोतका अनुसार कमल हासन विपक्षी द्रमुक वा अन्नाद्रमुकभन्दा पनि अन्य क्षेत्रीय पार्टीसँग मिलेर नयाँ राजनीतिक दल गठन गर्न चाहन्छन्।
४. कमल हासनसँग जोडिएका व्यक्तिहरु यो समय उनले राजनीतिमा प्रवेश गर्ने उपयुक्त समय मानेको बताउँछन्। पछिल्लो समय तमिलनाडुको राजनीति शुन्यताको अवस्थामा छ।
५. राजनीतिक विश्लेषकहरु यतिबेला कमल हासन मैदानमा उत्रिएको खण्डमा यसको ठूलो नोक्सानी द्रमुक पार्टीले बेहोर्नु पर्ने दावी गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।