अमेरिका आउने र आफ्नो क्षमता अनुसार काम गरेर बाँकी जीवन निर्वाह गर्ने हाम्रो जस्तो अविकसित देशका अधिकांश व्यक्तिहरुको सपना हुन्छ। त्यसको लागि जायज/नाजायज तरिकाले अमेरिका पुग्ने प्रयास गर्नेहरूमध्ये कम मात्र आफ्नो उद्देश्यमा सफल हुन्छन्। धेरै प्रयास गर्दा पनि असफल भएकाहरु 'मलाई अमेरिका जाने इच्छा नै छैन' र सफल भएकाहरु 'मैले कुनै तिकडम नै गर्नु परेन' भन्नेहरु पनि छन्।
अमेरिका आउनेहरु सबै उत्कृष्ट र नेपालमा बस्नेहरु निकृष्ट भन्ने अर्थ नलागोस्। तर, यहाँ सानै काम गरेर पनि नेपालको भन्दा बढी आनन्दको जीवन निर्वाह गर्न सकिन्छ। त्यसैले कसैले मलाई अमेरिकासँग मतलब छैन भनेर बारम्बार भनिरहन्छ भने ऊ आफू सफल हुन नसकेको कुण्ठा पोखिरहेको छ भन्ने बुझ्न अप्ठ्यारो नहोला।
अमेरिकामा बस्ने नेपालीहरु विभिन्न तह र तप्कामा विभाजित छन्। यहाँ सधैंभरि नेपाललाई गाली गरेर यस्तो भएन र उस्तो भएन भनेर बस्नेदेखि अति नै देशप्रेम भएजस्तो देखाउन बेलाबेलामा दौरा सुरुवाल लगाएर नेपालको झन्डा बोकेको फोटो सामाजिक सन्जालमा अपलोड गर्नेहरु पनि छन्। मेरो विचारमा यस्ता कुरा अतिरन्जित हो। कोहीचाहिँ अमेरिकामा बस्न मन नलागे पनि बाध्यताले बस्नु परिरहेको छ भन्नेहरू पनि छन्। यहाँ बस्नु हाम्रो बाध्यता हो, अमेरिकी सरकारको होइन। यदि कसैलाई आफू बेकारको ठाउँमा आइएछ जस्तो लाग्छ भने तुरुन्त नेपाल फर्किए हुन्छ। त्यस्ता व्यक्तिहरुलाई खुट्टा समातेर यतै बस्नुस् हजुर भनेर कसैले रोक्दैन।
मेरो अनुभवमा यहाँ आएका नेपालीहरु मुख्यतः चार किसिमका छन्। यसमा केही उपवर्गहरु पनि हुन सक्लान्।
पहिलो वर्गमा नेपालबाट वा यतै कुनै प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गरेका डाक्टर, इन्जिनियर र आइटीका जानकारहरु पर्छन्। विश्वविद्यालयमा अध्ययन अनुसन्धान गर्नेदेखि कुरियर कम्पनीमा तथ्यांक सकंलन गर्नेसम्मको काम गरे पनि उनीहरु मेचमा बसेरै काम गर्छन्। यस्तो वर्गका नेपालीहरुको आफ्नो बेग्लै समाज छ र उनीहरु त्यो समाजभित्र मात्र सम्पर्कमा रहन चाहन्छन्। नेपालको बारेमा खासै मतलव नगर्ने, नेपालमा विकास भएन भनेर होहल्ला पनि नगर्ने र कमाएको धन सम्पति यतै उपयोग गर्ने विचार भएका यिनीहरु न त नेपाललाई गाली गर्छन न त अमेरिकामा बाध्यतले बस्नु परेको भन्छन्। यो वर्गमा आफ्नो सानोठूलो व्यापार गरेर आर्थिक रुपमा सम्पन्न भएका व्यक्तिहरु पनि पर्छन्। यिनीहरुलाई अनावश्यक काममा अल्झिरहने रुचि हुँदैन। समय पनि हुँदैन।
दोस्रो वर्गमा आफू संलग्न पेशाको परिचय सदुपयोग वा दुरुपयोग गर्दै अनेकौं तिकडम गरेर अमेरिका पुगेका तर यहाँ आउन र बस्न पटक्कै मन नभएको अभिनय गर्ने व्यक्तिहरु पर्छन्। आफूले नेपालमा गरेको पेशाको ‘ह्यांगओभर’ले नछोडेका यस्ता व्यक्तिहरु आफूलाई म जस्तो जानकार यो संसारमै छैन कि जस्तो कुरा गर्छन्। ट्याक्सी चलाउनेहरुले एउटा चिर्कटो छापेर आफूलाई पत्रकार भन्ने र सुस्त मनस्थितिको व्यक्तिहरुको स्याहार गरेर आफू नेपालमा कर्णेल, डिएसपी वा सहसचिव थिएँ भनेर निरर्थक गनगन गरिरहने यो वर्गमा पर्छन्। तर, यहाँ यस्तो कुरामा कसैलाई रुची हुँदैन भन्ने हेक्का उनीहरूलाई हुँदैन।
यस्तै नेपालमा केही माखो मार्न नसकेर यहाँ आएर गुजारा चलाएकाहरु हरेक विषय र प्रसंगमा उपबुज्रुक हुन पछि पर्दैनन्। आफू विशेष व्यक्ति भएका कारणले अमेरिका आउन पाएको सम्झिन्छन्। साथै अरुलाई बिनाकाम यस्तो गर्नुपर्छ र यस्तो गर्नुहुँदैन भनेर प्रवचन दिनमा रुची राख्छन्। सायद यिनीहरुलाई आफू जस्तो जानकार कोही छैन जस्तो लाग्छ। नेपालमा छोरा छोरीको स्कुलको शुल्क तिर्न नसकेको र आफूले खाएको रासनको पैसा तिर्न नसकेर किराना पसलेले घाँटी समातेको दृश्य कसैलाई थाहा नभएको अभिनय गर्छन्। यिनीहरुको चुरीफुरी हेरिनसक्नु हुन्छ। घरकी श्रीमतीलाई सुसारे (बेबीसिटर), नङ्गिनी (नेल), भुत्ली (थ्रेडिङ्ग), कान्छी (हाउस किपिंग) इत्यादि काममा पठाएर आफू टाईसुटमा ठाँटिएर हिड्नेहरुलाई पनि यसै वर्गमा राख्न सकिन्छ।
कोही हप्ताको ६ दिन ‘अपान वायु’ फुत्किने गरी रेष्टुराँमा यत्रो चाङ प्लेट उठाउँछन्। कोही हप्ताको ६ दिन दैनिक १२ घण्टा फिलोमा पसिना आउने गरी गाडी कुदाउँछन्। कोही हप्ताको ७० घण्टा तिघ्रा थर्थरी कामुन्जेल उभिएर सेक्युरिटी गार्ड बन्छन्। कोही ग्रोसेरी स्टोर वा पेट्रोल पम्पमा घुँडाको छाला जानेगरी सोडा, चिप्स मिलाउँछन्। कोही चिया–चुरोट–चमेना पाउने खुद्रा पसल थाप्छन्। कोही ९ जना मिलेर रेष्टुरेष्ट खोलेर मालिक हुँ भन्ने आत्मरती लिन्छन्। कोही घरजग्गा र अपार्टमेन्टको दलाली गर्छन्। कोही ढाड कटक्क हुन्जेल एउटा सफ्टवेयरमा डाटा हाल्ने काम गर्छन् र आफूलाई कम्प्युटर इन्जिनियर ठान्छन्। कोही ४२ दिन सीएनए पढेर म नर्स हुँ भन्छन्। कोही फर्म भर्ने काम गरेर म वकिल हुँ भन्छन्। कोही अनलाइन 15 चलाएर म पत्रकार हुँ भन्छन्। कोही दुइटा गीत गाएर म कलाकार हुँ भन्छन् र नेपालमा भएका जोरीपारीलाई फेसबुकमार्फत कनिकुथी शान देखाउँछन्। यी सबै दोस्रो वर्गमा पर्छन्।




तेस्रो वर्गमा, विभिन्न संघसंगठन खोलेर त्यसको एउटा पद लिने र त्यो पदको काम भनेको वर्षे च्याउजस्ता अनलाइन पोर्टलहरुमा फलानो संघका महासचिवले यस्तो भन्नुभयो र ढिस्कानो संगठनका अध्यक्षले उस्तो भन्नुभयो भन्ने मात्र हो। उनीहरूको अरु कुनै हैसियत छैन। यस्तै बकम्फुसे समाचारलाई सामाजिक सन्जालमा सेयर गरेर आत्मरतीमा डुब्नु यिनीहरुको काम हो। त्यतिमात्रै होइन, कम्युनिष्टको ‘क’ सम्म सुन्न नचाहने र अमेरिका आउँदा आजसम्म कुनै पनि कम्युनिष्ट पार्टीमा नलागेको र त्यस्ता पार्टीहरुलाई चन्दा पनि नदिएको भनेर भिसा फारामै चिनो लगाएर आउनेहरुले समेत कम्युनिष्ट पार्टीको विदेश विभाग खोल्छन्। यो आश्चर्यजनक मात्र होइन, यो देशको कानुनको बर्खिलाप पनि हो। यिनीहरुलाई यस्ता बकम्फुसे पदसँग यति मोह छ कि, केही नलागे 'उत्तर अमेरिका दोहारी गायन संघ' खोल्न पनि बेर लगाउदैनन्। अमेरिकामा दुःख छ, यँहा नेपालीहरु बढी भए, अब यता आउन रोक्नुपर्छ भन्नु र बिहानदेखि बेलुकासम्म नेपाललाई गाली गर्नु यिनीहरुको दिनचर्या हो।
अमेरिकी सरकारले पाखुरा समातेर नरोकेको भए म त बस्ने थिइनँ भन्ने खालको कुरा गर्ने यिनीहरुलाई कुनै कारणवश यो देश छोडेर नेपाल फर्किनु पर्ला कि भन्ने ठूलो डर पनि छ। तर फेरि आफूलाई कुनै चिन्ता नभएको जस्तो भावचाहिँ देखाउछन्।
अन्तिम तथा चौथो वर्गमा दिनको चौध घण्टासम्म काम गर्ने र पैसा बुझेको दिन सर्लक्क नेपाल पठाउनेहरु यो पर्छन्। एउटै कोठामा चारपाँच जनासम्म बस्ने यिनीहरुको दिनचर्या भनेको काम गर्ने स्थान र कोठा नै हो। नौ वर्ष न्युयोर्कमा बसेर टाइम्स स्क्वायर नदेखेको एउटा व्यक्तिलाई यो पंक्तिकारले पनि भेटेको थियो। संयुक्त भान्छा र शौचालय भएको कारणले कुखुराको अन्डादेखि ट्वाइलेट पेपरसम्म अरुले प्रयोग गरिदेला भन्ने डरले नाम लेखेर राख्नुपर्ने बाध्यता छ यिनीहरुलाई। जसरी हुन्छ, काठमाडौं वा नजिकको बजार क्षेत्रमा घर बनाउने वा घर भइसकेकाहरुले तल्ला थप्ने एकमात्र लक्ष भएका यिनीहरुलाई ‘पेटभरि मासु भात खाइन्छ, काठमाडौंमा घर बनाइन्छ’ वर्गको नाममा माथिका अन्य वर्गकाले चिन्छन्।
केही तालिम लिएर वा पढेर आफ्नो सीप वा भाषा ज्ञान बढाउने भन्दा पनि छिटो धनी हुने इच्छाका कारणले यहाँ रहेका अधिकांश नेपालीहरुको काम भनेको घण्टा हान्ने (जति घण्टा काम गर्यो त्यति मात्र तलब पाउने, अरु सुविधा नपाउने) मात्र हो। अरु एसियाली देशबाट यहाँ आएका व्यक्तिहरुको जीवनस्तर माथि पुगिसक्दा पनि नेपालीको जीवनस्तर भनेको दुई गाँस टार्नेमा मात्र सीमित छ, केहि अपवादलाई छोडेर।
अन्तिममा, यो आलेख पढिसकेपछि कोही कसैलाई आफ्नै मर्ममा प्रहार भएको जस्तो लागेमा त्यो केवल संयोग मात्र हो भन्ने जानकारी गराउन चाहन्छु।
@naviinr
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।