काठमाडौं- बिमा समितिले अहिले बिमा कम्पनीहरूको मर्जरको लागि बाटो खोलेको छ। यद्यपि अहिले बजारमा बिमा कम्पनीको आवश्यक संख्या यति नै हो भनेर किटान गर्न भने नसकिने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन्।
जीवन बिमा कम्पनीतिर कुनै समस्या छैन, समस्या देखिएको भनेको निर्जीबन बिमा कम्पनीतिर हो,' नेपाल लाइभको कार्यक्रम 'समय संवाद'सँगको कुराकानीमा उनले भने, 'त्यसैले पनि अहिले हामीले भर्खरै मर्जरको लागि बाटो खोलेका छौं, यसमा हामी केही गर्छौं। निर्जीवन बिमा कम्पनीहरुमा केही समस्या छन्, संख्यात्मक रुपमा पनि केही धेरै भएकै हो।'
निर्जीवन बिमा कम्पनीहरुमा देखिएका समस्या बिस्तारै हट्दै जानेमा विश्वास दिलाउँदै पौडेलले यो एक वर्षको तथ्यांकले निर्जीवन बिमाको वृद्धि १० देखि १५ प्रतिशतले मात्रै बढेको देखाएको बताए। पौडेलका अनुसार जीवन बिमातर्फको वृद्धि भने ४५ प्रतिशतले बढेको छ।
'दुई वर्षअघिसम्म ७ प्रतिशतमा सीमित रहेको बिमाको दायरा अहिले १८ प्रतिशतमा पुगेको छ। यो अवधिमा १८ प्रतिशत नागरिकलाई बिमाको पहुँचमा पुर्याउन हामी सफल भएका छौं,' उनले भने, '७ बाट १८ प्रतिशतमा पुर्याउन बिमा समितिले यो बीचमा बिमा क्षेत्रको संरचनागत सुधार, बिमा साक्षरता जस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेको छ।'
बिमाको दायरा बढाउन स्थानीय निकायसँग सहकार्य गरेर अघि बढिरहेको पनि उनको भनाइ छ।
बिमा क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा केन्द्रित रहेर नेपाल लाइभका सुमन शर्माले कार्यकारी निर्देशक पौडेलसँग गरेको भिडियो वार्ता:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।