काठमाडौं- जर्मनी र नेपालबीच झण्डै दशकपछि राजनीतिक परामर्श सुरु भएको छ।
सन् १९५८ मै कूटनीतिक सम्बन्धमा जोडिएका नेपाल र जर्मनीबीच सन् २०१२ यता उच्च स्तरका कुनै भ्रमण आदान-प्रदान भएका थिएनन्।
कूटनीतिक सम्बन्ध स्थापनाका ६० वर्षमा नेपालका तर्फबाट प्रधानमन्त्री तहमा पछिल्लो पटक सन् १९९५ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले जर्मनीको भ्रमण गरेका थिए। जर्मनीबाट भने नेपालमा प्रधानमन्त्री या राष्ट्रपति तहको भ्रमण अहिलेसम्म भएको छैन।
सन् २०१२ मा प्रधानमन्त्री स्तरमा दुवै देशबाट भ्रमण भएका थिए। तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट उच्च २८ फ्रेबुअरीमा जर्मन गएका थिए। त्यस्तै मार्च ५ मा त्यहाँका आर्थिक सहकार्य तथा विकास मन्त्री ५ दिने नेपाल भ्रमणमा आएका थिए।
नभइरहेको कूटनीतिक आदान-प्रदानलाई जर्मनीको परराष्ट्र मन्त्रालयमा दक्षिण एसियाका लागि आयुक्त मार्कुस पोटजेले भ्रमण गरेर त्यसलाई नवीकरण गर्ने प्रयास गरेका छन्।
दक्षिण एशसयाका देशको भ्रमणको सिलसिलामा मंगलबार दुई दिने भ्रमणमा नेपाल आएका पोटजेले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँगको भेटबाट राजनीतिक संवाद थाले। उनले परराष्ट्र मन्त्रीका अलवा कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल र सूचना, संचार तथा प्रविधि मन्त्री गोकुल बास्कोटासँग भेटवार्ता गरेर राजनीतिक तहको परामर्श समेत सुरु गरे। यो झण्डै दुई दशकपछिको पहल हो।
पोटजे नेतृत्वको प्रतिनिधिमण्डलसँग विभिन्न मन्त्रीसँग भएको भेटमा द्विदेशीय, क्षेत्रीय सम्बन्धमा साथै राजनीतिक एवम् आर्थिक विषयमा गहन छलफल भए।
परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागितामा भएको संयुक्त राजनीतिक परामर्शमा पारस्परिक हित र चासोका समग्र विषयमा विचारविमर्श भयो।
परराष्ट्र सचिव शंकरदास बैरागी नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले बदलिँदो परिवेशमा नेपालको सामाजिक, आर्थिक उन्नयनका निम्ति ज्ञान र प्रविधि हस्तान्तरणसहित नैतिक तथा भौतिक सहयोगका निम्ति अनुरोध गरेको थियो।
आयुक्त पोटजेलले मंगलबार परराष्ट्रमन्त्री ज्ञवालीसँग शिष्टाचार भेट गरेका थिए। भेटमा जर्मनीले नेपाललाई निरन्तर रुपमा विकास सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताएका थिए।
बर्लिनले वर्तमान सरकारले अघि सारेका आर्थिक सुधारका कार्यक्रमको सराहना पनि गरेका थिए।
त्यसक्रममा पोटजेलले नेपालको संविधानको मर्म र भावनानुसार आधारभूत मानवाधिकार सुनिश्चित गर्न भएका प्रयासको प्रशंसा पनि गरेका थिए।
तीनवटै तहको निर्वाचन सम्पन्न भई राजनीतिक स्थायित्वका साथ संघीय लोकतान्त्रिक शासनप्रणाली अंगालेको नेपालसँग उच्चस्तरीय राजनीतिक परामर्श गर्नु वाञ्छनीय भएकाले वार्षिक रुपमा द्विपक्षीय भेटवार्ता गर्दै आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन कूटनीतिक संयन्त्र परिचालन भएको उनको भनाइ थियो।
नेपालसँगको राजनीतिक संवाद र सम्बन्धलाई स्तरोन्नति गर्ने बर्लिनको चाहनाअनुरूप नेपालको दुई दिने भ्रमणमा रहेका उनले भारततर्फ प्रस्थान गर्नुअघि कूटनीतिक मामिलामा कलम चलाउने केही पत्रकारहरुसँग पनि छलफल गरेका थिए।
त्यहाँ उनले आफूहरूले ‘पुरानो मैत्री र साझेदारीपूर्ण सहयोगात्मक सम्बन्धलाई नयाँ उचाइ दिन चाहेको’ बताएका थिए।
सहयोगको प्रतिबद्धता
नेपाल र जर्मनीले जलवायु परिवर्तनका प्रतिकूल असरहरू घटाउन तथा हरितगृह ग्यास उत्सजर्नको मात्रालाई पनि बढोत्तरी हुन नदिने समान दृष्टिकोण र अडानका साथ अन्तर्राष्ट्रिय मञ्चहरूमा साझेदारी एवम् सहकार्य गर्दै आएका छन्।
भेटमा उनले जलवायु परिवर्तनका प्रतिकूल असरहरुसँग लड्न नेपाललाई ४० लाख युरो सहयोग गर्ने बचवद्धता पनि जनाएका थिए।
त्यस्तै हेम्बर्ग विश्वविद्यालयसँगको साझेदारीमा केशर महलस्थित पुस्तकालय र राष्ट्रिय अभिलेखालयका संस्कृत पाण्डुलिपीहरूको संरक्षण र नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन जर्मनीका पर्यटन उद्यमी-व्यवसायीलाई नेपाल घुम्न अभिप्रेरित गर्ने प्रतिबद्धतासमेत जर्मनीले व्यक्त गरेको छ।
गत वर्ष ३७ हजार जर्मनीले पर्यटकले नेपाल भ्रमण गरेका थिए। म्युनिख र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच साझेदारी, जर्मनीको राष्ट्रिय ध्वजाबाहक लुफ्थान्साको पुनरागमन, जर्मनीको कुनै एउटा प्रतिष्ठित सुरक्षण मुद्रण कम्पनीको सम्भावित नेपाल प्रवेशजस्ता विषयमा पनि धेरै सकारात्मक कुरा भएको पनि बताइएको छ।
६ दशकदेखि नेपालको सामाजिक-आर्थिक विकासका निम्ति सघाउँदै आएको जर्मनीले नेपाललाई अनुदानका रुपमा विकास सहायतामात्र नभइ रोजगारीका अवसर सिर्जना गर्दै आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन सहयोग गर्ने वाचा पनि जर्मनीले गरेको छ।
पाकिस्तान र अफगानीस्तानको भ्रमण सकेर नेपाल आएका पोटजेल नेपालसँग क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा विचारविमर्श अपरिहार्य भएको ठान्छन्। दुई देशका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीबीच राजनीतिक परामर्श प्रारम्भ हुनु त्यसैको निरन्तरता भएको उनी मान्छन् ।
सङ्घीयता अङ्गालेको आफ्नो देश र भर्खरै त्यस्तै शासन प्रणालीमा प्रवेश गरेको नेपालसँग अनुभव आदानप्रदान गर्नु भ्रमणको अर्को उद्देश्य रहेको पनि उनको भनाइ छ।
-साससको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।