काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विपद् जोखिम न्यूनीकरणका लागि सरकारको तयारी नपुगेको बताएका छन्।
रिपोर्टस क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै पौडेलले विपद् न्यूनीकरणको पुर्व तयारी गर्न नसक्दा तराईका जिल्ला बासीहरु प्रत्येक बर्ष बाढीको चपेटामा पर्ने गरेको बताएका हुन्।
'अनियन्त्रित ढंगबाट बनाईएका बाँधहरु भत्काउने, मर्मत गर्ने र नेपालबाट समाधान नहुने समस्याबारे भारतसंग कुरा गरेर भएपनि बाढीजन्य पीडाको दीर्घकालीन उपाय खोज्नुपर्छ,' नेता पौडेलले भने।
राष्ट्रिय जनता पार्टीका सांसद अनिल कुमार झाले केन्द्रीय सरकारको अर्कमण्यताले तराईका जिल्लाका स्थानीय बर्षेनी बाढी र डुबानको चपेटामा पर्ने गरेको आरोप लगाए।
डुबानको कारक भन्दै छिमेकीलाई दोष दिनुभन्दा आफ्ना जनताको सुरक्षाका लागि सरकारले ध्यान दिनुपर्ने उनको तर्क थियो।
नेपाल कम्युनिष्ट पार्टीका नेता एवं सांसद महेश बस्नेतले विपद पछिको उद्धार, खोजी तथा व्यवस्थापनमा राज्यका सबै संयन्त्रहरु परिचालित भएको बताएका थिए।
अविरल वर्षासंगै नदी, स्थानीय खोला लगायतमा आएको बाढीका कारण पुर्वी तराईका जिल्ला डुबानको चपेटामा परेका छन्।
अहिलेसम्म बाढी र पहिरोमा परी ३० जनाले ज्यान गुमाईसकेका छन्।
भारतीय बाँधका कारण डुबानमा परेको रौतहटमा भने अहिले पानीको सतह कम हुँदै गएको गृहमन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।