काठमाडौं– नेकपा (एमाले)ले पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का पूर्वसचिव र राष्ट्रियसभाका पूर्वसदस्य वीरबहादुर सिंहको निधनप्रति दुःख व्यक्त गरेको छ ।
पार्टी सचिव प्रदीपकुमार ज्ञवालीले आज जारी गरेको विज्ञप्तिमा सिंह जस्तो कम्युनिष्ट राजनीतिज्ञ गुमाउनु पर्दा पार्टीले अपूरणीय क्षति व्यहोर्नु परेको भन्दै दुःख व्यक्त गरिएको छ ।
‘साठी वर्ष लामो राजनीतिक यात्रामा कम्युनिष्ट आन्दोलनप्रति अविचलित आस्था, जनताको निःस्वार्थ सेवा र सादगीपूर्ण एवम् स्वच्छ जीवनको आदर्श सिंहले स्थापित गर्नुभएको थियो’, विज्ञप्तिमा भनिएको छ ।
गत असारमा आफ्नै घरको बार्दलीबाट खसेर घाइते हुनुभएका सिंहको मिर्गौला र कलेजोमा समस्या देखिएपछि सिननामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार क्रममा आइतबार बेलुका ७७ वर्षका उमेरमा निधन हो । विसं १९९७ मंसिर १ गते बुबा ईश्वरबहादुर केसी र आमा चेतनाको कोखबाट जन्मिएका उनले २०१५ सालदेखि नै नेपालको कम्युनिष्ट आन्दोलनमा अनवरत योगदान गर्दै आएका थिए।
प्यूठान नौबहिनी गाउँपालिका–६ लुङ घर भएका सिंहले २०२१ सालमा नेकपाको सदस्यता प्राप्त गर्नुभएको थियो । सिंह प्यूठान एमाले जिल्ला कमिटी सचिव, अञ्चल कमिटी सदस्य र केन्द्रीय सल्लाहकार कमिटी सचिव थिए। सिंहका तीन छोरा र दुई छोरी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।