सल्लाहकारको एउटा मुखाले ट्विट

नारायण अमृत | २०७६ असार २२ आइतबार | Sunday, July 07, 2019 २१:४५:०० मा प्रकाशित

'भनिन्छ, छौँडाहरू
आफैँ चलमलाउँदैनन्,
कसैले छोड्छन्, 
दुःख दिन्छन्!
यी छौँडाहरू 
आफैँ चलमलाएका हुन् कि
कसैले छोडेका?'
सामाजिक सञ्जाल यतिबेला प्रधानमन्त्री केपी ओलीका एक प्रभावशाली सल्लाहकारको ट्विटको अर्थ विन्यास गरिरहेको छ। ओलीका निकटतम र विश्वसनीय भनिएका सल्लाहकार विष्णु रिमालका यी शब्दहरूमा कसैले राजनीतिको विराट दर्शनसहित आफ्नै मनोभावको प्रतिछायाँ देखिरहेका छन्। केपी ओलीले ठट्टा गर्दा पनि ‘त्यो टुक्का होइन, हाम्रा लागि महान् मार्गदर्शन हो’ भन्दै रोमाञ्चित हुनेहरूका लागि सल्लाहकार रिमालका शब्द आनन्दका प्रतीक हुन्। आड-भरोसा हुन्। जे हुन् सत्य हुन्।

तर, सत्ताबाहिर रहेकाहरू र प्रधानमन्त्री ओली गुट इतरका लागि सल्लाहकार रिमालका शब्दहरू छुद्रता र कुण्ठाका मानक हुन्। टाढै बसेर भएपनि ओली चिन्तन र व्यवहारलाई सघाउँदै आएका पार्टीभित्रैका कतिपय ‘मठ’हरूमा समेत सल्लाहकारका शब्दले आक्रोशको आगो बाल्दैछ। फेसबुक र ट्विटरका भित्तामा यसको पीरो धुवाँ साक्षी बनेर उडिरहेको देखिन्छ।

कुरा, समर्थन र विरोधको मात्र हो कि अरु पनि छ?

सल्लाहकारजीको ‘ट्विट कविता’मा जम्मा १६ शब्द छन्। अलिक गहिराइमा पुगेर हेर्ने हो भने यसको जरा हाम्रो राजनीतिका सोह्रै कुनासम्म फैलिएको छ। कतै अँध्यारा कुना, कतै उज्याला कुना र कतै घुर्मैला कुना। अँध्यारा कुनामा बसेर सत्ता र शक्तिको आडमा ‘लेनदेन’ गर्न सकिन्छ। यसको ठिक विपरीत उज्यालो कुनामा बसेर आदर्शपरक रुपमा मार्क्सवादी र राष्ट्रवादी भजनकीर्तन गर्न सकिन्छ। र, घुर्मैला कुनामा बसेर बदलाभावले अर्धविक्षिप्त बन्दै ‘छौंडा’लाई धारे हात लगाउँदै ट्विट लेख्न सकिन्छ। 

राजनीतिमा यस्ता अरु कुना पनि छन्, जहाँ आफूलाई 'राम' घोषणा गर्दै 'हनुमान' तयार गर्न सकिन्छ। विरोधी चिल्न अरिंगाल उडाउन सकिन्छ। र, केही सीप लागेन भने सबैभन्दा शक्तिशाली कानुन पनि यही राजनीतिको अर्को कुनै कुनामा बसेर बनाउन सकिन्छ।

लोकतन्त्रमा सबै कुनाहरूमा हुने कर्मका रुप-रंगहरू हुन्छन्। तिनका संकेत र लक्षणहरू हुन्छन्। त्यस्ता हरेक कर्मका अर्थहरू सतहमा उत्रन्छन्। एउटा कुनामा बसेर मुख्य सल्लाहकार महोदयले लेखेको यो ट्विटले मौजुदा राजनीतिको एउटा विद्रुप चित्र प्रतिविम्बित गरेको छ। कुनै कुनाभित्र हुँर्कदै गरेको सत्ताधारी उन्माद र अलोकतान्त्रिक चरित्रको प्रकटीकरणका लागि यो ट्विट काफी छ। 

खासमा यो एकजना सल्लाहकारको वाणी होइन, सत्ताको नाभी बालुवाटारमा उत्पन्न उच्छावासको द्योतक हो।

सरकार चाहथ्यो, उसका सबै कुरा सबैथरी जनताले पत्याइदिऊन्। महंगो मलको भारीले थिचिएको किसानले उसैको गीत गाइदियोस्, सरकार जिन्दावाद। संस्कृति र परम्पराप्रेमी मनुवाले भनिदेओस्, गुठी विधेयक जिन्दावाद। लेखक-पत्रकार र बुद्धिजीवीहरूले त झन् सरकार झुक्किएको चालै नपाउन्। मान्छे पक्रेर पेस्तोल ‘झुक्किदा’ होस् या सडक छेउमा कविता रच्दै हिँडेको कवि खोरमा पुग्दा नै किन नहोस्, सबैले भनिदिउन्, देशमा शान्ति छ, सरकार जिन्दावाद। 

रेल, पानीजहाज, स्याटलाइट र हावाबाट निस्कने बिजुलीका कुरा त ऋचा-वन्दना नै बनुन्। हुँदा–हुँदा नाकमुख छोप्नु पर्ने ‘मास्क’लगाएरै भएपनि सबैले सरकारका सबै मन्त्रणा गुन्गुनाइदिउन्। सीमाबाट नेपाल छिर्ने विषाक्त तरकारी बोकेका ट्रकका चक्काहरू सरकारका पर्यायहरू हुन्, हावा कसैले नखुस्काइदियोस्। सत्ताधारी ‘दादागिरी’ चलाउन विना तयारी लाइन लगाइएका एकपछि अर्को विधेयकप्रति सबै बुज्रुकहरू मौन रहुन्। सबैले भनिदिउन्, 'यो सबै सुखी नेपाली र समृद्ध नेपालका लागि हो।'

तर यो लोकतन्त्र हो। त्यसैले जनताले विवेकसँग सम्झौता गर्दैन। विस्तारै सबैलाई अनुभूति हुँदै गयो कि, अनलाइन र अखबार पढिने तथा रेडियो र टेलिभिजनमा सुनिने/देखिने सरकारभन्दा आफूले भोगेको वास्तविकता अलग छ। जनताले जसरी बुझुन् भनेर सरकारले ‘फ्रेम’ तयार गरेको थियो, त्यसो भएन। जनताले हिजोका वाचालाई आजका वास्तविकतासँग दाँज्न थाल्यो। हिजो हातमा जादुको छडी भएझैं गरेका नेताको हातमा आज नागरिकलाई तह लगाउने छडी मात्रै देखियो। हिजो स्वतन्त्रता, समानता, भातृत्व र मुक्तिको गीत गाउने नेता आज बन्धन तयार गर्दैछ। सोफा अलि अघि सारेर बस्दैछ। आफू सबैभन्दा शक्तिशाली र अग्लो भएको सन्देश दिँदैछ। ट्याउँट्याउँ नगर भनेर अर्ति दिँदैछ।

जनतासँग एउटै यक्षप्रश्न छ, यो के भइरहेको छ?

बालुवाटारमा पर्खाल छ, बन्दुक छ, वैधानिकता छ, स्रोतमाथि पहुँच छ। समयसमयमा कोही त्यसको मालिक हुनसक्छ तर त्यो जनताको नासो हो भन्ने उसले भुल्दै गएको छ। जसले भुले तिनको हविगत के भयो, इतिहास साक्षी छ। यसै पनि यो देशमा सबैभन्दा बढी विगत पुनरावृत्ति हुने गरेको छ। यो अभिशप्त प्रक्रियाका आफ्नै दुःख छन्। चुनावी घोषणापत्र पल्टाएर रुजु गर्दै काम फत्ते गर्ने समयमा ‘छौंडा साहित्य’ उति जनप्रिय होइन। समयको माग पनि होइन।

आफैं कमजोर रहेकाहरूलाई सधैं भूकम्प गइरहेको भान हुन्छ। कसैले छेउमा बसेर हल्लाइरहेको भ्रम हुन्छ। एकपछि अर्का निर्णयहरू फिर्ता लिनुपरेका कारण कमजोर हुँदै गएको सरकारलाई पनि अर्कैमाथि शंका छ। ‘भौतिकवादी हुँ’ भन्दै राजनीतिको मैदानमा पाइला टेकेकाहरू आज छौंडाको शरणमा पुगेको कारुणिक परिदृश्यको अर्थ हो, दुई तिहाइको दम्भलाई निरन्तर भइरहेको राजनीतिक स्खलनले अप्रिय थकानको बिन्दुमा झारेको छ। 

लोकतन्त्रमा आलोचनाको एउटा सुन्दरतम स्थान हुन्छ। तर सरकारलाई अहिले पनि आफ्ना विरोधीहरू, आलोचकहरू सबैले तगारा सिर्जना गरिरहेका हुन् भन्ने लाग्छ। सुनौला गन्तव्यका लागि बाटो देखाइरहेका छन् भन्ने लाग्दैन। मुख्य सल्लाहकारको ट्विट-कवितामा उनिएका ‘छौंडाहरू’लाई नेपाली शब्दकोषले कसरी अर्थ्याएको छ, त्यो छोडौं। तर यसको मूल्य तरबुजा र चक्कुको सन्दर्भसँग जोडिन्छ।

बालुवाटारले बुझ्नु के पर्छ भने, विरोधीहरूप्रति जे जस्ता औजार र अभिव्यक्तिहरू तयार पारिदैछन्, ती स्वस्थ र लाभदायक छैनन्। जसरी चक्कु तरबुजामा गिर्दा तरबुजा घाइते हुन्छ र तरबुजा चक्कुमा गिर्यो भने पनि तरबुजा नै घाइते हुन्छ। एकोहोरो घाउ बनाउने प्रक्रिया न लोकतन्त्रका लागि ठिक छ, न मौजुदा सरकारका लागि। यो सरकारलाई सबैभन्दा बढी कुनै कुनाबाट खतरा छ भने आफैंले सृजना गरेका घुर्मैला कुनाबाट छ, जहाँबाट जन्मन्छन्, यस्तै मुखाले ट्विट। र, सत्ताधारी उन्मादसहितका योजना। 

ट्विटर: @amritna