प्रज्ञाको पुस्तक प्रदर्शनीमा ५ लाखको पुस्तक बिक्री

नेपाल लाइभ | २०७६ असार २० शुक्रबार | Friday, July 05, 2019 २०:२३:०० मा प्रकाशित

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानको ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा करीब ५ लाख रुपैयाँ बराबरको पुस्तक बिक्री भएको छ।

यही असार ८ देखि २२ गतेसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा प्रतिष्ठानले विभिन्न समयमा प्रकाशित गरेका कृति तथा पत्रपत्रिकासमेत गरी करीब ४ सय कृति बिक्रीका लागि राखिएको जनाएको छ। प्रदर्शनीमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।

नेपालका विभिन्न जाति, संस्कृतिका इतिहास, परम्परा तथा संस्कारकाबारे प्रतिष्ठानले प्रकाशित गरेका कृतिका साथै स्वदेशी साहित्यकारका महत्वपूर्ण कृतिलाई अङ्ग्रेजी, हिन्दी भाषामा तथा विदेशीका कृतिलाई नेपालीमा अनुवाद गरी प्रदर्शनीमा राखिएका छन्।

प्रतिष्ठानको शुरुवातदेखि विसं २०६७ सम्मका कृतिलाई ६० प्रतिशत र ०६८ देखि हालसम्मका प्रकाशित कृतिमा ४० प्रतिशत छुट गरिएको प्रदर्शनीका संयोजक सुधिर ढुङ्गेलले जानकारी दिए।

उक्त प्रदर्शनीमा ३ रुपैयाँदेखि १ हजार ४ रुपैयाँ मूल्यका कृति बिक्री भएका जनाइएको छ। प्रतिष्ठानले वार्षिकोत्सवका साथै राष्ट्रिय महत्वका विभिन्न कार्यक्रमका, ठूला साहित्यकारको स्मृतिमा समेत यस किसिमका प्रदर्शनी गर्दै आएको छ। रासस/फाइल तस्बिर