काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा हेरफेर भएको छ।
नयाँ जिम्मेवारी अनुसार पार्टीका केन्द्रीय सदस्य देवराज घिमिरेलाई पार्टी केन्द्रीय कार्यालयमा अध्यक्षको नीजि सचिवालयको जिम्मेवारी तोकिएको छ। घिमिरेलाई राजनैतिक प्रकृतिका कामहरु व्यवस्थित गर्ने जिम्मेवारी तोकिएको छ। झापा विर्तामोडका घिमिरे राष्ट्रिय सभाका पूर्व सदस्य हुन्।
प्रमुख स्वकीय सचिवको जिम्मेवारी राजेश बज्राचार्यलाई दिइएको छ। काठमाडौं कीर्तिपुरका बज्राचार्य एक दशकदेखि ओलीको स्वकीय सचिवको रुपमा कार्यरत छन्।
अनिश दाहाललाई संसदीय फाँट र विकास निर्माणका काम हेर्ने गरी स्वकीय सचिवको जिम्मेवारी दिइएको छ। अनेरास्ववियुको राजनीतिसँगै नेकपा एमाले झापा–काठमाडौं सम्पर्क मञ्चको जिम्मेवारी बहन गरिसकेका दाहाल विगत एक वर्षदेखि सचिवालयमै रहेका छन्।
अध्यक्ष ओलीले सञ्चार क्षेत्रसँग समन्वय गर्न चेतन अधिकारीलाई प्रेस संयोजकको जिम्मेवारी दिएका छन्। डेढ दशकदेखि मूलधारको पत्रकारिता गर्दै आएका अधिकारी ओली प्रधानमन्त्री रहँदा वरिष्ठ सञ्चार विज्ञ (प्रेस संयोजक)का रुपमा कार्यरत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।