काठमाडौं– नेकपा (एमाले) ले प्रतिनिधिसभा र प्रदेशसभाको नयाँ संरचनाअनुसार कमिटी निर्माण गर्ने भएको छ।
आज पार्टी मुख्यालयमा बसेको स्थायी कमिटी बैठकले नयाँ संरचनाअनुसार १६५ निर्वाचन क्षेत्रमा नयाँ क्षेत्रीय कमिटी बनाउने निर्णय गरेको उपाध्यक्ष युवराज ज्ञवालीले बताए। यसअघिका २४० क्षेत्रीय कमिटी विघटन गर्दै एमालेले नयाँ कमिटी बनाउने भएको हो ।
उहाँका अनुसार चाँडै नै प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अहिले एकजना संयोजक रहने गरी कमिटी बन्ने छ । यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्रीय कमिटी ७७ जिल्लाका ३३० निर्वाचन क्षेत्रमा प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीसमेत गठन गर्ने निर्णय गरेको उनले बताए।
एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय कमिटी हुने छैनन् जसमा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्र बराबर एक संयोजक रहने गरी कमिटी बनाइने छ।
बैठकले समानुपातिक प्रणालीको निर्वाचनका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्नेसमेत निर्णय गरेको छ । बैठकले नेपालका सात प्रदेशको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने सिट र समानुपातिक सिटका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय गरेको उपाध्यक्ष ज्ञवालीले बताए।
यसैगरी, एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सचिवालयको जिम्मेवारी तोकेका छन्। आज अध्यक्ष ओलीले विज्ञप्ति जारी गरी सचिवालयमा रहने विभिन्न व्यक्तिलाई नयाँ जिम्मेवारी तोकेको जानकारी गराए।
उनले राजनीतिक तथा पार्टीको अन्य कामकाजलाई सहज र व्यवस्थित बनाउन सचिवालयको नयाँ जिम्मेवारी तोकेको बताए। अध्यक्ष ओलीले दिएको नयाँ जिम्मेवारी अनुसार केन्द्रीय सदस्य देवराज घिमिरेलाई विभिन्न पार्टीका नेता एवं पार्टी कार्यालयबाट हुने कार्य सम्पादन, प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्य, स्वकीय सचिवमा अनिस दाहाल र प्रेस संयोजकमा चेतन अधिकारीलाई जिम्मेवारी दिएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।