अहिलेका चर्चित अभिनेतामध्ये पर्छन् नाजिर हुसेन। ‘होस्टल रिटन्र्स’ मा रामेश्वर यादवको भूमिकाबाट उदाएका हुन् उनी। यतिबेला फिल्म ‘राज्जा रानी’को राज्जाका रुपमा चर्चित छन्। बाराका स्थायी बासिन्दा हुसेनलाई संयोगले फिल्ममा चर्चित बनाउने दुवै मधेसी पात्र छन्। तर, उनी यसमा खुसी छन्।
यसको कारण बताउँछन्, ‘मैले नेपाली फिल्म हेर्न थालेदेखि नै मधेसी पात्रलाई सधैं हेपेको मात्र पाएँ। सधैँ मधेसी पात्रलाई स–सानो भूमिकामा राखिन्थ्यो। कहिले चटपटे बनाउने त कहिले कपाल काट्नेको रोलमा देखाइन्थ्यो। मात्र कमेडीका लागि उनीहरूलाई प्रयोग गरिन्थ्यो।’
तर, यतिबेला उनी तराईकै पात्र भए पनि ‘हिरो’को भूमिकामा छन्।
कुनैदिन उनी सोच्थे– उनीहरू (मधेसी)को पनि जीवन हुन्छ। उनीहरूको पनि आफ्नै लवाइखुवाइ र रहनसहन हुन्छ।’ उनी अभिनय थालेदेखि नै मधेसको त्यो जीवनलाई सशक्त रूपमा निर्वाह गर्न चाहन्थे। फिल्ममा मधेसीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न चाहन्थे।
समयले त्यो अवसर उनलाई जुराइदिएको छ। ‘राज्जा रानी’को ट्रेलरबाटै उनको अभिनयको तारिफ भइरहेको छ। फिल्ममा उनको अपोजिटमा केकी अधिकारी छिन्।

यो अवस्थामा आइपुग्न बारा डुबरवानाका नाजिरले निकै कष्ट झेलेका छन्। कक्षा १० पास गरेपछि उनी एउटा डान्स वर्कसपमा सहभागी हुन काठमाडौं आएका थिए। सोही क्रममा उनी मण्डला नाटकघर पुगे। मण्डलामै थिए, उनले बारामै देखेका रंगकर्मी राजन खतिवडा। उनकै सहयोगमा उनले मण्डलामा प्रवेश पाए।
पहिलो पटक उनले ‘चरनदास चोर’ नामक नाटकमा सानो भूमिकामा मौका पाए।
‘नाटकमा अभिनय गर्न पाएकोमा म खुसी थिएँ भने अग्रज र साथीहरुले दिएको स्याबासीले मलाई हौस्यायो’, उनले स्मरण गरे।
नाजिरले सपना देखेका थिए, ‘एकदिन मेरो अभिनय देखाएर अम्मीलाई खुस बनाउँछु।’
तर, त्यो अवसर पाएनन्। अकस्मात् उनकी आमाको मृत्यु भयो। त्यसपछिका केही वर्ष उनलाई अभिनय यात्रा अघि बढाउन निकै गाह्रो भयो।
उनलाई अभिनयको चस्का पसिसकेको थियो। झन्डै–झन्डै यतातिरबाट टुट्न लागेको मन आफैंले जोडे। छिमेकीबाट ५ सय रुपैयाँ ऋण लिएर काठमाडौंको बस चढे।
‘४ सय २५ रुपैयाँ त गाडीभाडा नै लाग्थ्यो। जम्मा ७५ रुपैयाँले गुजारा चलाउनुपर्यो’, उनले भने, ‘काठमाडौं आएपछि अनेकथोक गरियो गुजारा चलाउन।’ उनले त्यो समय कति रात आधा पेट खाएर सुते त कति रात भोकै।
‘पेट भर्न के गरिनँ? बेहुलीको घुम्टो र बेहुलाको टोपीमा सितारा भर्ने काम समेत गरेँ’, उनी संघर्षका दिन सम्झिन्छन्।
अभिनय सिक्न उनी सामाखुसीबाट मण्डला थिएटर रहेको अनामनगर हिँडेरै ओहोरदोहोर गर्थे। काठमाडौंमा सहज हुन उनलाई लामो समय लाग्यो।
उनले भने, ‘काठमाडौं शून्य र विरानो लाग्थ्यो। कैयौं घन्टा आकाशेपुलमा बसेर ट्राफिक जाम र सडक हेर्थेँ। कहिले वसन्तपुर दरबारमा त्यहाँ बालिएका बत्ती, पेन्टिङ गर्नेहरु र ओहोरदोहोर गर्ने मान्छेहरु हेरेर रातै बिताउँथेँ।’
मातृवियोगले उनलाई झन् एक्ल्याएको थियो। उनीसँग आमाले सम्झनास्वरुप छाडेको नाकको फुली थियो।
भावुक हुँदै भन्छन्, ‘मेरा लागि आमाले नाकको फुली छाडेर जानुभएको थियो। त्यही हेर्थें, जुन आज मसँगै छ।’
उनका बुवा जादुगर हुन्। १०–११ वर्षको उमेरदेखि नै उनी बिदाको समयमा बुबासँगै हिँड्थे। बुबाको जादु देखाउने कार्यक्रम सुरु हुनुअघि उनी नाच्थे। तर, उनले जादु सिकेनन्।
उनले भने, ‘नजिकको तीर्थ हेला भन्छन्, हो रै’छ। आफ्नै बुबा जादुगर हुँदा पनि मैले जादु सिक्नमा त्यति रुचि देखाइनँ।’
तर, अहिले उनको अभिनयको जादु भने चलिरहेको छ।
उनी अभिनीत फिल्म ‘राज्जा रानी’ आउँदो शुक्रबारदेखि नेपाली र मैथिली भाषामा प्रदर्शन हुँदैछ। उनलाई लागेको छ, ‘यसले मलाई सफल अभिनेता र मधेसी पात्रलाई हिरोको रुपमा स्थापित गर्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।