लमजुङ– ठाडोभाकाका लागि प्रख्यात भेँडीखर्के साइँला (दीर्घराज अधिकारी)को निधन भएको छ । उनको सोमबार ५ बजे तिर निधन भएको परिवारले जनाएको छ । परेवाडाँडा घर भएका उनी केही बर्षदेखि सुन्दरबजारस्थित जेठी छोरीज्वाइँको घर पत्निसहित बस्दै आएका थिए । एक महिनादेखि बिरामी थिए उनी।
दमको समस्या थियो उनलाई। मुखमा खटिरा र ज्वरोका कारण केही दिनदेखि थलिएका थिए । उनलाई केही दिन भदौ २९ गते जन्मदिनका अवसरमा ठाडोभाका शिरोमणिको उपाधि दिने तयारी भएको बताइएको छ । तर, त्यसको तीनदिनअघि नै उनको निधन भयो ।
उनको निधनले ठाडोभाका र नेपाली लोकसंस्कृतिमा अपूरणीय क्षति पुगेको छ। ९ बर्षको उमेरदेखि गाउन थालेका उनले बिरामीले नथलिउन्जेल गाउन छाडेका थिएनन् ।उनको लमजुङको सिन्दुरेको तुर्लुङकोटमा १९९० साल भदौ २९ गते बुवा बलभद्र र आमा नन्दकुमारीको कोखबाट जन्म भएको हो । उनका बुवा भेँडीगोठमा बस्ने भएकाले स्थानीयले भेडीखर्के भन्थे । उनका साइँला छोरा भएकाले दीर्घराजलाई पनि स्थानीयले भेँडीखर्के साइँला नामले बोलाउन थालेपछि नामै भेँडीखर्के साइँला रह्यो। सुन्दा सुरिलो तर गाउन निकै अप्ठेरो हुने भएकाले जोसुकैले यो भाका टिप्न सक्दैनन् । उनको निधनसँगै यो भाका पनि लोप हुने चिन्ता लोकगीत प्रेमीहरुको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।