काठमाडौं– रंगकर्मी नानी थापाको एकल प्रस्तुति रहेको नाटक ‘जुनकिरी’ मंगलवारदेखि राष्ट्रिय नाचघर काठमाडौंमा मञ्चन हुने भएको छ । महिलाका विषयमा समाजमा रहेको विरोधाभाषपूर्ण विचारलाई नाटक मार्फत् पस्किएको छ । एकीकृत माझी नमूना बस्ति विकासका लागि श्वेताश्री फाउन्डेशनको सहयोगार्थ लोटस फोटोग्राफी स्कुलले नाटक प्रस्तुत गर्न लागेको हो ।
अभिनेत्री थापाकै लेखन र निर्देशन समेत रहेको नाटकको सोमवार विशेष शो आयोजना गरिएको थियो । उक्त शो आउने अधिकांसले नाटकले उठाएको विषय र अभिनेत्री थापाको अभियन कौशलको तारिफ गरेका थिए । रंगकर्मी विरेन्द्र हमाल, अभिनेत्री लक्ष्मी गिरीले उनको अभिनय कौशलको प्रशंसा गरेका थिए भने पहिलो न्यायधीश महिला शारदा श्रेष्ठले उनले उठाएको सामाजिक विषयमाथि खुलेर प्रशंसा गरेकी थिइन् ।
एउटी आँटिली केटी ‘जुनकिरी’ले समाजका सोच विरुद्ध गर्ने विद्रोहलाई नाटकमा उनिएको छ । गाउँकी केटी शहर पुगेर संघर्ष गर्ने क्रममा बन्ने पुगेकी हाइप्रोफाइल कल गर्लको कथा नाटकमा छ । यससँग जोडिने पात्रहरु र सँगै थापाले गर्ने अभियन विविधताले घरि भावुक र घरि रमाइलो अनुभूति गरेको दर्शकहरुले प्रतिक्रिया दिएका थिए ।
पात्र जुनकिरी र अकाशको जुन दुवै अन्धकारमा अस्तित्वमा रहेको कुरालाई विम्बका रुपमा प्रस्तुत गरिएको छ । यसअघि उनले ‘पुतली’, ‘बेचिएकी चेली’, ‘अ ब्युटिफुल’ र ‘बिद्रोह’ प्रस्तुत गरिसकेकी छिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।