वर्तमान सत्तारुढ दल लोकतन्त्रको बाहक नभएकाले सत्ताको हकदार हुनै सक्दैन। रगतको कणकणमा लोकतन्त्र छैन, मार्क्सवाद छ। सत्ता सञ्चालन जनवादी केन्द्रीयतावादमा आधारित छ। सत्तालाई उपयोगवाद बुझेको कम्युनिस्ट सरकारले अन्तत: जनवादी व्यवस्था लागू गर्ने हो। सत्ता र सरकारका बीचमा अन्तर हुन्छ। सरकारमा गएर पनि सत्ता कब्जा हुन सक्दैन कि भन्ने सत्तारुढलाई चिन्ता छ।
चिकित्सा क्षेत्र सुधारको माग गरी गोविन्द केसीले गरेको आन्दोलन र गुठी विधेयक नागरिकसँग प्रत्यक्ष जोडिएका मुद्दा थिए। यसमा जनताले बढी चासो देखाए। संसदमा आवाज उठेपछि संसदको मात्रै ती विषय रहेनन्। ५ वर्षको म्यान्डेट पाएर बनेको सरकारले लामो समयसम्म असर गर्ने गरी कानुन बनाउन मिल्छ कि मिल्दैन? आवधिक निर्वाचन हुने देशमा कतिपय कानुनले पचासौं वर्षको सभ्यता नष्ट हुने गरी बनाउन लागिएको छ।
विधेयक तयार गर्दैगर्दा कहीँ न कहीँ जनताको आवाज प्रत्यक्ष सुन्नुपर्छ। सरोकारवालाहरुसँग अन्तक्रिया, छलफल गर्नुपर्छ। सबै भनेकै म नै हुँ भनी सरकार सञ्चालित छ। १४औं शताब्दीको लुई चौधौंको सोचले लोकतन्त्र चल्दैन।
भ्रष्टचारीको कुनै पार्टी हुन सक्दैन। व्यक्ति भ्रष्टचारी भएर दललाई ठूलो क्षति नहोला। तर, पार्टी नै भ्रष्टाचारी भयो भने यो डरलाग्दो परिवेश हो। व्यक्ति भ्रष्टचारी भए कानुनको दायरामा ल्याउन सकिन्छ। पार्टी भ्रष्टाचारी भए के ले समात्ने? विगतमा कानुनले भ्रष्टाचारीलाई समात्न सक्ने परिस्थिति थियो। सबैभन्दा गम्भीर विषय आर्थिक अनुशासनहीनता हो। स्थायी संरचनाहरुको राजनीतिकरण यसअघि कहिले भएको थिएन।
उग्र भारतविरोधी र उग्र चीनविरोधी बनाई जनतालाई नै विभाजित गरिएको छ। नबोलेर गर्ने विषयमा अनावश्यक बोलिएको छ। अर्कोतिर बोल्नुपर्ने वैदेशिक मामिलामा बोल्न सकेको देखिन्न। कूटनीतिक शब्दावलीको प्रयोगमा परिपक्वता छैन। लक्ष्मणरेखा थाहा पनि छैन। नेकपालाई मत दिने/नदिने सबैका प्रधानमन्त्री केपी शर्मा ओली हुन्। संसदीय प्रणालीको प्रधानमन्त्रीमा सबैको हुँ भन्ने चेतना छैन। फरक विचार राख्ने सबैलाई यसरी ललकार्ने, दुत्कार्ने प्रधानमन्त्रीको नियत असल देखिन्न।
सत्ताको राजनीतिले कांग्रेसको धार नै बदलिएको छ। प्रतिपक्षीको रुपमा कांग्रेस भुत्तैभुत्तै हुँदै जान थालेको देखिन्छ। यतिबेला प्रतिपक्षीय भूमिकाको पनि समीक्षा गर्ने बेला आएको छ।
सर्वहारा पार्टीको नेतामा पुँजीमोह, विलासिता, शक्तिको भोक नसुहाउने विषय हुन्। सर्वहारा नेतामा राजा हुने मोह कसरी आउँछ? क्यानडाका प्रधानमन्त्री र हाम्रा प्रधानमन्त्रीको तुलना गरौं। बेलायतकी रानी र हाम्रो राष्ट्रप्रतिको जीवनशैली नियालौं। जनताप्रति समर्पित भएको देखिँदैन। भारतका पूर्वप्रधानमन्त्री लालबहादुर शास्त्रीको घर आज म्युजियम छ। तिनीहरुबाट सिक्नुपर्ने सर्वहारावादी प्रमले विलासी जिवन बिताउन नसुहाउने हो।
कागतीको बोट रोपेर सुन्तला फल्दैन। कम्युनिस्ट विचारधारा मूलत: मार्क्सवादमा आधारित हुन्छ। मार्क्सवाद आर्थिक सिद्धान्तमा केन्द्रित छ। राजनीतिक रुपमा भने उक्त शक्ति अधिनायकवादी हो। अधिनायकवाद सञ्चालन गर्ने प्रक्रिया लेनिनको जनवादी केन्द्रीयताको आधारमा हो। संसदीय व्यवस्थालाई केही समय उपभोग गरी सत्ता सञ्चालन पनि गर्छन्। कम्युनिस्टको पतनको बिज लेलिनवादभित्रै छ। असान्दर्भिक समयमा रोपिएको बिउ कम्युनिज्म हो। किनकि उनीहरुको बनेको शक्ति संगठनका लागि हो, कार्यान्वयनका लागि होइन।
पहिलो निर्वाचन जित्न सक्लान्। राज्य शक्तिको दोहन गरी दोस्रो जटक पनि निर्वाचनमा विजयी होलान्। तेस्रो चुनाव जित्न सक्दैनन्।
पार्टीभित्रको शक्ति संघर्ष, विपरीत लाइन स्पष्ट देखिएकै छ। कागतीमा दूध मिसाउँदा अन्तर्घुलन हुन सक्दैन। पूर्व एमाले र माओवादी दूधमा कागती मिसाए जस्तै हुन्। एउटै गिलासमा घुलाइएको हो तर अन्तर्घुलन हुन सकेको छैन। इतिहास पनि अन्तर्घुलित हुने अवस्थाको होइन, भविष्य त झन अँध्यारो छ। रसायन नै फरक छ।
जागरणले रक्तसञ्चार प्रवाह गरेन
नेपाली कांग्रेसको भर्खरै सकिएको जागरण अभियानमा जनताको जागरण हुन सकेन। यसलाई कार्यकर्ताको जागरणको पहिलो प्रयासका रुपमा बुझ्नुपर्छ। पार्टी पराजयपछि कार्यकर्तामा उत्पन्न निराशापन र संगठन अभावलाई पूर्ति गर्ने उद्देश्यले जागरण अभियान भएको थियो।
कार्यकर्ता जागृत नभई जनतामा जान सकिन्न। कारण किन भने नेताको सम्बन्ध कार्यकर्तासँग मात्रै सीमित छ। कार्यकर्ताको सम्बन्ध नेतासँग। शक्तिको लेनदेन नेता र कार्यकर्ताबीचमा हुन थालेपछि जनतासँगको सम्बन्ध टुट्दै गएको छ। जनतासँग जबसम्म पार्टी जोडिँदैन, तबसम्म पार्टीको जीवनरेखा देख्न सकिँदैन। दोस्रो चरणको जागरण अभियान जनतासँग जोडिने गरी होला। पहिलो चरण कार्यकर्ताको जागरण नै हो।
देशको विषम परिस्थितिको यस अवस्थामा कांग्रेसले आफूलाई सुधारेर सत्तालाई खबरदारी गर्नुपर्ने दायित्व पनि हो। खतराउन्मुख अवस्थाबाट बचाउनु पनि पर्यो। बचाएर मात्रै पनि पुग्दैन,आफूलाई पनि सुधार्नुपर्यो।
संघीय संरचना अनुसारको संगठन बन्न सकेको छैन। तथापि कार्यकर्तासँग भेट र कहिले कार्यक्रम नभएका स्थानमा पनि जागरण अभियानको माध्यमले नेतासँग कार्यकर्ता जोडिने माध्यमा भयो। तसर्थ केही नहुनुभन्दा एक महिनामा धेरै चिज भएको मान्नुपर्दछ। यो नै काफी भने होइन।
यसैबाट नेतृत्व सफल भयो, धेरै ठूलो काम देखियो भन्ने अवस्था छैन। जागरणको अभियानअघि नै संगठन बन्न सकेको भए अझ प्रभावकारी हुने थियो। कतिपय सन्दर्भमा जागरणलाई महाधिवेशन टार्नको लागि ल्याइएको बुझाइ पनि छ। कर्मकाण्डी रुपमा पनि अर्थ्याइएको छ। झारा टार्ने प्रवृत्ति देखियो। पार्टीले दिएको सर्कलुर उत्ताउलो भएको कतिपय जिल्लामा टिप्पणी पनि गरियो।
दोस्रो चरणको जागरण अभियानको औचित्य देखिँदैन। किनकि यो समय निर्वाचनको समय होइन। महाधिवेशन नै जागरण अभियानको रुपमा सञ्चालन हुन सक्ने थियो। गाउँगाउँमा क्रियाशील सदस्य, साधारण सदस्य वितरणको प्रक्रिया सुरु हुने थियो। त्यसकारण महाधिवेशनको प्रक्रिया सुरु गर्नु नै जागरण अभियान हो। स्थानीय तहमा कार्यक्रम हुन्छ, नेतृत्व चयनका लागि पार्टी तहमा निर्वाचन हुन्छ। एउटा स्थानीय तहमा ४/५ सय स्थानीय कार्यकर्ताले सक्रियता देखाँउछन्। आन्तरिक निर्वाचन हुन्छ। त्यो पार्टीको महाउत्सव हो। त्यो जतिकै शक्तिशाली जागरण अरु हुनै सक्दैन। त्यही महाउत्सवलाई महाधिवेशनसँग जोडेपछि त्यो नै बृहत् जागरण हुने थियो। राम्रा शब्दले कुत्सित मनशाय राखेर परिणाम गलत निकाल्ने गरी गरिएको जागरणले अर्थ राख्दैन।
महाधिवेशनलाई प्रभावित पार्ने गरी आएको जागरण अभियानले पार्टीलाई नै घातक हुन्छ। दोस्रो चरणको जागरण गर्दा फाइदा/बेफाइदाका बारेमा पार्टीमा बहस हुनुपर्यो नि। प्रतिक्रियामा आधारित कार्यक्रम हुनुहुँदैन। लक्ष्यमा आधारित हुनुपर्छ। जागरण अभियानले भन्दा महाधिवेशन प्रक्रियाले पार्टीमा नयाँ ऊर्जा दिनुको साथै विधानको पालना पनि हुने भएकाले त्यसतर्फ किन नजाने? महाधिवेसनमा जादै गर्दा जागरणकै एक अंशको प्रतिनिधित्व त्यसले पनि गर्दछ। सरल छोटोबाट उपलब्धितिर जानुपर्छ। व्यक्तिलाई फाइदा हुने गरी निर्णय हुनुहुँदैन। सर्त पार्टी नै केन्द्रविन्दु हुनुपर्छ। पार्टीलाई कमजोर बनाउने उपक्रमका रुपमा गतिविधि सञ्चालन गर्नुहुँदैन।
केन्द्रीय समितिभन्दा माथिल्लो तहको महासमितिले गरेका निर्णयलाई केन्द्रीय समितिले उल्टाइदिएपछि आम कार्यकर्तामा कस्तो नेतृत्व होला भन्ने परेको छ। नीतिगत बहस हुनै सकेन।
सोचे अनुसारको जागरण अभियान सफल नहुनुमा कहाँबाट कमजोरी भयो, पार्टीले समीक्षा गर्नुपर्छ। पार्टीमा पद्धति प्रक्रिया मात्रै सुधार गरेर नहुने भएको छ। कार्यकर्ता र आमजनताले पार्टीमा लगातार पुरानै अनुहार देख्न चाहेको छैन। हिजोको नेताबाट आम मानिसले भोलिको अपेक्षा राख्न सक्दैन। त्यस्ता नेता कामचलाउ हुन सक्छन्, भरोसा हुँदैन। नेताको भिजन, लगाव, कार्यकर्तामा कति रक्तसञ्चार गर्न सक्छ, त्यसले अर्थ राख्छ।
कांग्रेस थलामै
खुट्टा भाँचियो भने दुई महिना थला परिएला। दैनिक कार्यलाई निरन्तरता दिन केही समय नसकिएला। उपचार गरिएन भने समस्या अझै बल्झन सक्छ। तर, समयमा उपचार गरियो भने तन्दुरुस्ती हुन सकिन्छ। अहिले कांग्रेस थला परे पनि उपचार नगरिएको अवस्था हो। कांग्रेसलाई ठूलो रोग लागेको पनि होइन।
व्यक्तिलाई कांग्रेस मन नपर्न सक्छ। तर, लोकतन्त्र र स्वतन्त्रता मन पर्छ। सवाल अहिले कांग्रेसको भन्दा पनि लोकतन्त्र र मानवअधिकारको हो। कांग्रेस हारेर केही बिग्रँदैन। लोकतन्त्र हार्नु हुँदैन।
जनताले के अपेक्षा गरेको छ। र, त्यससँग जनताको के सम्बन्ध छ, नेताले पहिल्याउन सक्नुपर्छ। भाषणले होइन कि प्रणालीमा आएको रुपान्तरण मात्रै जनताले अनुभूत गर्न सक्छन्। जनताको मन र सपनाको वाणी जबसम्म पार्टीले बोल्दैन, तबसम्म जतिससुकै जागरण अभियान चलाए पनि महत्व राख्दैन। सर्वप्रथम त पार्टीकै एजेन्डा ‘क्लियर’ हुनैपर्छ।
देशको विषम परिस्थितिको यस अवस्थामा कांग्रेसले आफूलाई सुधारेर सत्तालाई खबरदारी गर्नुपर्ने दायित्व पनि हो। खतराउन्मुख अवस्थाबाट बचाउनु पनि पर्यो। बचाएर मात्रै पनि पुग्दैन,आफूलाई पनि सुधार्नुपर्यो। असक्षम कांग्रेस बिग्रेको कम्युनिस्टको विकल्प होइन।
कांग्रेसको एक पुस्ता ‘रिटाएरमेन्ट’को फेजमा छ। पार्टी सम्पूर्ण रुपमा उनीहरुकै हातमा छ,तर उनीहरुको अवस्था जीवनको उत्तरार्धमा छ। सक्रिय राजनीतिबाट बिदा लिनका लागि पहिलो पुस्ताका नेताले बुद्धिमतापूर्वक उत्तराधिकारीलाई जिम्मा दिएर छोड्नुपर्छ। पहिलो पुस्ताले नेतृत्व अबै हस्तान्तरण गर्नैपर्छ। लोकतन्त्रको अवसरको वितरण समान हुनुपर्छ। निरन्तर नेतृत्वमा रहँदा भूमिका स्वतः कमजोर हुँदै जान्छ। सक्रिय अवस्थामा रहेको क्रिकेट, फुटबल खेलाडीले संन्यास लिन्छ भने नेताले लिनुपर्दैन? प्रकृतिमा पनि त्यस्तो नियम लागू हुन्छ। ऊर्जाशील हुँदा गरेको कार्य र जीवनको उत्तरार्द्धमा गरिएको भूमिकाको प्रभावकारिताको अन्तर ठूलो हुन्छ। पुरानो पुस्ताका नेताको मर्यादित तरिकाले अभिभावकीय भूमिका हुनुपर्छ। कार्यकारिणी भूमिका नहुँदैमा नेता नहुने भन्ने हुँदैन। बदलिँदो परिस्थितिलाई हाँक्न सक्ने नेताको खाँचो छ। हरेकसँग भएको क्षमता व्यक्तिको पुँजी हो।
शक्ति कार्यकर्तामा दिए पार्टी बलियो हुने हो। यहाँ त नेता बलिया भए। सत्ता एकलौटी भए, जनता कमजोर हुन्छन्। नेता बलियो भए पार्टी कमजोर हुन्छ।
महासमितिले पनि कांग्रेसमा कुनै जादु ल्याउन सकेन। महासमितिले पारित गरेका विषयलाई केन्द्रीय समितिले उल्टाइदियो। केन्द्रीय सदस्य तलैबाट महाधिवेशन प्रतिनिधि चुनिने र आरक्षणको व्यवस्था एक व्यक्तिमा एकपटक मात्रै लागू हुनुपर्ने प्रावधान लागू हुन सकेन। दुरगामी सोचका आधारमा बहस हुन सकेन। संगठनदेखि रणनीतिसम्म माइक्रो लेबलमा बहस हुन सकेन।
केन्द्रीय समितिभन्दा माथिल्लो तहको महासमितिले गरेका निर्णयलाई केन्द्रीय समितिले उल्टाइदिएपछि आम कार्यकर्तामा कस्तो नेतृत्व होला भन्ने परेको छ। नीतिगत बहस हुनै सकेन। न छलफल भयो, न महासमितिले दिएको वैधता कार्यान्वयन भयो। नेताहरुमा के परेको छ भने हामीले दिएको अनुदानमा व्यक्ति बनेका हुन् भन्ने छ। केन्द्रीय सदस्य बनेका, टिकट पाएका, सांसद भएका सबै हाम्रै अनुदानबाट भएका हुन् भन्ने माथिल्लो नेतृत्वको बुझाइ छ। यो सोच लोकतन्त्रको लागि घातक हो। शक्ति कार्यकर्तामा दिए पार्टी बलियो हुने हो। यहाँ त नेता बलिया भए। सत्ता एकलौटी भए, जनता कमजोर हुन्छन्। नेता बलियो भए पार्टी कमजोर हुन्छ।
पार्टी जीवनका लागि आवश्यक बहस नै हुन सकेन। विधान संसोधन समिति जिल्ला जिल्लामा राय लिनका लागि पठाइयो । जिल्लाबाट आएका प्रस्ताव थन्क्याइयो। विधानले कार्यकर्ताको सामाजिक र राजनीतिक मनोविज्ञान निर्धारण गर्न सहयोग पुर्याएको हुन्छ।
कांग्रेसको राजनीति गरेको कार्यकर्तालाई भ्यालुबेसको आधारमा भविष्य सुनिश्चित भएको आशा त जगाउनुपर्छ। न्याय समानता र पहुँच पुग्ने गरी क्रियाशिल बनाउनुपर्छ। एकथरी छन्, क्षमता छैन तर अवसर पाएको पायै छन्। अर्को थरीको क्षमता छैन, अवसरको भारी छ।
उग्रता प्रदर्शन नगरी प्रतिपक्षीय भूमिका निर्वाह हुन्न भन्ने एक प्रकारको मनोवैज्ञानिक छ। जनआवाजलाई संसदमा मुखरित प्रतिपक्षले गर्दा लाखौं नागरिक सडकमा आउनुलाई प्रतिपक्षीय भूमिका सशक्त भएको मानिन्छ। सकारात्मक हस्तक्षेप गर्ने विपक्षीको दायित्व हो। सत्ताको राजनीतिले कांग्रेस भुत्तेभुत्ते हुँदै जान थालेको देखिन्छ। जनता भएर सोच्ने र कार्यकर्ता भएर बुझ्ने हुनुपर्छ। यतिबेला प्रतिपक्षीय भूमिकाको पनि समीक्षा गर्ने बेला आएको छ।
(राजनीति शास्त्रका प्राध्यापक चालिसेले शिक्षण पेसाबाट बिदा लिइसकेका छन्। तत्कालीन पर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीसँग कास्कीमा पराजित कांग्रेसका बौद्धिक नेता चालिसेसँग लिलु डुम्रेले गरेको कुराकानीमा आधारित।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।