वीरगञ्ज- स्थानीय तह निर्वाचन ऐन, २०७३ मा प्रमुख र उपप्रमुखमध्ये एउटा पदमा महिला उम्मेदवार बनाउनैपर्ने कानुनी व्यवस्था छ । तर, राजनीतिक दलहरुले महिलालाई उपप्रमुखमा मात्र उम्मेदवार बनाएका छन्।
यसप्रति उम्मेदवार बनेका नेतृहरुले नै तीव्र असन्तुष्टि प्रकट गरेका छन्।
वीरगञ्ज महानगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसबाट शान्ति कार्की उम्मेदवार बनेकी छिन् भने नेकपा (एमाले) बाट सोफिया आचार्य, नेकपा (माओवादी केन्द्र) बाट दुर्गा क्षेत्रीले उम्मेदवारी दिएका छन्।
यस्तै, संघीय समाजवादी फोरमबाट पिंकीदेवी यादव, राजपाबाट रम्भा यादव र मधेसी जनाअधिकार फोरम लोकतान्त्रिकबाट रिंकु देवी उपप्रमुख पदका लागि चुनावी मैदानमा छन्।
उनीहरु सबैले आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । यी नेतृहरुलाई उक्त पदमा रहेर नेतृत्व गर्ने राजनीतिक अवसर भने त्यसै आएको होइन।
स्थानीय तह निर्वाचन ऐनमा महिला सहभागिता सम्बन्धमा प्रत्येक वडामा एक दलित महिलासहित दुई जना, गाउँपालिकामा अध्यक्ष वा उपाध्यक्षमध्ये एक जना पदाधिकारी, वडामा निर्वाचितमध्येबाटगाउँसभाले निर्वाचित गर्ने चार जना सदस्य, नगरपालिकामा प्रमुख वा उपप्रमुखमध्ये एक जना पदाधिकारी, वडामा निर्वाचितमध्येबाट नगरसभाले निर्वाचित गर्ने पाँच जना सदस्य र जिल्ला समन्वय समितिमा तीन जना महिला सदस्य पद आरक्षण गरिएका छन्।
यी आरक्षित पदबाहेक पनि महिलाले उम्मेदवारी दिन सक्छन्।
उल्लिखित व्यवस्था हेर्दा हरेक वडामा पाँच पदमा दुई महिला हुनैपर्ने कारणले ४० प्रतिशतसम्म महिला कोटा आरक्षण गरिएको देखिन्छ । यसका साथै उम्मेदवार हुँदा जम्मा गर्नुपर्ने धरौटी रकममा महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्नलाई ५० प्रतिशत छुटको व्यवस्था पनि छ।
यसरी समावेशीका आधारमा महत्वपूर्ण मानिएका स्थानीय तहको निर्वाचन प्रक्रियामा कूल सदस्यको ४० प्रतिशत महिला हुनु अनिवार्य व्यवस्था गरेका कारण उनीहरुको राजनीतिक अवसर बढेको हो । तर, प्रमुख दलका साथै अन्य दलहरुले महिलालाई प्रमुख पदमा उठाउने गरेका छैनन्।
प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा प्रमुख पदका लागि प्रायः कुनै पनि दलले महिलालाई उम्मेदवार बनाएका छैनन्।
लामो समयदेखि राजनीतिक क्षेत्रमा योगदान पुर्यानएका सक्षम महिलाहरु भए पनि पुरुषलाई मात्र प्रमुख पदमा पुर्यााउने उद्देश्यले महिलालाई उपप्रमुखमा सीमित गरिएको आरोप महिला नेतृहरुको छ।
महिलालाई प्रमुख पदको जिम्मेवारी नदिने दलहरुको योजनाप्रति प्रायः सबै दलका महिला असन्तुष्ट छन्।
३५ प्रमुखमा महिलाको उपस्थिति शून्य
पर्साका १४ वटा स्थानीय तहका ५ सय ८८ पदका लागि तीन हजार ६ सय २७ जनाले उम्मेदवारी दिएका छन् । जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिकामा १ सय २८ वटा वडा छन्।
वीरगञ्ज महानगरपालिकामा १ सय ६२ पदका लागि एक हजार १ सय ४८ जना प्रतिस्पर्धामा उत्रेका छन् । तीमध्ये प्रमुखमा ३५ र उपप्रमुखमा ११ जनाले उम्मेदवारी दिएका छन् । प्रमुख पदमा कुनै पनि महिलाले उम्मेदवारी दिएका छैनन् । प्रायः सबै दलका महिला नेतृ उपप्रमुख पदका लागि नै चुनावी मैदानमा उत्रेका छन्।
'उम्मेदवारी दिएकामध्ये अधिकांश महिलालाई उपप्रमुख पदमा उठाइएको छ । फलस्वरुप उक्त पदका लागि महिला महिलालाई नै प्रतिस्पर्धी बनाइएको छ । यसले स्थानीय तहमा महिलाको सार्थक सहभागिता गराउन दल गम्भीर नभएको पुष्टि हुन्छ', संघीय समाजवादी फोरमबाट उपप्रमुख पदका उम्मेदवार पिंकीदेवी यादव भन्छिन् ।
महिलाको सहभागिता केही साना दलमा शुभसंकेतका रूपमा देखिए पनि त्यसको खासै अर्थ नरहेको उनी बताउँछिन्।
नेपाली राजनीतिलाई अस्थिरताको भूमरीबाट निकाल्न महिलामैत्री राजनीति अपरिहार्य रहेको एमालेबाट उपप्रमुखका उम्मेदवार सोफिया आचार्यको बुझाइ छ।
माओवादी केन्द्रबाट उपप्रमुखका उम्मेदवार दुर्गा क्षेत्रीले भनिन्, 'महिलाको राजनीतिक र आर्थिक अधिकारका साथै सामाजिक सुरक्षाको अधिकारलाई प्रवर्द्धन गर्न बढीभन्दा बढी महिलालाई चुनावमा जिताउनुपर्छ।'
एजेण्डा: तराईमा महिलाको सशक्तिकरण
चुनावमा उपप्रमुखको उम्मेदवार रहेका महिलाहरुले महिलाकै उत्थानलाई आफ्नो प्रमुख एजेण्डा बनाएका छन्।
राजपाबाट उपप्रमुखका उम्मेदवार रम्भा मिश्राले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले पनि अत्यन्त महत्व राखेको यो निर्वाचनमा हरेक वर्ग, पेशा, जाति र क्षेत्रको समानुपातिक सहभागिता हुनैपर्ने बताउँछिन् । उनी भन्छिन्, 'मेरो प्राथमिकता राज्यका हरेक निकायमा न्यून पहुँच भएका विशेषगरी तराईका महिलाको सशक्तीकरण गर्नु नै हो।'
फोरम लोकतान्त्रिकबाट उपप्रमुख पदका उम्मेदवार रिंकुदेवीको अठोट पनि यस्तै छ । दलहरूमा अझै महिलालाई आलंकारिक उपस्थिति गराउने चलन रहेकोमा असन्तोष पोख्दै उनी भन्छिन्, 'मैले चुनाव जितेमा महिलाको अधिकार सुनिश्चित गर्ने अभियानमा लाग्नेछु।' रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।