काठमाडौं- असार ७ गते शनिबार छोराको स्कुल बिदा थियो। छोरालाई स्कुल पुर्याउन नपर्ने भएपछि ढुक्कले अबेरसम्म सुतिन् निर्मला पाख्रिन।
अबेर उठेर खाना बनाउँदा ११ बजिसकेको थियो।
खाना खाएर नुहाइधुवाई सक्दा साढे एक बज्यो। छोरालाई खेल्न दिएर खाटमा पल्टिरहेको केही समयपछि निर्मलाको मोबाइलको घण्टी बज्यो।
उनी मोबाइल हेर्छिन्। मोबाइलमा सेभ नगरिएको नयाँ नम्बरबाट फोन आइरहहे थियो।
निर्मलाले फोनमा रिसिभ बटन दबाइन्।
‘निरु आराम छौ, छोराको खबर के छ?’ फोनबाट यति आवाज आएपछि उनलाई त्यो आवाज सजिलै ठम्याइन्।
फोन कतारबाट रुपचन्द्र रुम्बाले गरेका थिए ।
रुपचन्द्र रुम्बा निर्मलाका पति हुन्।
झन्डै एकहप्ता हुन लागेको थियो रुपचन्द्र र निर्मलाको फोन संवाद हुन नसकेको।
एक हप्तासम्म हुन नसकेको संवाद एक घन्टासम्म चलिरह्यो निरन्तर।
तर अहँ सकिएन संवाद।
कहाँ समेटिन्छ एक घन्टामा परदेशको पीडा र परदेशी श्रीमानको वियोगमा छटपटिरहेकी श्रीमतिको सिङ्गो कथा!
‘जति बोलेपनि कुरा सकिँदैन निरु, मेरो मोबाइल बिग्रेको छ, मैले साथीको मोबाइल एकछिनलाई मागेर फोन गरेको, तलब आएपछि नयाँ मोबाइल किन्छु अनि फोन गर्छु, आजलाई छुटौँ ल,’ रुपचन्द्रको त्यो अन्तिम संवाद अझै ताजै छ, निर्मला सम्झिन्छिन् र भक्कानिन्छिन्।
नयाँ मोबाइलबाट रुपचन्द्रको फोन कहिले आउला?
‘हुन्छ’ रुपचन्द्रलाई निर्मलाले यतिमात्रै जवाफ फर्काइन्। फोन काटियो।
रुपचन्द्रले नयाँ मोबाइल किनेपछि फेरि लामो फोन संवाद गरेर सुखदुःख साट्ने सपना समेटेर निर्मलाले मोबाइल थन्क्याउँछिन्।
उता रुपचन्द्र पनि त तलबको पर्खाइमा हुँदा हुन् नि! कहिले तलब आउँछ र आफ्नै नयाँ मोबाइल किनेर श्रीमती र छोरासँग कुरा गर्छु भनेर।
समय कसैको वशमा छैन, यो त निरन्तर चलिरहन्छ।
शनिबार बितेर आइतबार आयो, हिजोकै नम्बरबाट फोन आउँछ, रुपचन्द्रको फोन आयो भनेर निर्मला ढुक्क हुन्छिन्।
फोन रिसिभ गर्छिन्, भाउजु म..... (एकछिन रोकिएर) रुपचन्द्र दाजुसँगै कोठमा बस्ने। ‘तपाईँ कहाँ हुनुहुन्छ?’ प्रश्न गर्छन्।
निर्मलाले घरमै भएको बताएपछि फेरि फोनमा आवाज आउँछ हिजो सद्दे सुत्नु भएको रुपचन्द्र दाजु उठ्नुभएन।
'निर्मलाका हातखुट्टा काप्न थाल्छन्, के भयो उहाँलाई........?'
निर्मला निकै अताल्लिएको आवाजमा प्रश्न गर्छिन्।
‘हिजो हामी सँगै सुत्यौँ, उहाँ अबेरसम्म नउठेपछि बोलायौं तर कहिल्यै नब्युझिँने गरी निदाउनु भएछ,’ फोनमा आवाज सुनेर अचेत अवस्थामा ढल्छिन् निर्मला।
‘कस्तो खबर सुन्नु पर्यो दैवले खुसी चुढेर लग्यो,’ निर्मला दुखेसो पोख्छिन्।
‘हिजो मात्रै नयाँ मोबाइल किनेर फोन गर्ने सुनाउँनु भएको, अब कसरी फोन गर्नुहुन्छ?’ एक्लै गुनगुनाउँछिन् निर्मला।
प्रेमले जमाएको जोडी
२०४८ सालमा मकवानपुर वसमाडिमा जन्मिएका रुपचन्द्र रुम्बा र २०४७ सालमा जन्मिएकी निर्मला पाख्रिन ८ वर्ष अगाडी प्रेम सम्बन्धमा थिए।
२०६८ सालमा प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा बदलेपछि रुपचन्द्र र निर्मलाको जोडी बन्यो।
‘हामीले भागेर बिहे गरेको,’ निर्मला विगत सम्झिन्छिन्।
बिहेपछि १ वर्षसम्म मकवानपुर नै बसे उनीहरु। सोही समयमा निर्मला र रुपचन्द्रबाट एक छोरा पनि भए।
छोरा जन्मिएसँगै आफूमा जिम्मेवारी थपिएको महसुस गरे रुपचन्द्रले।
उनीहरु काठमाडौं आए। ज्यामी काम गरेर केही समय गुजारा टारे।
ज्यामी काम छाडेर परदेश
एक वर्षको छोरो लिएर काठमाडौं छिरेका उनीहरु थानकोटमा डेरा गरेर बस्न थाले।
कामका लागि काठमाडौंमा धेरै भौतारिए रुपचन्द्र। निर्मला भने छोराको रेखदेख गर्नुपर्ने भएकाले केही पनि काम गर्दिन थिइन्।
केही काम नपाएपछि रुपचन्द्रले ज्यामी काम गर्न थाले। ज्यामी काम गरेर बिहान बेलुका खानै ठिक्क हुन्थ्यो।
‘काठमाडौका ठाउँमा एक्लैले ज्यामी काम गरेर म र छोरालाई समेत पाल्नु पर्ने भयो, ज्यामी काम पनि ठेकेदार नचिनेको हुँदा, काम गर्दा गर्दै ठेकेदार भागेपछि पैसा नपाउने, सधै काम नपाउने धेरै समस्या हुन थाल्यो त्यसपछि ऋण लिएर साउदी जानु भयो,’ निर्मला सुनाउँछिन्।
साउदीपछि कतार
साहुबाट २ लाख ५० हजार ऋण लिएर साउदी पुगेका रुपचन्द्रको काम भनेको जस्तो भएन।
क्लिनर काम भनेर लेभरमा निर्माण सम्बन्धी काम गर्नुपर्ने भयो। कमाई पनि राम्रो थिएन।
खाने बस्ने सबै खर्च आफैँले बेहोर्नुपर्दा उनलाई निकै मुस्किल भयो।
दुई वर्ष करार अवधि मुस्किलले कटाएर आएका रुपचन्द्रले मुस्किलले साहुको ऋण चाहिँ तिरे।
साउदी रोजगारी सोचेजस्तो नभएपछि कतार हानिएका रुपचन्द्र कतारको मास्के कम्पनीमा कार्यरत थिए ।
रुपचन्द्र कतार पुगेको १० महिना भएको थियो।
कमाई ठिकै थियो।
‘पुगेपछि दुई पटक मात्र पैसा पठाउनु भएको थियो, साहुको ऋण तिर्नै बाँकी छ’ निर्मला दुखेसो गर्छिन्।
निर्मला र ७ वर्षका छोरा रुपचन्द्रको कमाईकै भरमा छन्।
शव हेरेर चित्त बुझाउनु पर्ने बाध्यता
रुपचन्द्रको शव हेरेरै चित्त बुझाउनुपर्ने बाध्यता निर्मलामाथि थुप्रिएको छ।
‘अब बचाउन सकिँदैन, शव कहिले आइपुग्छ भनेर कुर्नुपर्ने बाध्यता भयो, के गर्नु ?’यतिभन्दै गर्दा निर्मलाका आँखा भरिन्छन्।
अर्को तिर फर्किएर टोलाई रहिन् निर्मला।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।