राजविराज– जनता माविको हीरक जयन्ति समारोहमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी गत शनिबार सप्तरी आइपुगेकी थिइन्। कार्यक्रममा सहभागी भएकी राष्ट्रपति भण्डारीले बाढीलगायतका प्राकृतिक प्रकोप नियन्त्रणका लागि पूर्व तयारीमा रहन सम्बन्धित निकायलाई आग्रह गरिन्।
चुरे श्रृखंलाको अनियन्त्रित दोहनका कारण बाढीको प्रकोप बढेकाले त्यसलाई रोक्न पनि उनको आग्रह थियो। सप्तरीमा चुरे क्षेत्र हुँदै बग्ने खाँडो, महुली, जिता, त्रियुगा, बलान, अमाहा, सुन्दरीलगायतका खोलामा आउने बाढीकै कारण हरेक वर्ष धनजनको ठूलो क्षति हुने गरेको छ।
यस वर्ष पनि वर्षा सुरु भइसकेकाले अनिष्ट हुने हो कि भन्ने चिन्तामा रहेका सप्तरीबासीका लागि राष्ट्रपतिको सम्बोधनले घाउमा मलम लगाएको अनुभुति त भयो। तर खोला नियन्त्रणको काम भने वर्षौं बितिसक्दा पनि पूरा हुन सकेको छैन।
२०७३ सालको बाढीमा गाउँ नै विस्थापित भएको घटना सप्तरीवासीको मनमा ताजा छ। बाढीका कारण सप्तरीमा मात्रै ५ जनाले ज्यान गुमाएका थिए भने करोडौं रुपैयाँको क्षति भयो। यी खोलामा बाढीको प्रवाह रोक्ने गरी दुवै किनारमा मजबुत तटबन्ध आवश्यक भएपनि काम भने नभएको स्थानीयको गुनासो छ।
खाँडोको त्रास कायमै, खतरामा तिलाठी
सप्तरीको सप्तकोशी, कञ्चनरूप, हनुमाननगर कंकालिनी, राजविराज नगरपालिकाका साथै अग्निसाईर कृष्णासवरण, महेदवा, तिरहुत, रुपनी गाउँपालिकाका दर्जनौं गाउँबस्ती जोखिममा छन्। त्यसमध्येमा पनि तिलाठी कोइलाडी गाउँपालिकामा यसवर्ष बढी जोखिम छ।
खाडो खोलाको बाढीका कारण यस क्षेत्रका जनता बर्सेनी डुबानको समस्या झेल्दै आएका छन्। ०७३ को बाढीमा तिलाठी कोइलाडि गाउँपालिका-४ मा एक बालकको ज्यान गएको थियो भने ३ हजार ९ सय ९७ वटा घर बाढीले क्षति गरेको थियो। १४ करोड ६४ लाखभन्दा बढीको सम्पत्ति क्षति भएको आँकलन गरिएको थियो।
यति हुँदा पनि खाँडो नियन्त्रणको प्रयास भने अहिले पनि प्रभावकारी हुन सकेको छैन। पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण भारतीय सीमा कुनौलीसम्मको ५० किलोमिटरमध्ये कुनौलीतर्फबाट ०७३/०७४ मा सुरु गरिएको माटो भर्ने काममा पहिलो वर्ष नै स्थानीयले अवरोध गरे।
सकरपुरा, तिलाठी र लौनियाँ क्षेत्रका स्थानीयबासीले २०२७/२८ को सर्भे नापीनक्साका आधारमा बाँध बनाउनुपर्ने भन्दै अवरोध गरेपछि काम अघि बढ्न सकेन। २०२७/२८ को सर्भे नापीको नक्साअनुसार यो नदी अहिलेको बहाव क्षेत्रभन्दा पूर्वबाट बग्ने गरेको थियो। डिपिआर अनुसार अहिलेकै बहाव क्षेत्र भएर बाँध बन्नुपर्नेछ।
पटक–पटकको छलफलबाट पनि सहमति जुट्न नसकेपछि योजना अन्तर्गतको केही काम गत वर्ष अन्यत्र सारेर सम्पन्न गरिएको आयोजना कार्यालयले जनाएको छ। यस वर्ष अन्य क्षेत्रमा बाढीको जोखिम कम छ, तर कामै गर्न नपाएकाले तिलाठी क्षेत्र बढी जोखिममा रहेको खाँडो नदी नियन्त्रण आयोजनाका प्रमुख विष्णुदेव यादव बताउँछन्।
माथिल्लो क्षेत्रमा बाँधको काम भएकाले बाढी सोझिएर तिलाठी थप डुबानमा पर्न सक्ने उनको अनुमान छ। तिलाठी हुँदै खाँडो भारत प्रवेश गर्छ।
‘बाढी आए पनि अरु ठाउँमा पहिलाको जस्तो खोलो नै पस्ने अवस्था छैन,’ आयोजना प्रमुख यादव भन्छन, ‘तर माथिल्लो क्षेत्रमा बाँधको काम भएकाले खोलो सोझिएर तिलाठी पुग्दा अवस्था के हुन्छ, अहिले नै भन्न सकिँदैन।’ स्थानीयवासीले सहयोग गरे अहिले पनि काम अघि बढ्ने उनले बताए।
के गर्दैछन् स्थानीय सरकार?
हरेक वर्षको बाढीको समस्याका कारण यस वर्ष स्थानीय तह केही सजग देखिएका छन्। नदी नियन्त्रणका लागि खासै ठूलो काम गर्न नसकेपछि सजगता भने बेलैदेखि सुरु भएको सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले बताए।
सप्तरीका ९ नगरपालिकासहित १८ वटा स्थानीय तहमध्ये अग्निसाईर कृष्णासवरण गाउँपालिकाले विपद व्यवस्थापन ऐन, निर्देशिका र मापदण्ड समेत तयार गरेको छ।
पालिका तहमा स्थानीय विपद व्यवस्थापन समिति गठन गरिएको र एकसाता भित्रै वडा तहमा पनि समिति गठन गरिसक्ने गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले बताए। आपत्कालीन अवस्थाका लागि ५ लाख रुपैयाँको विपद् व्यवस्थापन कोष समेत तयार गरिएको छ।
यसैगरी, भत्किएका बाँध नियन्त्रणका लागि २ सय ५० थान जाली र ५ सय जिओआई ब्याग (वोरा) तयारी अवस्थामा राखिएको चौधरीले जानकारी दिए।
यसका अतिरिक्त विगतका वर्षमा बाढीले भत्काएका विभिन्न स्थानमा वाँध निर्माण गरिएको छ। वडा नं. १ स्थित हेडबाँधमा सिंचाई कार्यालयको सहयोगमा ७ सय मिटर तथा गाउँपालिकाकै बजेटबाट प्रसवनीमा ८ सय मिटर, मटिगढामा १ सय मिटर, मटिगढिमा १ सय मिटर, इटहर्वामा १ सय मिटर र हर्ना खोलामा १ करोडको लागतमा गत वर्ष नै १ किलोमिटर बाँध निर्माण गरिएको अध्यक्ष चौधरीले जानकारी दिए।
‘बाँध निर्माण गरेपनि ढुक्क भएर वस्ने अवस्था चाहि छैन’ उनले भने,‘तार जाली हाल्ने पैसा अभावमा अधिकांश माटोको वाँध छ, बाढी ठूलो आयो भने भत्किने खतरा पनि छ।’
०७३ सालमा आमसोत, गहिरी, बिहाई, मगर्नी र महुली खोलामा आएको बाढीले गाउँपालिकाअन्तर्गतका मटिगढी, प्रसवनी, सितापुर, मटिगढा, इक्राहा मोहनपुरका करिब ३ सय परिवारलाई विस्थापित बनाएको थियो। अहिले पनि प्रसवनीको चमराही टोलका २० परिवार आफनो पुरानो बासस्थल फर्किन नसकेको उनले बताए। उनीहरु ऐलानी जग्गामा वसेको उनको भनाई छ।
हरेक स्थानीय तहमा ५ देखि ५० लाखसम्मको कोष
जिल्ला विपद व्यवस्थापन समितिका संयोजकसमेत रहेका सिडिओ पौडेलले बाढी पूर्वका तयारी सप्तरीमा भइरहेको बताए। हरेक गाउँ/नगरपालिकामा स्थानीय विपद् व्यवस्थापन समिति गठन गरी प्रत्येकले कोष स्थापना गरेको पौडेललेका भनाई छ। ‘न्यूनतम ५ लाखदेखि ५० लाखसम्मको विपद ब्यवस्थापन कोष छ,’ उनले भने,‘समिति पनि सक्रिय अवस्थामा छन्, समस्या आए हाल अन्य तयारी पनि चुस्त छ।’
यसैगरी, जिल्ला विपद व्यवस्थापन समितिले सम्बन्धित क्षेत्रसँग समन्वय गर्ने र आवश्यक औजार उपकरण तयारी राख्ने काम गरेको छ। निर्माण व्यवसायीसँग हेभी इक्युपमेन्ट तथा विभिन्न गैरसरकारीसँग राहत र उद्धारका लागि समन्वय/सहकार्य भईरहेको उनले बताए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीलाई तैनाथ राखिएको र आवश्यकता पर्दा जुनसुकै अवस्थामा जनधनको सुरक्षामा खटिने गरी निर्देशन समेत भएको पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।