काठमाडौं– प्राविधिक कारणले ढिलाई भएको ‘राष्ट्रिय चलचित्र अवार्ड’ असोजको पहिलो साता दशैं अगाडि नै प्रदान गरिने भएको छ।
नेपाल चलचित्र विकास बोर्डले प्रत्येक वर्ष असार १६ गते संस्थाको वार्षिकोत्सवको अवसरमा प्रदान गर्दै आएको सो अवार्ड यसपटक बोर्डका पदाधिकारी रिक्त भएका कारण समयमै हुन नसकेको हो।
प्रत्येक वर्ष वैशाख १ गतेदेखि चैत मसान्तसम्म निर्माण भएका नेपाली चलचित्र मूल्यांकन गरी वर्षभरको उत्कृष्ट चलचित्र, नायक,नायिका, निर्माता, छायांकन, गीत, लाइभटाइम अवार्डलगायतका विधामा पुरस्कार प्रदान गरिन्छ।
पुरस्कार छनोट समितिको सिफारिसका आधारमा राष्ट्रपतिबाट प्रदान गरिँदै आएको प्रत्येक पुरस्कारका राशि रु एक लाख रहेको छ । सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा बोर्डले यस किसिमको कार्यक्रम गर्दै आएको हो।
बोर्डको पदाधिकारी छनोटका लागि दरखास्त आह्वान गरिएको अन्तिम म्याद यही भदौ २५ गते सकिएकाले पदाधिकारी छनोटका लागि गृहकार्य भइरहेको छ।
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले समाज रुपान्तरणका लागि चलचित्र क्षेत्र सशक्त माध्यम भएको बताउँदै उक्त कार्यक्रम दशैँ अगाडि गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले केही दिनमैै सही उम्मेदवार छनौट गरी नियुक्ति दिने जानकारी दिए।
चलचित्र सेन्सर बोर्डका सदस्य प्रकाश सुवेदीले संस्कृति र कलाको विकासबाटै मुलुकको सभ्यताको पहिचान हुने भएकाले यस्ता राष्ट्रियस्तरका अवार्डलाई समयमै निरन्तरता दिनुपर्नेमा जोड दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।