काठमाडौं- उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले राजनीतिलाई सही आकार दिने विषयमा विज्ञहरुबीच राष्ट्रिय बहस हुनुपर्ने बताएका छन्।
सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६२औं वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले साहित्यले पनि राजनीतिलाई सघाउनुपर्ने बताएका हुन्।
राजनीति समाज परिवर्तनको अस्थिपञ्जरमा रहेको र मांसपेसी साहित्य क्षेत्र भएकाले यी दुबैको संयोजन हुनुपर्ने बताएका थिए।
'सही राजनीतिको स्केलेटनमा आवश्यकता अनुसार विज्ञताको मांसपेशी भरेर सम्मृद्धिको सुन्दर तस्बिर बनाउनु जरुरी छ। यो काममा राजनीति क्षेत्रका विज्ञता राख्नुहुने प्राज्ञ व्यक्तित्वहरु सबैले एकताबद्ध भएर यो अभियानमा लाग्नु जरुरी छ,' उनले भने।
कार्यक्रममा प्रतिष्ठानमा २५ वर्ष कार्यरत कर्मचारीहरुलाई २५ हजार नगद रुपैयाँसहित सम्मान गरिएको थियो।
कार्यक्रममा उनले जीवन र मृत्यु शीर्षकमा लेखिएको आफ्नै कवितासमेत वाचन गरेर सुनाएका थिए।
प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता प्रतियोगितामा ३ सयभन्दा बढी कविबाट छानिएका ३१ कविले कविता वाचन गरेर सुनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।