काठमाडौं– एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगितामा नेपाललाई शानदार विजय दिलाउन उत्कृष्ट बलिङ गरेका सन्दीप लामिछाने उत्कृष्ट बलिङको कीर्तिमान बराबरी गर्न १ विकेटले चुकेका छन्।थाइल्यान्डलाई २ सय ५५ रनले पराजित गरेको खेलमा उनले ७ विकेट लिएका थिए।
एसीसी युथ क्रिकेट टुर्नामेन्टमा उत्कृष्ट बलिङको कीर्तिमान अफगानिस्तानका अफताब आलमको नाममा छ। अलामले सन् २०११ मा ओमानविरुद्ध १० ओभरमा १२ रन खर्चेर ८ विकेट लिएका थिए। यसपछि नेपालकै राहुल विश्वकर्माको नाममा थियो। उनले सन् २०११ मा थाइल्यान्डविरुद्ध नै ६ दशमलव ५ ओभरमा १५ रन खर्चेर ८ विकेट लिएका थिए। नेपालका अर्का बलर अविनाश कर्णले पनि युथ क्रिकेटमा ८ विकेट लिएका छन्। उनले २०१३ मा बहराइनविरुद्ध ८ ओभरमा २४ रन खर्चेर ८ विकेट लिएका थिए।
सन्दीपले सोमबारको खेलमा ४ ओभर बलिङ गर्दै १ मेडन राखेर ६ रन मात्र खर्चिंदै ७ विकेट लिएका हुन्। उनले चौथो, छैटौं र दशौं ओभरमा २–२ विकेट लिए। आठौं ओभरमा पनि एक विकेट हात पारे।
नेपालले पहिलो ब्याटिङ गर्ने क्रममा ७ विकेटको क्षतिमा २ सय ८२ रन बनाएको थियो। प्रत्युत्तरम थाइल्यान्ड २६ रनको झिनो स्कोरमा अलआउट भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।