काठमाडौं- नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले डिजिटल नो अब्जेक्सन लेटर (एनओसी)को व्यवस्था गर्न माग गरेको छ। शिक्षामन्त्री गरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउँदै इक्यानले यस्तो माग गरेको हो।
शैक्षिक परामर्श क्षेत्रमा देखिएका समस्या समाधान गर्न नीतिगत सुधारको आवश्यकता रहेको भन्दै इक्यानले मन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाएको हो।
नवनिर्वाचित अध्यक्ष प्रकाश पाण्डेको नेतृत्वमा मन्त्रालयमा भएको भेटमा इक्यानले वर्तमान शिक्षा नीतिमा देखिएका समस्या सुधार गर्न र यस क्षेत्रलाई व्यवस्थित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो।
'हामी यो क्षेत्र स्पष्ट नीतिगत तथा कानूनी दायराभित्र रहोस् र व्यवस्थित तथा नियमित रुपमा विश्व शिक्षा प्रणालीमा नेपाली विद्यार्थीहरुको पनि पहुँच सुनिश्चित बनोस् भन्ने मान्यता राख्दछौं,' ज्ञापन पत्रमा भनिएको छ, 'यो क्षेत्रलाई व्यवस्थित गर्दै परामर्शका नाममा अनियमित कार्यबाट नेपाली विद्यार्थी तथा अभिभावकलाई बचाउँदै यस क्षेत्रबाट आर्जन हुन सक्ने राजश्वसमेत पारदर्शी रुपमा राज्यकोषमा जम्मा हुने वातावरण सिर्जना गर्न अनुरोध गर्दछौं।’
नयाँ कार्यसमितिलाई बधाइ दिँदै मन्त्री पोखरेलले इक्यानका मागलाई आफूले सकारात्मक रुपमा लिएको बताए।
शिक्षा मन्त्रालयबाट १ हजार ४ सय ७३ वटा कन्सलटेन्सीले अनुमति पाएको र १ हजारभन्दा बढी कम्पनी र संस्थाले परामर्शदाताको नाममा औपचारिक रुपमा वैदेशिक शिक्षासम्बन्धी परामर्श दिँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।