काठमाडौं- सन् २०१९ मा भारतीय सवारी बजार अनपेक्षित रुपमा ओरालो लाग्यो। जसका कारण अटो उद्योगहरुले केही दिन 'होली डे' सम्म मनाउनुपर्ने अवस्था आयो। २०१९ सकिनै लाग्दा उद्योगीहरुले आगामी वर्ष यो वर्षलाई बिर्साउने गरी उदाउने अपेक्षा गरेका छन्।
भारतीय अर्थतन्त्रमा देखिएको मन्दी तथा सवारीको प्रदूषण मापदण्ड बिएस ५ बाट बिएस ६ मा पुर्याउनुपर्ने भएकाले पनि अटो उद्योग ओरालो लागेको हो। सवारी उपभोक्ता २०२० अप्रिलदेखि बिएस ६ लागू हुने भएकाले सवारी किन्न कुरेर बसेको सवारी कम्पनीको अनुमान छ।
भारतको दुई तथा चारपांग्रे र ठूला ट्रक सेगमेन्ट २०१९/२० सकिँदा समग्रमा १३ देखि १७ प्रतिशतसम्म गिरावट आउने अनुमान गरिएको छ। यो गत वर्षको तथ्यांकसंग गरिएको तुलना हो। अटो बजार ओरालो लाग्दा कम्पनीहरुले केही दिन प्लान्ट बन्द मात्र गरेनन्, डिलरसिप, अम्पोनेन्ट सबै गरेर २०१९ मा भारतीय अटो उद्योगमा कार्यरत ३ लाख ५० हजारभन्दा बढीले रोजगारी गुमाएको पिटिआइले तयार पारेको रिपोर्टमा उल्लेख छ।
यो अवस्थाका बाबजुत सबै अपेक्षाहरु नगुमेको सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (एसआइएएम)ले जनाएको छ। २०१९ मा गुमेको कुरा २०२० मा पूरा हुने विश्वास एसआइएएमको छ। ‘२०२० बिएस ६ लागु हुने वर्ष भएकाले महत्वपूर्ण हुनेछ,’ एसआइएएमका प्रमुख राजन वाढेराले भने, ‘नयाँ सवारी बजारमा आउने हुदाँ अटो उद्योगले गति लिनेमा विश्वस्त छौं।’ तर, प्रविधिमा आएको परिवर्तनसँगै सवारीसाधनको मूल्य ८ देखि १० प्रतिशतसम्म बढ्ने देखिन्छ। यसले बिक्री संख्या बढ्नेमा भने आशंका व्यक्त गरिएको छ। यसका लागि एसआइएएमले सवारीमा लाग्दै आएको २८ प्रतिशत जिएसटीलाई १८ प्रतिशतमा सीमित गर्न सरकारलाई आग्रह गरेको छ।
वाढेराको भनाइमा सहमत छन् मारुती सुजुकी इन्डियाका एमडी तथा सिइओ किनिची आयुकवा। २०२० प्रति मारुती सुजुकी र समग्र उद्योग नै आशावादी रहेको आयुवकाले बताए। हुन्डाई मोटर इन्डियाका एमडी तथा सिइओ एसएस किम पनि आगामी वर्षले अटो क्षेत्रलाई आशा दिनेमा विश्वस्त छन्। ‘बिएस ६ को नयाँ व्यवस्था बारे उपभोक्तालाई बुझ्न केही समय लाग्ने अनुमान गरेका छौं,’ किमले भने, ‘अर्को वर्षको दोस्रो त्रैमासदेखि सवारी बजार क्रमिक रुपमा सुधार हुनेछ।’
यता, होन्डा कार इन्डियाका प्रमुख तथा सिइओ गाकु नाकानिशीको भने केही फरक मत रहेको छ। उनले २०१९ मा भएको क्षति २०२० मा पूरा होला भन्ने नलागेको बताएका छन्। ‘२०१९ मा अटो क्षेत्र गिरावटको तल्लो बिन्दुमा पुगेको छ,’ उनले भने, ‘आगामी वर्ष त्यो पूर्ति हुने सम्भावना त छैन तर उद्योगमा सुधार भने पक्कै आउने छ।’
बिएस ५ बाट बिएस ६ मा जाने सरकारी निर्णयले पनि अटो क्षेत्रलाई केही प्रभावित पारेको उद्योगीहरुको भनाइ छ। २०२० को अप्रिल १ पछि भारतमा बिएस ५ का सवारी दर्ता हुने छैनन्। त्यसैले सबै खाले सवारी पूर्ण रुपमा बिएस ६ युक्त बनाइसक्नु पर्ने बाध्यतामा उद्योगहरु छन्।
टाटा मोटर्सका सिइओ तथा एमडी गुन्टर बुट्स्चेकले पनि बिएस ६ का कारण अटो उद्योगलाई केही अप्ठेरो परेको बताए। टाटा मोटर्सले आफ्ना सबै प्लान्टबाट २०२० को जनवरीदेखि बिएस ६ का सवारी उत्पादन योग्य बनाएको उल्लेख गरे। उनले २०२० मार्च ३१ पछि टाटा मोटर्ससँग बिएस ५ का सवारी स्टकमा नहुने दाबी समेत गरे।
भारतीय बजारमा २०२० मा आउने नयाँ मोडलले पनि अटो उद्योगको अवस्था देखाउने छ। २०२० को फेब्रुअरी ५ देखि १२ सम्म अटो एक्सपो हुँदैछ। अटो एक्सपो २०२० मा नयाँ नयाँ सवारी सार्वजनिक हुने भएकाले पनि आशा जगाएको एसआइएएमका अध्यक्ष वाढेराले बताए। एक्सपोमा बिएस ६ का अलावा इलेक्ट्रिक, हाइब्रिड तथा कनेक्टेड सवारी समेत सार्वजनिक छन्।
अटो एक्सपोमा ६० वटाभन्दा धेरै नयाँ सवारी सार्वजनिक हुनेछन्। अटो एक्सपोको यो संस्करणमा चीनको ग्रेटवाल मोटर कम्पनी र फस्र्ट अटोमोटिभ वर्कसले एमजी मोटर्स इन्डियाका नाममा पहिलो पटक सार्वजनिक हुँदैछ।
नेपाली बजारमा पनि सवारी बिक्रीमा उल्लेख्य गिरावट आएको व्यवसायीहरुले बताएका छन्। सवारीसाधनमा लगाइएको अत्यधिक कर, सवारी कर्जामा गरिएको थप कडाइका कारण नेपालको सवारी बजार कजोर बनेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ।
गत मंगलबार नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई ऋणीको आयस्रोतबाट भुक्तानी हुने किस्ता रकममा कडाई गर्याे। उक्त निर्देशन अनुसार ऋणीले तिर्ने किस्ता रकम उसको कुल आम्दानीको ५० प्रतिशतभन्दा बढी हुन नपाउने व्यवस्था छ। मैद्रिक नीतिमा भएको व्यवस्था कार्यान्यन भएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकको नयाँ व्यवस्थाले आगामी वर्ष नेपालको अटो क्षेत्र थप संकुचित हुने व्यवसायीहरुको गुनासो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।