काठमाडौं- धितोपत्र दलाल सदस्य (ब्रोकर) कम्पनीहरुले आफ्नो वार्षिक मुनाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा योगदान गर्नुपर्ने भएको छ।
‘मुद्रा तथा पुँजी बजारमा देखिएका प्रवृतिहरुको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि श्रोत व्यवस्थापन सम्बन्धी सुझाव समिति’को प्रतिवेदनले सामाजिक उत्तरदायित्व कोषका लागि ब्रोकर कम्पनीहरुले निश्चित प्रतिशत योगदान गर्ने व्यवस्था तत्काल मिलाउन धितोपत्र बोर्डले पहल गर्नुपर्ने उल्लेख गरेको थियो।
गतवर्ष पुषमा अर्थ मन्त्रालयले विस्तृत अध्ययन गरी तयार पारेको उक्त प्रतिवेदनले दिएको सुझाव कार्यान्वयन गर्नका लागि समितिसमेत गठन गरिएको बोर्डले जनाएको छ।
अर्थ मन्त्रालयले तत्काल काम शुरु गर्न भन्दै बोर्डलाई निर्देशन दिएको भएपनि बोर्डले पनि अहिले आएर मात्र काम सुरु गर्न थालेको जनाएको छ।
मुनाफा रकमको निश्चित प्रतिशत सामाजिक उत्तरदायित्व कोषका विषयमा विस्तृत अध्ययन गरि सुझाव पेश गर्न बोर्डका नीति, अनुसन्धान तथा योजना महाशाखा हेर्ने उप-कार्यकारी निर्देशकको संयोजकत्वमा ४ सदस्यीय समितिसमेत गठन गरिएको हो।
सो समितिले दिएको सुझावका आधारमा कार्यविधि बनाउने बोर्डले जनाएको छ।
सोही समितिले नै ब्रोकर कम्पनीहरुले लिँदै आएको सेवाशुल्क निर्धारणका लागि पनि बोर्डलाई सुझाव दिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।