काठमाडौं- काठमाडौंका गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शंकरापुर नगरपालिकाभित्र पर्ने २६ हजार रोपनी जग्गामा नयाँ संरचना निर्माणका लागि रोक्का राखिने भएको छ।
काठमाडौं पूर्व सहरी विकास आयोजनाले तीनवटा नगरपालिकाका ७ वटा वडामा दुई वर्षसम्म नयाँ संरचना बनाउन नदिने गरी जग्गा रोक्का राख्न लागेको हो। नमुना शहर निर्माणका लागि दुई वर्षसम्म नयाँ संरचना बनाउन रोक्ने तयारी गरिएको गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले जानकारी दिए।
'जग्गा कित्ताकाट र नामसारी रोकिँदैन, व्यवस्थित आवास विकासको अवधारणा अघि सारिएकाले नयाँ संरचना बनाउन मात्रै रोक्का गर्न लागिएको हो,' मेयर चालिसेले भने। यस्तै पारिवारिक अंशबण्डा पनि यसबाट रोकिने छैन।
अशंबण्डा गरे पनि त्यहाँ नयाँ घर भने बनाउन नसकिने चालिसेले बताए। गोकर्णेश्वर नगरपालिकाको वडा नं १, २ र ४, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १, २, ३ र ४ तथा शंकरापुर नगरपालिकाको वडा नं ९ मा पर्ने ती जग्गामा नयाँ संरचना बनाउन रोकिने भएको हो।
ती क्षेत्रमा नयाँ संरचना निर्माण रोक्ने विषयमा आयोजनाले प्रभावित क्षेत्रका बासिन्दासँग तीनदिन छलफल गरेको छ। 'हामीले रोक्का राख्ने जग्गाको पहिचान गरेर सम्बन्धित जग्गा धनीसँग अन्तर्क्रिया गरेका थियौँ,' चालिसेले भने, 'अब सबै जग्गाको कागजात तयार गरेर रोक्काको निर्णय गर्छाैं।'
काठमाडौं उपत्यका विकास प्राधिकरण र एकीकृत बागमती सभ्यता विकास कार्यक्रमसँगको सहकार्यमा आयोजनाले काम अघि बढाएको छ। चालिसेले दिएको जानकारीअनुसार २६ हजार रोपनीमध्ये २४ हजार रोपनी खाली जग्गा पर्छ। बाँकी २ हजार रोपनीमा बस्ती बसिसकेको छ।
त्यही बस्तीलाई सुधार गरेर अघि बढ्ने तयारी रहेको उनले जानकारी दिएका छन्। काठमाडौंका ती तीनवटा नगरपालिकाले एकीकृत रूपमा स्मार्ट सिटी बनाउन यो योजना अघि बढाएका हुन्। यसको संयोजक कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापालाई बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।