नयाँदिल्ली- भारतको राजधानी नयाँ दिल्लीस्थित एउटा चिडियाखानाको सबैभन्दा बृद्ध चिम्पान्जीको जन्मोत्सव मनाइएको छ।
रिता नामको चिम्पान्जी यही डिसेम्बर १५ देखि ५८ वर्ष लागेको र ऊ नै सबैभन्दा बृद्ध भएको चिडियाखानाले जनाएको छ।
उक्त चिम्पान्जीलाई जन्मोत्सव समारोहमा केक, फलफूल र मह खुवाइएको थियो।
जन्मोत्सव मनाउनका लागि विद्यालयका बालबालिकालाई पनि बोलाइएको चिडियाखानाका निर्देशक रेनु सिंहले बताए।
यो चिडियाखानामा यसरी जनावरको जन्मोत्सव मनाइएको पहिलो पटक भने होइन। यही वर्षको जुलाईमा विजय नामक सेतो बाघको दशौं जन्मोत्सव मनाइएको थियो।
रिता नामक चिम्पान्जी सन् १९६४ मा नेदरल्यान्डमा जन्मिएको हो। उसलाई ४ वर्षको उमेरमा भारत ल्याइएको थियो। चिम्पान्जीको औसत आयु ४० वर्ष मानिन्छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।