काठमाडौं- उडान सुरक्षा कमजोरी सुधार्न नसक्दा नेपाल वायुसेवा निगमको कोरिया उडान अन्योलमा परेको छ।
_x000D__x000D_
निगमले दुई वटा वाइडबडी विमान खरिद प्रक्रियादेखि नै कोरिया सिधा उडान गर्ने बताउँदै आएको थियो। निगमले कोरियासँगै साउदी अरब र जापानमा समेत सिधा उडान गर्ने बताउँदै आएको भएपनि सफल हुन भने सकेको छैन।
_x000D__x000D_
निगमले खरिद गरेको पहिलो वाइडबडी ‘अन्नपूर्ण’ असार १४ गते र दोस्रो वाइडबडी ‘मकालु’ साउन १४ गते काठमाडौं आइपुगेको थियो।
_x000D__x000D_
निगमका दुई वटै वाइडबडी विमानले अहिले पुरानै गन्तव्य दिल्ली, बैङ्लोर, दोहा, हङकङ तथा मलेसिया उडान गर्दै आएको छ। वाइडबडी विमानले व्यवसायिक उडान सुरु गरेको तीन महिना भइसको छ। तर, निगमका वाइडबडी जहाजले कोरिया उडान गर्न पाउने छाँटकाँट भने देखिएको छैन।
_x000D__x000D_
निगमले केही दिनअघि मात्रै सार्वजनिक गरेको स्वेतपत्रमा समेत वाइडबडी विमान मार्फत नयाँ गन्तव्यमा उडान गर्न अझै ४ महिनाभन्दा बढी समय लाग्ने उल्लेख गरिसकेको छ।
_x000D__x000D_
कोरिया उडानका लागि निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले नै कोरियाली उड्डयन प्राधिकरणसँग पहल गरिरहेको थिए।
_x000D__x000D_
कंसाकार महाप्रबन्धक नै रहेको बेला गत भदौ दोस्रो साता कोरियन नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सको ‘उडान सुरक्षा अडिट’का लागि भन्दै परराष्ट्र मन्त्रालय मार्फत पत्राचार गरेको थियो।
_x000D__x000D_
पत्रमा कोरियाली उड्डयन प्राधिकरणले निगमको ‘उडान सुरक्षा अडिट’का लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमसँग समन्वयन गरी सहयोग गरिदिन आग्रह गरेको थियो।
_x000D__x000D_
परराष्ट्र मन्त्रालयले कोरियन नागरिक उड्डयन प्राधिकरणको पत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको थियो। उड्डयन मन्त्रालयले पनि सोही पत्र प्राधिकरणलाई बोधार्थ राख्दै निगममा पठाएको थियो।
_x000D__x000D_
मन्त्रालयको पत्र पाउनासाथ निगमले कोरियन उड्डयन प्राधिकरणलाई नेपाल एयरलाइन्सको उडान सुरक्षा अडिट प्रक्रियामा सहयोग गरिदिन भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएको थियो।
_x000D__x000D_
अहिले जुनसुकै देशले आफ्नो देशमा उडान गर्न चाहने एयरलाइन्स कम्पनीको उडान सुरक्षा अडिट गर्ने अन्तर्राष्ट्रिय चलन छ। त्यसमा पनि जुन देशको एयरलाइन्स कम्पनीको उडान सुरक्षा अडिट गर्ने हो, त्यही देशको नियामक निकायसँग सम्झौता हुनपर्छ।
_x000D__x000D_
सोही आधारमा निगमले कोरियाली नागरिक उड्डयन प्राधिकरणलाई अडिटमा सहयोग गरिदिन भन्दै प्राधिकरणमा पत्राचार गरेको थियो। प्राधिकरणले पत्र पाउनासाथ निगमको उडान सुरक्षामा कमजोरी रहेको देखाउँदै सुधार गर्न पत्राचार गरेको थियो।
_x000D__x000D_
यसका साथै प्राधिकरणले निगमलाई पठाएको पत्रमा भनेको थियो, ‘नेपाल एयरलाइन्सको उडान सुरक्षा अवस्था हेर्दा तत्कालकै अवस्थामा कोरियन उड्डयन प्राधिकरणलाई ‘उडान सुरक्षा अडिट’ गर्न सहयोग गरिहाल्न सक्ने अवस्था नरहेको उल्लेख थियो।’
_x000D__x000D_
साथै पत्रमा प्राधिकरणले निगमको उडान सुरक्षामा रहेको कमजोरी औल्याउँदै सुधार गरेर आउन भनेको थियो। निगमको बिग्रँदो उडान सुरक्षा अवस्थामा प्राधिकरण समेत सन्तुष्ट हुन सकेको छैन। स्रोतले भन्यो, 'यस्तो अवस्थामा विदेशी निकायलाई अनुमति दिँदा देशकै हवाई सुरक्षाका विषयमा नकारात्मक सन्देश जाने भन्दै सुधार गर्न भनेको थियौं।'
_x000D__x000D_
प्राधिकरणले कमजोरी सबै विवरण खुलाएर असोजको पहिलो साता नै निगमलाई पत्राचार गरेको थियो। तर, अहिलेसम्म पनि निगम सम्पर्कमा नआएको प्राधिकरण स्रोत बताउँछ।
_x000D__x000D_
जुन दिनसम्म नेपाल एयरलाइन्सले सुरक्षाको विषयमा आफ्नो कमजोरी सुधार गरेर आउँदैन, त्यो दिनसम्म कोरियन उड्डयन प्राधिकरणलाई नेपाल एयरलाइन्सको उडान सुरक्षा अडिट गर्न आउन दिने गरी सभ्झौता नहुने प्राधिकरणको भनाइ छ।
_x000D__x000D_
सरकारले भदौ ३१ गते नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्षका रूपमा मदन खरेललाई नियुक्त गरेसँगै कोरिया उडानका लागि गर्नुपर्ने सबै प्रक्रिया अन्योलमा परेको निगम स्रोत बताउँछ।
_x000D__x000D_
‘वाइडबडी विमानलाई लामो दुरी उडान गर्ने प्रक्रिया थालनी गर्नुको सट्टा खरेल कर्मचारीको आन्तरिक सरुवा बढुवामा लागेका छन्’, स्रोतले भन्यो, ‘कसैको पनि कुरा नसुन्ने खरेलको प्रवृतिका कारण नयाँ गन्तव्यको उडान प्रक्रियामा अन्योल छाएको हो।’
_x000D__x000D_
यस विषयमा नेपाल एयरलाइन्सका प्रवक्ता अशोक सिग्देलले प्रक्रियागत छलफलमा रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।