पाँचौ पटक जोडिने प्रयासमा पूर्व पञ्चको पार्टी राप्रपा, के फेरि सँगै बस्लान् राणा र थापा?

Nepal Live

काठमाडौं– २०४७ सालमा पञ्चायतको अन्त्य भएपछि पञ्चायती व्यवस्थामा शक्तिमा रहेकाहरुले अलग्गै पार्टी गठन गरे। जसको नाम थियो– राष्ट्रिय प्रजातन्त्र पार्टी।

सूर्यबहादुर थापा, पशुपति शमशेर राणा, लोकेन्द्रबहादुर चन्द लगायत पञ्चायतकालका अधिकांश शक्तिशाली नेताहरु सो पार्टीमा समाहित भएका थिए।

मंगलबार पशुपति शमशेर राणा निवासमा कमल थापाले निर्णायक वार्ता गरेसँगै यो पार्टी पाचौँ पटक विभाजनबाट एकतातिर गएको संकेत देखिएको छ।

२७ वर्षको इतिहासमा पूर्वपञ्चहरुको पार्टी पाँच पटक विभाजित भएको छ भने, चार पटक यसअघि जोडिएको छ।

यसरी पार्टी फोड्ने र जोड्नेका खेलाडी थिए पञ्चायतकालमा प्रधानमन्त्री भइसकेका नेताहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दका साथै पञ्चायतका मन्त्रीहरू प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर जबरा, कमल थापा, बुद्धिमान तामाङ, पद्मसुन्दर लावती, रवीन्द्रनाथ शर्मा, राजेश्वर देवकोटा लगायत। यीमध्ये केही नेता अहिले पनि सक्रिय राजनीतिमा छन्।

सुर्यबहादुर थापा, रविन्द्रनाथ शर्मा, राजेश्वर देवकोटा र पद्मसुन्दर लावतीको निधन भइसकेको छ। राणा र थापा तथा अर्का नेता कमल थापा अलग पार्टीको अध्यक्षको रुपमा रहेका छन्। संविधान जारी भएपछिको निर्वाचन अघि उनीहरु तीन भागमा विभाजन भएका हुन्।

पार्टी गठन देखि नै विभाजन

२०४७ जेठ १५ पहिलो फुट
पञ्चायत समाप्त भएर प्रजातन्त्र आएपछि उनीहरु राजनीतिमा सक्रिय हुनै पर्ने निश्चित गरे। पार्टीको नाम, विधान र झन्डा तयार गरे। यति गरेपछि पार्टीको नेतृत्व कसले गर्ने भन्ने विवाद सुरु भयो। तत्कालीन समयमा सुर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दका बीचचमा विवाद भयो। नेतृत्वको यही विवादका कारण पार्टी एक भएसँगै दुई पनि भयो।

२०४७ जेठ १५ गते, राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टीको घोषणा भयो।  बहुदल स्थापनापछि भएको पहिलो चुनावमा यी दुवै पार्टीले भाग लिए।

चुनावमा दुबै पार्टीले लज्जाजनक हार व्यहोर्न बाध्य भयो। देशभरका २ सय ५ निर्वाचन क्षेत्रमा चन्द पक्षले तीन र थापा पक्षले एक सिटमात्रै जित्यो।

राप्रपा ९चन्द० बाट पशुपति शमशेर राणा (सिन्धुपाल्चोक), प्रकाशचन्द्र लोहनी (नुवाकोट) र रामकृष्ण आचार्य (रसुवा) निर्वाचित भएका थिए। दार्चुलाका अकबरबहादुर सिंह राप्रपा (थापा)बाट जित्ने एक्लो सांसद बने। थापा आफैं पनि धनकुटावाट विजयी हुन नसकेपछि उनी लाजले चन्द पक्षसँग निहुरिन बाध्य भए।

यसबाट पाठ सिक्दै उनीहरु एकताको प्रयासमा लागे। केही महिनाको प्रयासपछि उनीहरू पार्टी गठन गर्न सहमत भए। पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राख्ने निर्णय भयो।

चुनाव चिन्ह हलो राख्दै नेतृत्व प्रजातन्त्रिक प्रक्रिया अनुसार प्रत्येक पाँच वर्षमा परिर्वतन गर्ने कुरामा उनीहरु सहमत भए।

२०४८ माघमा एकीकृत पार्टी बन्यो। त्यसको अध्यक्ष सूर्यबहादुर थापा बने। थापा अध्यक्ष भए पनि चन्द र थापा गुट भने कायमै रह्यो।

तेस्रो पार्टी हुँदा सत्ताको स्वाद, दोस्रो विभाजन

२०५१ सालमा नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका कारण तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद भंग गर्दै मध्यावधि चुनाव गराए। यो एकताले राप्रपालाई संसदीय राजनीतिमा केही शक्तिशाली बन्ने अवसर प्रदान गर्यो।

देशभर १९ सिट जित्दै राप्रपा सत्ताको साँचो बोकेको पार्टी बन्यो। चुनावको प्रतिफलअनुरुप राप्रपा तेस्रो शक्तिको रुपमा उदाउनुका साथै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को स्पष्ट बहुमत नआउँदा सत्ताको साँचो बन्न पुगेको हो।

मध्यावधि चुनावमा कुनै पार्टीले बहुमत नल्याएपछि एमालेले मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन गर्यो। यो सरकार नौ महिना मात्रै चल्यो। अधिकारीलाई हटाएर कांग्रेस नेता शेरबहादुर देउवा सत्ताको नेतृत्वमा आए। उक्त खेलको एक खेलाडी राप्रपा थियो। त्यसको नेतृत्व गरेका थिए सुर्यबहादुर थापाले।

थापाको प्रयासपछि देउवा प्रधानमन्त्री बने। देउवा प्रधानमन्त्री हुदाँ थापाले आफूखुसी मन्त्री सिफारिस गरेको भन्दै पार्टीभित्र लोकेन्द्रबहादुर चन्द विरोधी भएर निस्किए।

केही महिनापछि देउवा सरकार ढाल्न एमाले नेताहरु सक्रिय भए। राप्रपाको त्यही असन्तुष्ट चन्द पक्षले एमालेलाई साथ दियो। लोकेन्द्रबहादुर चन्दले आफू प्रधानमन्त्री बन्न पाउने आश्वासन पाएसँगै एमालेलाई साथ दिए। २०५४ सालमा राप्रपा–एमालेको गठबन्धनबाट चन्द प्रधानमन्त्री बने।

आफैंले नेतृत्व गरेको सरकार आफ्नै साथीका कारण ढलेपछि थापा चन्दसँग उग्र भए। तत्कालीन समयमा थापाले चन्दलाई ‘राजनीतिक नैतिकता नभएको अवसरीवादी’ भन्दै पार्टीको बैठकमै झपारेका थिए।

चन्द र थापाको विवादले राप्रपाभित्र असन्तुष्टिको खाडल बढ्दै गयो। चन्दको कदमले अध्यक्ष थापा बदलाको भावना लिँदै अघि बढे। उनी आफ्नै साथी चन्द नेतृत्वको सरकार ढालेर कांग्रेसको सहयोगमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णयमा पुगे। पार्टी गठन भएको एक वर्षभित्र आफ्नै पार्टी नेतृत्वको सरकार गिराउँदै राप्रपाले अर्को सरकार गठन गर्यो।

यो मतभेदले थापा प्रधानमन्त्री बनेपछि पार्टीले विभाजनको रूप लियो।

सत्ताको जोडघटाउमा सुरू भएको राप्रपाभित्रको मनमुटावका कारण सूर्यबहादुर थापा प्रधानमन्त्री भएकै बेला पार्टी विभाजन भयो।

एकता भएको ६ वर्षपछि पार्टीमा दोस्रो पटक विभाजन भएर एकतापूर्वकै अवस्थामा पुग्यो। २०५३ सालमा राप्रपा चन्द र राप्रपा थापाको रुपमा पार्टी विभाजन भयो।

२०४८ सालमा जस्तै यो फुट उसका लागि फलदायी भएन। २०५६ को आम निर्वाचनमा दुवै राप्रपाको नराम्रो हार भयो। थापा पक्षले ११ सिट जितेर चित्त बुझायो भने राप्रपा (चन्द) ले एक सिट पनि जित्न सकेन। पहिलो निर्वाचनमा चन्द पक्ष बलियो र थापा पक्ष कमजोर भएको थियो। तर, ६ वर्षपछि त्यो उल्टो भयो।

यो हारपछि पुनः एकीकरणको दबाव सिर्जना भयो। उनीहरु तयारीमा जुटे। पहिलो एकीकरणको नौ वर्षपछि र विभाजनको तीन वर्षपछि २०५७ सालमा पार्टी एकीकण भयो।
तेस्रो विभाजन ज्ञानेन्द्रको शासन 

दोस्रो पटक हारका कारण एक भएको यो पार्टीका नेताहरुले सच्चिने चेत देखाएनन्। एकीकरण भएको दुई वर्षमा उनीहरु भित्र फाटो आयो। यसको एकमात्र कारण पूर्व राजा ज्ञानेन्द्र शाहको आफैं सत्ता चलाउने चाहाना थियो।

जब राजाको हैसियतमा ज्ञानेन्द्रले निर्वाचित सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई २०५९ असोज १८ मा बर्खास्त गरे, यो घटनासँगै राप्रपामा पुनः फुटको बिजारोपण भयो।

सूर्यबहादुर थापा राजा ज्ञानेन्द्रको हस्तक्षेपको विपक्षमा थिए। तर, राजाको प्रस्ताव स्वीकार गर्दै लोकेन्द्र बहादुर चन्द प्रधामन्त्री बनेपछि विभाजनले अंकुराउने मौका पायो।

दोस्रो विभाजनमा चन्द छोडेर थापा क्याम्पमा आएका कमल थापाले यतिबेला भने सूर्यबहादुरलाई छोडेर राजालाई साथ दिए।

कमल थापाले राजालाई साथ मात्रै दिएनन्, पार्टी पनि विभाजन गरे। २०६२ पुसमा छुट्टै भेला बोलाएर ‘राप्रपा नेपाल’ गठन गरे अनि आफू अध्यक्ष भएको घोषणा गरे। राजालाई साथ दिन राप्रपाको तेस्रो फुटको नेतृत्व गरेका थापाले राजाको प्रत्यक्ष शासनकालमा गृहमन्त्रीको जिम्मेवारी पाए।

चौथो फुटपछि राप्रपा तीन चीरामा

यसरी दुई वटा भएको राप्रपामा थापा र उनीसँगै रहेका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी तत्कालीन अध्यक्ष पशुपति शमशेर राणासँग अलग भए। राणालाई अध्यक्ष स्वीकार गर्न नसकेपछि उनी आफैं ‘राष्ट्रिय जनशक्ति पार्टी’ नामको नयाँ पार्टी गठन गर्दै राप्रपा चौथो पटक फुटाए।

यसरी पार्टी स्थापनाको एक दशकमा पूर्वपञ्चहरू राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय जनशक्ति पार्टी गरी तीन पार्टीका स्वरुपमा रहन गए।

२०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा यी तीनै पार्टीले भाग लिए।

यो निर्वाचनमा उनीहरु कमजोर बने। अध्यक्ष पशुपति शमशेर आफैं पराजित भए। उनी २५ वर्षपछि पहिलो पटक पराजित भएका थिए।

संविधानसभा निर्वाचनमा हार व्यहोरेसँगै पूर्वपञ्चहरूले एकताको तेस्रो प्रयास सुरु गरे। ०७० साल जेठमा यी दुई पार्टीहरूबीच एकता भयो। राणा र सूर्यबहादुर थापा एकै ठाउँमा आइपुगे। नयाँ पार्टीको नाम राप्रपा नै राखियो। यद्यपि थापा जिवित रहुन्जेल नेतृत्वका लागि विवाद भने चलिरह्यो।

२०७२ बैसाखमा थापाको निधन भयो। त्यसपछि लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाले आलोपालो गरी पार्टी हाँक्ने सहमति गरे।

यसबीचमा उनीहरुले कमल थापालाई ल्याउने प्रयास गरे तर उनी राजा सहितको राजनीतिक व्यवस्थाको पक्षमा रहे भने राणाहरु अब गणतन्त्रबाट फर्किन नसक्नेमा पुगे।

दोस्रो संविधानसभा निर्वाचनपछि कमल थापा पक्ष बलियाे

दोस्रो संविधानसभा निर्वाचनमा राप्रपा र राप्रपा नेपाल दुई पार्टीले भाग लिए। उनीहरु हलो र गाई चिह्न लिई चुनावी मैदानमा होमिएका थिए।

निर्वाचनको परिणाम राप्रपाले प्रत्यक्षमा ३ सिट जित्यो भने राप्रपा नेपालले प्रत्यक्षमा कुनै पनि सिट जितेन।

तर, कुनै सिट जित्न नसके पनि हिन्दु धर्म र संवैधानिक राजतन्त्रको मुद्दा बोकेको थापाको राप्रपा नेपालले समानुपातिकमा २४ सिट प्राप्त गर्न सफल भयो। राप्रपाले भने प्रत्यक्षमा तीन र समानुपातिकमा ९ सिट प्राप्त गर्‍यो।

यसरी विभाजन हुँदा आपसमा कमजोर भएको निष्कर्षसहित पुनः एकीकरण प्रक्रिया सुरु गरे। यी दुई पार्टीबीच २०७४ मंसिर ५ गते एकता भयो। कमल थापा पार्टी अध्यक्ष र राणा राष्ट्रिय अध्यक्ष बने। यो पार्टीको चौथो एकता थियो।

तर, यो एकता पनि लामो समय टिक्न सकेन। सरकारमा सहभागिताको विषयमा कुरा नमिलेपछि पशुपति शमशेर राणाले पार्टी विभाजन गर्दै राप्रपा (प्रजातान्त्रिक) गठन गरे। यसबीचमा थापा सरकारमा पुगे र उपप्रधानमन्त्री हुँदै परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हाले।

संविधान जारी भएपछि संघीयता स्वरुपको निर्वाचनमा उनीहरुका बीचमा एकीकरणको प्रयास सुरु भयो। तर सफल हुन सकेन।

उनीहरु एक्लाएक्लै निर्वाचनमा भाग लिए। त्यस्तै, प्रकाशचन्द्र लोहनीसमेत अलग पार्टी ‘राप्रपा राष्ट्रवादी’ गठन गरेर अलग्गिए। नेता लोकेन्द्रबहादुर चन्द भने राप्रपा नेपालमै रहे पनि सक्रिय राजनीतिबाट छायाँमा रहेका छन्।

राप्रपाको इतिहासमा यो पाँचौं विभाजन थियो।

सोही विभाजन अन्त्य गर्ने भन्दै मंगलबार थापा र राणाका बीचमा सहमती भएको छ। लोहनीसँग केही कुरामा सहमती हुन बाँकी रहेकाले केही दिनमा कुराकानी टुङ्गो गरी एकीकरण घोषणा गर्ने सहमति भएको राप्रपा नेपालमा रहेका नेता भुवन पाठकले बताए।

हालसम्मको छलफलमा अध्यक्ष मण्डल निर्माण गर्ने र पुनः महाधिवेशन गर्दै अध्यक्ष छान्ने सहमति भएको छ। राणा, थापा र लोहनीको नेतृत्वमा अध्यक्ष मण्डल निर्माण हुने उनले बताए। अध्यक्ष मण्डलको संयोजक भने टुङ्गो नलागेको उनले बताए। राणा र थापा मध्ये एक हुने उनको दाबी छ।

अबको एजेन्डा के?

राप्रपाका दुई पक्ष दुइथरि एजेन्डामा रहेका छन्। राणा समूह गणतन्त्रकै पक्षमा छ भने थापा समूह राजतन्त्रको पक्षमा छ। यी दुवै पक्षका बीचमा मेल कहाँ होला भन्ने कौतुहलता छ।

यी दुईको बीचमा एकधारमा जानुपर्ने उनीहरुको बाध्यता छ। ज्ञानेन्द्रले अवकाश लिएपनि थापा त्यसलाई मुद्दा बनाएर आएका छन् भने राणा अब गणतन्त्रबाट फर्कन नसक्ने बताउँदै आएका छन्। राणाले गणतन्त्र छोड्लान् वा थापाले राजतन्त्र त्यसको टुङ्गो छिट्टै लाग्ने छ।

भारतसँग निकटको आरोप

राप्रपालाई सधैं लाग्ने गरेको पुरानो आरोप हो, भारतसँगको निकटता। तर, अब परिस्थिति बदलिएकाले त्यसलाई मेट्नुपर्ने चुनौति राप्रपालाई छ।

भारत निकट भनिएका चतुर राजनीतिज्ञको पहिचान बनाएका सूर्यबहादुर थापाका कारण यो छवि बनेको हो। उनका छोरा सुनील थापाले राणालाई साथ दिइरहेका छन्। हिन्दूत्व र राजतन्त्रको मुद्दामा भारतीय सत्ताधारी भाजपासँग सुरुदेखि नै विचार मिल्ने पूर्व राप्रपा नेपालको नेतृत्व गरेका कमल थापा पक्ष लोकेन्द्रबहादुर चन्दको साथ पाउने आशामा छ। यसबाट उनीहरुले राजतन्त्र वा हिन्दु धर्मलाई मिलन बिन्दु बनाउन सक्ने आँकलन समेत रहेको छ।

कसकाे पक्षमा विरासत?

अन्ततः आफ्नै पार्टीका नेता लोकेन्द्र बहादुर चन्दको साथ लिई उसबेला आफ्नो सरकार ढालेर सूर्यबहादुर थापालाई सघाउँदा आफूले ‘मुसा प्रवृत्ति’ भनी कटाक्ष गरिएका नेता कमल थापा, राणा र सूर्यबहादुरका छोरा सुनिल थापा वा चन्दका छोरा कसले राप्रपाको भावी विरासत थाम्ने भन्ने प्रतिस्पर्धा हुने देखिन्छ।

गाई कि हलो?
पछिल्ल्लो पटक राप्रपा विभाजन हुनुको एक कारण चुनाव चिह्न गाई कि हलो भन्ने थियो। उक्त विवाद अहिले पनि कायमै रहेको छ। पार्टी स्थापनादेखि राणाले हलो चिह्न रहेको र सबै धर्मका मानिसलाई समेट्न भन्दै हलोको दाबी गरेका थिए भने थापाले गाईलाई आफ्नो स्वाभिमान ठाने। यो विवाद हालपनि कायमै रहेकाले सहजै रुपमा मिल्ने देखिँदैन। दुई पक्षमध्ये एकले यसलाई बिर्सनुपर्ने देखिन्छ।

युवा मतदाता तान्ने चुनाैती

पञ्चहरुको पार्टी भएकाले यसको युवा मतदाता नभएको आरोप लाग्दै आएको छ। सूर्यबहादुर थापाको धनकुटा र पशुपति राणाको सिन्धुपाल्चोक बाहेक अन्य स्थानमा राम्रो छाप नरहेकाले नयाँ युवाहरुलाई पार्टीमा ल्याउनुपर्ने उसको चुनौती छ।

राप्रपाको पछिल्लो समय झापामा राम्रै छाप रहेकाले त्यसबाट सिकेर युवाहरुलाई आकर्षित गर्नुपर्ने चुनौती राप्रपामा रहेको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार