काठमाडौं– सबैलाई चाड मनाउन भ्याइनभ्याइ छ। वर्ष दिनभरिका दुःख भुलेर दसैं मनाउन घर फर्कनेको लर्को नै लागेको छ। विविध कारणले घर जान नपाएकाहरु भने काठमाडौंमै दसैं मनाउने योजनामा छन्।
_x000D__x000D_
वर्षदिनभरिका दुख भुलेर आफन्तसँग मनाउन पाउनेका लागि दसैं राम्रै होला। तर झन्डै तीन करोड नागरिकलाई शान्तिसुरक्षा प्रदान गर्ने प्रहरीको दसैं कस्तो होला?
_x000D__x000D_
यसबारे प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री भन्छन्, ‘सुरक्षित तरिकाले आमनागरिकले दसैं मनाउन पाउनु नै हाम्रो लागि सबैभन्दा महादसैं हो।’
_x000D__x000D_
चाडपर्वलाई अपराधीले अवसरका रुपमा लिने भएकाले धेरै प्रहरीको दसैं ब्यारेकमै बित्ने गर्छ। अहिले दसैंका लागि भनेर देशभर ३५ हजारभन्दा बढी प्रहरी खटिंदैछन् । त्यसैगरी नियमित पुलिसिङ, कारागार सुरक्षा, विमानस्थल, महत्वपूर्ण ठाउँ तथा भिआइपीहरुको सुरक्षा र ब्यारेकको सुरक्षामा पनि ठूलो संख्यामा प्रहरी खटिनुपर्ने हुन्छ।
_x000D__x000D_
यसरी सुरक्षार्थ खटिने प्रहरीले दसैं कसरी मनाउलान् त? यसबारे एक प्रहरी अधिकारी भन्छन्, ‘चाडपर्व, मेला, महोत्सवमा सुरक्षार्थ खेटिने हाम्रो काम र कतव्र्य हो। सबै नागरिक रमाइलोमा भुलिरहँदा हामीले रमाइलोलाई बिर्सेर काम गर्नुपर्ने हुन्छ। ‘अन्य नागरिक जसरी हामी पनि एक रात मासु खाएर रमाइलोमा भुल्यौं भने के हुन्छ? तर हामी त्यो कल्पना पनि गर्न सक्दैनौं, नागरिककै सुरक्षार्थ चाड नभनी खटिन्छौं, यही नै हाम्रो चाड हो।’
_x000D__x000D_
ब्यारेकमा भएका प्रहरीले कसरी मनाउँछन् त दसैं? प्रहरी प्रवक्ता थापाका अनुसार घटस्थापनका दिन देशभरका जिल्ला प्रहरी कार्यालय र सोभन्दा माथिल्ला प्रहरी कार्यालयले जमरा राखिसकेका छन्। प्रहरी प्रधान कार्यालयले पनि १ नम्बर गणको मन्दिरमा जमरा राखिसकेको छ।
_x000D__x000D_
प्रहरीले अष्टमीको दिन जमराको पूजा गर्छ। नवमीको दिन मौला पूजा गरिन्छ। जहाँ बलि दिने चलन छ। दसैंमा घर जान नपाएका प्रहरीले दशमीको दिन कार्यालय प्रमुखबाट टीका लगाउने चलन छ। एकादशीको दिन आइजिपीको हातबाट टीका थाप्ने चलन छ। यो बाध्यकारी नभए पनि एउटा चलनको रुपमा स्थापित नै भइसकेको छ।
_x000D__x000D_
नागरिक आफन्त तथा परिवारका सदस्यसँग रमाइलो मानेर चाड मानिरहेका बेला प्रहरी भने उनीहरुकै सुरक्षार्थ खटिएका हुन्छन्। सबै नागरिकले दसैंतिहार रमाइलोसँग मनाएजस्तै प्रहरीलाई पनि त्यसैगरी मनाउने रहर भने नभएको होइन।
_x000D__x000D_
तर चाडमा अपराध बढी हुने भएकाले धेरै प्रहरी घर जान पाउँदैनन् । ब्यारेकलाई नै घर सम्झेर दसैं बनाउने गर्छन् ।
_x000D__x000D_
मासुको जोहो
_x000D__x000D_
दसैं नजिकिएसँगै प्रहरीलाई मासुको जोहो कसरी गर्ने भन्ने चिन्ता सुरु भएको छ। दसैंमा प्रहरीलाई मासु खुवाउनु पर्ने तर दसैंको मासुको लागि भनेर छुट्टै रासन नआउने भएकाले प्रहरीलाई दसैंको लागि मासुको जोहो गर्ने चिन्ता भएको हो। हप्ताको दुई पटक मासु आउने तर दसैंमा फूलपातीको दिनदेखि पूर्णिमासम्म दिनैपिच्छे मासु खुवाउनुपर्ने हुन्छ।
_x000D__x000D_
त्यसका लागि कतिपय प्रहरी कार्यालयले रकम उठाएर मासुको जोहो गर्ने गरेका छन्। प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्री भन्छन्, ‘दसैंका लागि भनेर छुट्टै रासन आउँदैन। दसैंमा दैनिक मासु खुवाउनुपर्ने हुन्छ। यसको व्यवस्था प्रहरी कार्यालय आफैंले गर्छन्।’
_x000D__x000D_
दसैंका लागि मासु जोहो गर्दै कतिपय प्रहरी कार्यालयले १५–२० दिन अगाडिदेखि नै मेसमा मासु पकाउन छाड्ने गरेको प्रहरी प्रवक्ता थापाले बताए। ‘दसैंमा मासु खुवाउनुपर्ने हुन्छ। त्यसका लागि सल्लाह गरेर नै मासु सञ्चित गर्नका लागि मासुबिनाको खान खाने गरिन्छ। कतिपय प्रहरी कार्यालयले पैसा उठाएर खसी किन्ने गरेका छन्,’ प्रवक्ता थापा क्षेत्रीले भने।
_x000D__x000D_
कतिपय प्रहरी कार्यालयमा भने हाकिमले नै मासुको व्यवस्था गर्दै आएका छन्। कार्यालयमा आएको बजेटको केही अंशबाट पनि खसी किनेर मासु खुवाउने चलन रहेको एक प्रहरी अधिकारीले बताए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।