ब्रह्मपुत्रकाे किनारमा उभिएर

कविता

 विमला तुम्खेवा

Nepal Live

शिरमा देश बोकेर 
ऊ,
वर्षैदेखि यसरी नै उभिरहेछ 
फूलेको केश 
डढिरहेको सपना 
भाग्दै गएको आफ्नै जीवन 
के सोचेर आएको थियो यस जमिनमा? 

धाननाच र हाक्पारे गीतहरु 
राँकेबजारको सम्झना र यो बर्माको घनाजंगल 
सिंगै उमेरभन्दा लामो 
अझै पनि त्यत्तिकै सपनाको खत बाँकी छ उसमा 

किन,
बिर्सियो आफ्नो देशलाई? 
बिर्सिएर गयो आफन्तको माया?

सायद,
यही सोच्यो– जहाँ गए पनि जिन्दगी भोग्नु हो
जहाँ गए पनि सपना साँच्नु हो 
तर, 
यहाँका बोटबिरुवा , मानिस र चराहरुले 
कहिल्यै गाएनन् उसको निम्ति खुसीका गीत 

यो,
पहाडको फेद हुँदै झरेको मुलबाटोमा 
उसको बेहिसाब आँसु बगेर गएको छ 
तर, कहिल्यै भनिएन 
यो खोलाको पानीसँगै तिम्रो पनि तिर्खा  समाहित छ 

कुन माटोले बनेको छ उसको मुटु?
त्यहाँ के–के लेखिएको छ जिन्दगीसँग 
माया वा भ्रममुक्त?
मैले बुझ्न सकिरहेको छैन 
तर, किन बिर्सियो 
यो ब्रह्मपुत्रको धमिलो पानीसँगै आफ्नो देशलाई?

००

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार