ad

चिहानमा उभिएको अमेरिकी प्रभाव

पुरुषोत्तम पौडेल

Nepal Live

संयुक्त राष्ट्र अमेरिका स्थापनाका एक महत्वपूर्ण सदस्य एवं अमेरिकाका दोस्रो राष्ट्रपति जोन एडम्सले भनेका थिए- कुनै पनि देशलाई आफ्नो वशमा लिने दुई तरिका हुन्छन्। सैन्य बलमा सम्बन्धित देशमाथि विजय प्राप्त गर्ने सकिन्छ भन्ने मान्यता पहिलो हो भने र सो देशलाई ऋण जालमा पारी वशमा लिने अर्को माध्यम हो। १९औं शताब्दीमा बेलायतले सैन्य शक्तिको भरमा विश्वलाई आफ्नो अधीनमा राख्न सफल भएको थियो। तर, २०औं शताब्दीमा आईपुग्दा विश्व राजनीतिमा बेलायती प्रभाव विस्तारै क्षीण हुँदै गयो। उसको ठाउँ अर्को पश्चिमा देश अमेरिकाले लिन पुग्यो। 

विशेषगरी, दोस्रो विश्व युद्धपछि अमेरिकाले विश्व मञ्चमा आफ्नो वर्चश्व कायम गरेको हो। दोस्रो विश्व युद्धपछि सन् १९९० सम्म बहुध्रुव कायम रहेको विश्व राजनीतिमा सोभियत संघको विघटनपछि अमेरिकाको एकलौटी आधिपत्य रह्यो। उसको आधिपत्य चीनले २००१ मा विश्व व्यापार संगठनको सदस्यता नलिउन्जेल मात्र कायम रहन सक्यो। विश्व इतिहासको सभ्यतासँग विशेष परिचय नभएको अमेरिकी सभ्यताको लामो इतिहास बोकेका राष्ट्रलाई पछि पार्दै अघि बढ्नुमा खासगरी दुई वटा कारण छन्। बिबिसीका अनुसार अमेरिकी मुद्राले विश्वमुद्राका रुपमा स्वीकृति पाउनु विश्वमञ्चमा उसको प्रभुत्व बढ्नुको एक महत्वपूर्ण कारण हो। यस्तै अमेरिकाका आर्थिक ‘हिटम्यान’हरुको अथक परिश्रमले पनि अमेरिकालाई विश्वको नेतृत्वदायी भूमिकामा पुर्याएको मान्न सकिन्छ। 

जोन पर्किन्सले सन् २००४ मा प्रकाशनमा ल्याएको आत्मवृतान्त ‘द कन्फेसन्स अफ एन इकोनोमिक हिट-म्यान’मा आफूलगायत अरु अमेरिकी हिटम्यानले अमेरिकालाई कसरी विश्व सम्राज्यको अग्रणी नेतृत्वमा स्थापना गर्न सफल भयो भन्ने कुरा उल्लेख गरेका छन्।

ठूला निर्माण र इन्जिनियरिङ परियोजनाका लागि प्रर्याप्त विकास ऋण स्वीकार गर्न अविकसित देशका नेतालाई विश्वासमा लिने काम उनीजस्ता आर्थिक हिटम्यानहरुको थियो। ती परियोजनाबाट गरिब परिवारलाई भन्दा पनि स्थानीय सम्भ्रान्त वर्ग र अभिजात्य वर्गलाई फाइदा पुग्ने गर्र्छ। उनीहरुले यो सुनिश्चित गर्थे कि, परियोजनाहरु अमेरिकी कम्पनीसँग सम्बन्धित होउन्। परियोजना निर्माणमा लिएको ऋण अमेरिकाको राजनीतिक प्रभावका लागि र अमेरिकी कम्पनीलाई प्राकृतिक स्रोत प्रयोग गर्न सहयोग प्रदान गरोस्। यसरी अमेरिकी सरकारको एजेन्टका रुपमा अन्य देशमा काम गरी त्यहाँका नीतिनिर्मातालाई प्रभावमा पार्ने मानिसलाई पर्किन्सले आफ्नो पुस्तकमा आर्थिक हिटम्यानका रुपमा सम्बोधन गरेका छन्। 

अमेरिकाले प्रदान गर्ने आर्थिक सहायता नियतवश नै बढी हुने गरेको पर्किन्सको आरोप छ। विकासोन्मुख देशहरु त्यो ऋण र्फिता गर्न नसकुन् भन्ने उसको रणनीति नै हुने गरेको उनले उल्लेख गरेका छन्। ऋणको आडमा सो देशबाट राजनीतिक फाइदा लिन सकियोस् भन्ने चाहना अमेरिकाको हुने गरेको उनको आरोप छ। अमेरिकाले प्रदान गर्ने आर्थिक सहायता कुनै देशप्रतिको सद्भावका कारण नभई आफ्नै देशका मानिसलाई काम दिनुपर्ने सर्तका कारण हुने गरेको उनले उल्लेख गरेका छन्।

आफूले जागिर खाँदा सिआइए प्रतिनिधिलाई अन्र्तवार्ता दिएपनि अमेरिकी सरकारी जागिर नगरेको पर्किन्स बताउँछन्। १९८०कै दशकमा आफूले पुस्तक लेख्ने सोच बनाएको भएपनि आर्थिक प्रलोभनका कारण आफूले पुस्तक लेख्न नसकेको पर्किन्सले स्वीकारोक्ति छ। अमेरिकी विदेश नीतिको खुलेर विरोध गरेको उक्त पुस्तकमा उनले कर्मिट रुजवेल्ट जुनियरलाई अमेरिकाको पहिलो आर्थिक हिटम्यानका रुपमा चित्रण गरेका छन्। पूर्व राष्ट्रपति थियोडोर रुजवेल्टका नाति उनी हार्वड विश्वविद्यालयमा अध्ययन गरी अमेरिकी गुप्तचर निकायमा काम गरेका थिए। 

कर्मिट रुजवेल्टले इरानका तत्कालीन प्रधानमन्त्री महम्मद मोसाद नेतृत्वको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। गत वर्ष मात्रै सिआइएले कसरी इरानको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गर्न सफल भयो भन्ने प्रतिवेदन घटनाको ६४ वर्षपछि सार्वजनिक गरेको छ। करिब एक हजार पृष्ठ लामो उक्त प्रतिवेदनमा भनिएको छ, ‘लगभग असफल भएको घटना रुजवेल्टको प्रयासले सफल भएको हो।’ 

टाइम्स म्याग्जिनको ‘वर्ष व्यक्ति’ बन्न सफल रुजवेल्टले १९५३ मा बिना कुनै रत्तपात मोसादलाई पदच्यूत गरी उनको ठाउँमा इरानका शाहलाई सत्तामा स्थापना गरेका थिए। उक्त समयमा आर्थिक हिटम्यान प्रशंसित भएपनि त्यो जोखिमपूर्ण घटना थियो। रुजवेल्ट एक सरकारी गुप्तचर निकायका प्रतिनिधि भएकाले उनी विरोधीहरुबाट समातिएको अवस्थामा अमेरिकी सरकार ठूलो परिबन्धमा पर्नुका साथै उसका लागि त्यो लाजको विषय पनि हुने थियो। यसपछि अमेरिकी गुप्तचर निकाय सिआइए र एनएसएको संयुक्त निर्णयमा आफू (पर्किन्स)जस्ता आर्थिक हिटम्यान नियुक्त गर्ने निर्णय भएको उनी बताउँछन्। यस्ता हिटम्यानलाई निजी परामर्श कम्पनी, ईन्जिनियरिङ् फर्म, निर्माण कम्पनीमा आबद्ध गराउने काम भएको पर्किन्सले पुस्तकमा बताएका छन्। यस्तो गरेको खण्डमा उनीहरु समातिएको अवस्थामा पनि अमेरिकी सरकारसँग कुनै सम्बन्ध नहुँदा त्यसले सरकारलाई कुनै फरक पार्न सक्दैनथ्यो। 

सन् १९५४ मा ग्वाटेमालाका राष्ट्रपतिको हत्यामा पनि आर्थिक हिटम्यानहरुकै हात रहेको पर्किन्सको पुस्तकले दाबी गरेको छ। सुरक्षा सम्बन्धी अध्ययन हुने अमेरिकी विश्वविद्यालय र्जज वासिङटन विश्वविद्यालयमा रहेको राष्ट्रिय सुरक्षा स्ंग्रहालयमा ग्वाटेमाला आक्रमण सम्बन्धी रहेको एक लाख पृष्ठको प्रतिवेदन अझै अप्रकाशित छन्। 

मध्य अमेरिकी देश ग्वाटेमालामा १९४४–५४ मा भएको आन्दोलनले अमेरिकी समर्थक जर्ज इविको नेतृत्वको तानाशाही सरकारलाई अपदस्थ गरिदियो र उनको ठाउँमा कम्युनिस्ट सरकारलाई आन्दोलनले स्थापित गर्‍यो। अमेरिकामा कार्यरत उसका सबै सुरक्षा संयन्त्रले ग्वाटेमालाको कम्युनिस्ट सरकारले आफैं अमेरिकालाई चुनौति दिन नसके पनि कम्युनिजम्का माध्यमबाट तत्कालीन सोभियत संघलाई निरुत्साहित गर्नुपर्ने निष्कर्ष निकाल्यो। 

अमेरिकी सरकारको एजेन्टका रुपमा अन्य देशमा काम गरी त्यहाँका नीतिनिर्मातालाई प्रभावमा पार्ने मानिसलाई पर्किन्सले आफ्नो पुस्तकमा आर्थिक हिटम्यानका रुपमा सम्बोधन गरेका छन्। 

 

सीआइएका प्रमुख, केन्द्रीय गुप्तचर निर्देशक वाल्टर बेडेल स्मिथले अमेरिकी सहयोग बिना ग्वाटेमालाको विपक्षीले सरकार विरुद्ध केही गर्न नसक्ने निष्कर्ष निकाल्दै अमेरिकाले ग्वाटेमालामाथि हस्तक्षेप गर्नुपर्ने सुझाव दिएपछि त्यहाँ पनि अमेरिकी आक्रमण भएको पर्किन्सले आफ्नो पुस्तकमा बताएका छन्।

दक्षिण अमेरिकी देश इक्वेडर लामो समयसम्म अमेरिका समर्थक तानाशाही शासकको हातमा थियो। प्रजातान्त्रिक शक्तिहरुले तानाशाही सरकारलाई विस्थापित गर्दै जेम्स रोल्डस् इक्वेडरका राष्ट्रपति नियुक्त भए। समाजिक सुधार गर्दै देशमा रहेको अमेरिकी प्रभाव निस्तेज गर्ने नारासहित सत्तासीन भएका रोल्डस्ले आफ्नो देशको स्रोत साधनलाई आफ्नै देशमा परिचालन गर्ने नीति अतिख्यार गरे। त्यसमा उनको देशले उत्पादन गर्ने कच्चा तेल पनि पथ्र्याे, जुन अमेरिकालाई मन परेन।

नीति परिवर्तन गर्न पर्किन्सलगायत अन्य आर्थिक हिटम्यानलाई इक्वेडर पठाएर रोल्डस्लाई मनाउने प्रयत्न अमेरिकाले गरेको उनको दाबी छ। यसका लागि रोल्डस्लाई फकाउने, आर्थिक प्रलोभनमा पार्ने लगायतका काम भएपनि उनी त्यसबाट प्रभावित नभएपछि अमेरिकाले उनको विमान दुर्घटनामा पारी हत्या गरेको पर्किन्सको आरोप छ। 

सीआइएले २०१४ मा सार्वजनिक गरेका ग्वाटेमाला सम्बन्धी प्रतिवेदनमा अमेरिकाले दक्षिण अमेरिका लगायत ग्वाटेमालालाई आफ्नो प्रभावमा लिन खोजेको बताएको छ। यद्यपि उक्त प्रतिवेदनले रोल्डस्को निधनको विषयमा केही बताएको छैन। इक्वेडरका महान्यायाधिवक्ताको कार्यालयले सन् १९८१ मा भएको आफ्नो राष्ट्रपतिको निधन योजनाबद्ध थियो या त्यो दूर्घटना नै हो भन्ने विषयमा अझै पनि छानबिन गर्दैछ। 

अमेरिकाबाट परिचालित आर्थिक हिटम्यानको प्रभावमा नपरेका रोल्डस्लाई अमेरिकाले हत्या गरेको विषयमा इक्वेडरमा आर्थिक हिटम्यान कार्यरत रहेको कुरामा आफूलाई कुनै शंका नभएको पर्किन्सले पुस्तकमा दाबी गरेका छन्।

सोही वर्ष अर्को दक्षिण अमेरिकी देश पनामाका राष्ट्रपति उमर टोरिजोसको पनि विमान दूर्घटनामा परी निधन भयो। रोल्डस्को निधन भएको दुई महिनापछि टोरिजोसको निधन भएको थियो। आफूले प्रभावमा पार्न खोजेपनि टोरिजोसलाई प्रभावमा पार्न नसकेको पर्किन्स बताउँछन्। मैले भेटेका मान्छे मध्ये टोरिजोन क्षमतावान् मानिस रहेको उनले बताएका छन्। इक्वेडर र पानामा दुबै देशका राष्ट्रपतिले अमेरिकाले ल्याटिन अमेरिकी क्षेत्रलाई समानताका आधारमा व्यवहार गर्नुपर्ने माग अमेरिका समक्ष गर्थे। 

टोरिजोसले अमेरिकाले नियन्त्रणमा लिएको आफ्नो ‘पनामा क्यानल’ फिर्ता ल्याउन तत्कालीन अमेरिकी राष्ट्रपति जिम्मी काटर्रसँग वार्ता गर्दै थिए। अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनका पालामा पनामा क्यानल अमेरिकाले आफ्नो नियन्त्रणमा लिएको थियो। यसरी अमेरिकी हित विरुद्ध अन्र्तराष्ट्रिय स्तरमा नै आवाज बुलन्द बनाउन थालेका पानामा राष्ट्रपतिलाई विमान अवतरण हुन केही क्षण मात्रै बाँकी हुँदा अप्रत्यासित विमान दुर्घटना गराई हत्या गरिएको पर्किन्सले लेखेका छन्।

अमेरिकाले १९५० को दशकदेखि पछिल्लो इराक युद्धसम्म आफ्ना आर्थिक हिटम्यानको प्रयोग गर्दै अन्र्तराष्टिय मञ्चमा आफ्नो अभीष्ट कसरी पूरा गर्न सकिन्छ भन्ने कुरामा मात्र अमेरिकाले जोड दिएको उल्लेख गरेका छन्। यसरी अमेरिकी प्रभाव बढाउन के कस्ता काम गर्दै आएको छ भन्ने कुरा आफ्नो पुस्तकमा लेखेका छन्।  

आफूजस्ता हिटम्यानले अन्य देशमा गराएका घटनामा आन्तरिक शक्तिको पनि मिलेमतो हुने पर्किन्सले बताएका छन्। यस्ता हिटम्यानको उपस्थिति दक्षिण एसियाली देशमा के छ भन्ने विषयमा पुस्तकमा केही नबताइए पनि नेपाल जस्तो आर्थिक प्रलोभनमा सजिलै बिक्ने नेतागण र नीतिनिर्माताहरु हिटम्यानको चङ्गुलमा परेका त छैनन्? 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने