काठमाडौं– श्रीमान् विदेशबाट फर्किएको करिब डेढ महिना भएको थियो। बारीमा साग रोप्ने योजना बनाउँदै थिइन्, वसन्ती परियार। ‘तपाईं घरमा काम गर्दै गर्नु, म बजार गएर सागका बेर्ना ल्याएर आउँछु,' साग रोप्न आतुर उनी श्रीमान्लाई यति भनेर बजारतिर हिँडिन्।
_x000D__x000D_
साँझको ६ बजेको थियो उनी बजारबाट फर्कंदा। श्रीमान् पर्खिइरहेका थिए, वसन्तीलाई।
_x000D__x000D_
अफसोस! घर पुग्नुअघि नै एसिड प्रहार भयो। उनको शरीरमा अन्धाधुन्ध चक्कुसमेत घोपियो।
_x000D__x000D_
OOO
_x000D__x000D_
असोज ८ गते नसोचेको घटना भइदियो ३० वर्षे वसन्ती परियारको जीवनमा। नवलपरासी कावासोती नगरपालिका–१६ डण्डाबजारमा भएको यो घटना उनले जीवनभर बिर्सनेछैनन्। किनकि उक्त घटना शरीरभरी दाग बनेर बल्झिइरहनेछ।
_x000D__x000D_
मुख्य सडकदेखि करिब ५० मिटरभित्रको बजारमै वसन्तीको अनुहारमा एसिड छ्याप्नै अरु कोही थिएनन्। उनी थिए चिरपरिचित छिमेकी विमल श्रीपाइली। बाटो ढुकेर बसिरहेका उनी वसन्तीमाथि अचानक जाइलागे र, एसिड छ्यापेर चक्कुले जथाभावी प्रहार गर्न थाले।
_x000D__x000D_
श्रीपाइलीले पछाडिबाट कपाल समाएर अनुहारमा एसिड छ्यापेको उनका श्रीमान् यमनारायण बताउँछन्।
_x000D__x000D_
श्रीपाइलीले शरीरका विभिन्न भागमा ८/९ पटक चक्कु प्रहार गरेका छन्। आक्रमण हुँदा दिदी बचाउन गएकी बहिनीलाई पनि उनले छाडेनन्। चक्कुको चोट बहिनीलाई पनि लागेको छ।
_x000D__x000D_
अचानक आक्रमण हुँदा वसन्ती सकेसम्म चिच्याइन् र सहयोगका लागि गुहार मागिन्। सार्वजनिक ठाउँमा गुन्जिएको उनको चित्कार सुन्न वरिवरि मानिसको भिड जम्मा भइसकेको थियो। तर त्यो भिडमा कुनै संवेदना थिएन। मूकदर्शक मात्र बने उनीहरु। न कोही छुट्याउन आए न त सान्त्वनाका आवाज नै दिए।
_x000D__x000D_
बजारबाट आउँदै गरेकी बहिनीले आक्रमणमा परेकी दिदीलाई देखिन्। बचाउन गइन्। अचेत दिदीलाई उनैले टेम्पो रोकेर चढाइन् र अस्पताल पुर्याइन्।
_x000D__x000D_
‘आफूमाथि आक्रमण हुँदै गर्दा त्यत्रो हारगुहार गर्दा पनि उनलाई बचाउन कोही तम्सिएन,’ यमनारायणको यही गुनासो बाँकी छ, ' सालीले पनि ‘मेरी दिदीलाई बचाउनुस्’ भन्दै गुहार मागेकी थिइन् रे, तर गुहार सुन्ने कोही भएनन्। मात्र सबै रमिते।’
_x000D__x000D_
त्यहाँ भएका अरु मानिसले 'ढुंगामुढा र लाठी चार्ज' गरिदिएको भए त्यति धेरै आक्रमण नहुने उनको भनाइ छ।
_x000D__x000D_
‘मलाईं पनि पायल्स र सुगरको रोग छ। श्रीमतीले 'त्यस्तो भए घर फर्किनु, यतै उपचार गरौंला' भनेकी थिइन्,' विदेश आउजाउ गरिरहने उनी भन्छन्, 'साथीभाइले अर्थिक रकम जुटाएपछि म पनि घर फर्किँए। मेरो उपचार गर्ने कत्रो इच्छा थियो उनको। उनैलाई उपचार गर्नुपर्ने भो।’
_x000D__x000D_
घटनापछि यमनारायणले गाउँका अरुसँग पनि बुझे। र, थाहा पाए- विमलले वसन्तीलाई मन पराउने गरेका रहेछन्।
_x000D__x000D_
विमलको प्रस्ताव वसन्तीले स्वीकार नगरेपछि श्रीमान्–श्रीमती दुवैलाई मार्ने धम्की दिने गरेको घटनापछि आफूले थाहा पाएको यमनारायण सुनाउँछन्।
_x000D__x000D_
‘हिम्मत हारेकी छैन’
_x000D_असोज ८ गते वसन्तीमाथि आक्रमण भयो। १५ गतेसम्म उनलाई चितवनको भरतपुर अस्पतालमा राखेर उपचार गरिएको थियो।
_x000D__x000D_
१५ गते बेलुकी उनलाई थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल ल्याइएको छ। एसिड आक्रमणबाट उनको शरीरको २५ प्रतिशत भाग जलेको चिकित्सक बताउँछन्।
_x000D__x000D_
एसिड र चक्कु प्रहार गरेर मार्न खोजे पनि आफू जीवनदेखि हार नखाने उनी बताउँछिन्। ‘म समाजमा केही गर्न चाहन्छु,’ अस्पतालको शैय्याबाट उनी भन्छिन्, 'म निको हुन्छु र केही गर्छु, मैले हिम्मत हारेकी छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।