विदेशी लगानीमा डेरी सञ्चालन हुँदा साढे ४ लाख नेपालीकाे राेजीराेटी गुम्ने

Nepal Live

पाल्पा–  डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई प्रत्यक्ष रोजागरी दिएको छ। 

नेपालका करीब पाँच लाख किसानले दूध उत्पादन गरी रोजगार र स्वजरोगार बन्दै गएका छन्। पशुपालनतर्फ युवाको आकर्षण बढ्दा रोजगारी पाउनेको संख्या वर्षेनी बढेको हो।

पछिल्ला वर्ष विदेशबाट फर्केका र शिक्षित युवाको पशुपालन पेशामा आकर्षण बढेपछि डेरी उद्योग फस्टाएको छ। डेरी उद्योग फस्टाउँदा उपभोक्ताले घरघरमा दूध पाउन थालेका हुन् । 

नेपाल डेरी एशोसिएशन केन्द्रीय समितिका अध्यक्ष राधाकृष्ण सापकोटाले नेपालकाे डेरी उद्योगमा लगानी बढ्दा बेरोजगार युवाले डेरीबाट रोजगार पाउन सफल भएको बताए। डेरी उद्योगको विकासका लागि २० अर्बभन्दा बढी लगानी रहेको र दैनिक ५० हजार लाख लिटर दूध उत्पादन हुनेमा फर्मल सेक्टरमा १७ र इनफर्मलमा ३३ प्रतिशत र किसान स्वयंले उपभोग गर्ने ५० प्रतिशत दूध खर्च हुने गरेको उनले बताए। 

महासचिव प्रल्हाद दाहालका अनुसार दैनिक ३ करोडभन्दा बढी रकम सहरबाट गाउँमा प्रवाह हुँदै आएको छ। वार्षिक १ अर्ब राजश्व डेरी क्षेत्रबाट सरकारलाई बुझाउने गरिएको महासचिव दाहालको भनाइ छ। 

विदेशी लगानीमा डेरी उद्योगको सञ्चालन गरेको अवस्थामा स्वदेशी डेरी उद्योगहरु धराशायी हुने उद्योगीको धारणा रहेको छ। डेरी एसाेसिएसनले विदेशी लगानीमा स्वदेशमा डेरी उद्योग सञ्चालनमा आएमा ४ लाख ५० हजार किसानको घरपरिवारको रोजीरोटी गुम्न सक्ने अवस्था प्रति सचेत गराएका छन्।

डेरी क्षेत्रमा २० अर्बको लगानी जोखिम हुने र स्वदेशी पैसा विदेशिन सक्छ भन्दै विदेश लगानीलाई नेपाली भूमिमा प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्ने पक्षमा छैनन्। 

श्रम ऐन २०७५ पास भई न्यूनतम पारिश्रमिकमा वृद्धि हुन गएकाले र बैंकको ब्याज दर बढ्न गई आर्थिक भार बढ्न गएको, घर भाडा बढेर आर्थिक भार बढ्न गएको डेरी व्यवसायीको भनाइ छ। रासस

 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार