काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरिने भएको छ।
नेपालको ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पुर्याई उज्यालो नेपाल निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै कार्यकारी निर्देशक घिसिङलाई इमेज च्यानलले सो सम्मान प्रदान गर्न लागेको हो। यसअघि सरकारले गणतन्त्र दिवस–२०७४ को अवसरमा घिसिङलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको थियो। दुई वर्षअघि कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले भोगेको विद्युत् कटौती समस्या समाधानमा योगदान पुर्याएका थिए।
घिसिङको नेतृत्वमा आर्थिक वर्ष २०७२/७३ मा रु ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण आव २०७३/७४ मा रु एक अर्ब ५१ करोड खुद नाफा कमाउन सफल भएको थियो।
आव ०७४/७५ मा प्राधिकरणको नाफा रु एक अर्ब एक करोड आर्जन हुने प्रक्षेपण गरिएको छ। सञ्चालन नाफा रु ७ अर्ब ८६ करोड रहेको छ। घिसिङकै नेतृत्वमा गत आवमा विद्युत चुहावट २०.४५ प्रतिशतमा सीमित भएको छ। जुन प्राधिकरणको इतिहासमा सबैभन्दा कम चुहावट हो। जसमध्ये प्रसारण र वितरण प्रणालीमा भएको चुहावट क्रमशः करिब ५.५ प्रतिशत र करीब १४.५ प्रतिशत रहेको छ। चालू आवमा विद्युत चुहावटलाई १८.५ प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।