सन् १८२६ मा भारतको केरला राज्यमा जन्मेका शिवपुरी बाबा पाँच वर्षमै ब्रह्मचर्याश्रममा प्रवेश गरेका हुन्। उनले १२ वर्षकै उमेरमा चार वेदको अध्ययन र विद्यार्थी जीवन पूरा गरे। भारतमा जन्मे पनि शिवपुरी बाबाले नेपालमा ३७ वर्ष बिताए।
आज भदौ महिना मूल नक्षत्र परेको छ, आजै शिवपुरी बाबाको जन्म नक्षत्र हो। उनी १३७ वर्षसम्म बाँचेका थिए। यसै अवसरमा उनका उपदेश समेटिएको 'स्वधर्म' पुस्तकबाट बाबा र शिष्यबीच विभिन्न समयमा भएका शिक्षा सम्बन्धी प्रश्नोत्तरलाई यहाँ प्रस्तुत गरेका छौं।
प्रभु! बालकहरूलाई दिइने शिक्षा कस्तो हुनुपर्ला?
सर्वप्रथम त बालकहरूलाई मर्यादा र चालचलन नै सिकाउनुपर्छ अनिमात्र अरु शिक्षा दिन सजिलो हुन्छ। बालबच्चाहरूको पढाइ र चरित्र– निर्माणमा धनसम्पत्ति पनि खर्च गर्नुपर्छ। शिक्षकहरूले दूतको भूमिका खेल्नुपर्छ। केटाकेटीलाई पढाउने गुरुहरूलाई बढी तलब दिनुपर्छ। अरु बालबालिकाहरूलाई पनि आफ्नो बालकजस्तै श्रद्धा गर्नुपर्छ।
विश्व भ्रमणको क्रममा म फ्रान्स पुग्दा विश्वविद्यालयमा पढाउने शिक्षकलाई भन्दा बढी केटाकेटीहरूलाई पढाउने शिक्षकलाई बढी तलब दिइने प्रचलन रहेको सुनेको थिएँ।
प्रभु! पढ्ने कसरी? पढाउने कसरी?
बालकहरूलाई सनातन शिक्षा, वेद, पुराण, अमरकोश, पञ्चतन्त्र आदि पढाउनुपर्छ। त्यसैगरी महात्मा, मुक्त पुरुष, क्राइस्ट, मोहम्मद, बुद्धजस्ता महापुरुषहरूको शिक्षा, जीवनी, चर्चा आदि पनि सुनाउनुपर्छ। सुरुसुरुमा बुझे पनि नबुझे पनि पढ्नुस्। पढ्ने बानी परेपछि बुझ्दै जानुहुन्छ।
बाबा, कस्ताकस्ता पुस्तक पढ्नाले बुद्धि, मन र आत्मा ठिक हुन्छ त?
भतृहरिले रचना गर्नुभएको नीति शतक, शृंगार शतक तथा वैराग्य शतक पनि कण्ठस्त पारेर पढ्नुस्। शृंगार शतकको अध्ययनले सांसरिक वा व्यावहारिक बुद्धि ठिक हुन्छ। नीति शतकको अध्ययनले मन ठिक पार्न मद्दत पुग्छ र वैराग्य शतकको अध्ययनले आत्मा ठिक पार्न सजिलो हुन्छ किनभने मनले गल्ती गर्नाले सुर्ता बढ्छ। बुद्धि ठिक नभए विफलता हात लाग्छ र आत्मा ठीकै छैन भने मय हुन्छ।
बालगङ्गाधर तिलकले गीताका बारेमा लेख्नुभएको पुस्तक पनि पढ्नू। आदिशङ्कराचार्यले लेख्नुभएको गीताको भाष्य, स्वामी अरविन्दले लेख्नुभएको गीता– प्रबन्ध पनि अध्ययन गर्न लायक छन्। श्री अरविन्दको ज्ञानप्रधान हो। ज्ञानेश्वरी गीता भक्तिप्रधान हो र तिलकको कर्मप्रधान हो। तपाईंले पञ्चदशी पनि पढ्नैपर्छ।
कर्म पनि ठिक गर्नु र जे गर्ने हो त्यसप्रति पूर्ण श्रद्धा, भक्ति पनि हुनुपर्छ। मिठा र तिता शब्दहरू हुन्छन्। तिता बोलीले कति जना तिमीसँग सधैंभरि दुस्मन बन्न सक्छन्। बोलाइ र लेखाइमा मिठास हुनुपर्छ। कसैको विरोध गरे पनि, कुरा काटे पनि मिठो शब्द नै प्रयोग गर्नु उत्तम हुन्छ।
प्रभु, तीक्ष्ण बुद्धिका लागि हामीले के गर्नुपर्ला?
बुद्धि तेज गर्न खोज्ने हो भने जति सकेको एकान्तबास गर्नुस् र मौनताको संगीतको आनन्द लिनुस्। स्वधर्म पालन गर्नु पनि एक किसिमको एकान्तबास जस्तै हो। साँच्चै एकान्तमा बस्न सकिन्छ भने फलदायी नै हुन्छ। हामी जंगलमा धेरै समय बसिरहँदा त्यहाँका जनावरहरूसँग प्रेम बढ्दै जान्छ, जसको फलस्वरुप एक–अर्कासँग डर हुँदैन। जंगलको शुद्ध वातावरणमा जीवन बिताउँदा त्यस स्थानको प्रभाव पनि हामीमा पर्दछ।
प्रभु! मन र बुद्धिको सम्बन्ध कस्तो हुनुपर्छ?
मनलाई के चाहिन्छ बुद्धिले दिनुपर्छ। बुद्धिले भनेको मनले मान्नुपर्छ। अनुचित वा अतिशय भोग पनि खराब हुन्छ। त्यस्तै, विवेक नभएको त्याग भोगभन्दा पनि खराब हुन्छ। त्यसैले भोग र त्यागको सन्तुलन मिँलाउँदै जानुस्। आखिरमा बुद्धलाई जस्तो जीवनको प्रेम नहुनासाथ सत्यदर्शन (ईश्वर दर्शन) भइहाल्छ। जसरी घरको नोकरलाई काम अह्राउँदा यसो गर उसो गर भन्नुहुन्छ, त्यसरी नै मनलाई पनि आफ्नो नोकर बनाउनुस्। मनलाई विवेकको सेवक बनाउनुपर्छ। त्यस्तै, विवेक पनि सत्यपूर्ण र ईश्वरपरायण हुनुपर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।