काठमाडौं– भुटानमा भएको तेस्रो संसदीय निर्वाचनमा सत्तारुढ पार्टी जनताको प्रजातान्त्रिक पार्टी (पीडिपी) पहिलो चरणको निर्वाचनबाटै बाहिरिएको छ। दुई चरणमा विभाजन गरिएको निर्वाचनमा पहिलो चरणको निर्वाचन भदौ ३० मा सम्पन्न भएको थियो। दोस्रो चरणको निर्वाचन अगामी कात्तिक १ मा हुने तय भएको छ। पीडिपीको नेतृत्व भुटानका निर्वतमान प्रधानमन्त्री छिरिङ तोप्गेले गरेका छन्।
भुटानको निर्वाचन कार्यालयले पहिलो चरणको निर्वाचनमा पहिलो र दोस्रो हुने राजनीतिक पार्टीले मात्रै दोस्रो चरणको निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गरेको छ। कुल चार पार्टी सहभागी रहेको भुटानको संसदीय निर्वाचनमा निर्वतमान प्रधानमन्त्री तोप्गेको पार्टी तेस्रो भएको हो।
सन् २०१३ मा भएको दोस्रो संसदीय निर्वाचनमा कुल ४७ सिटमध्ये ३२ सिट ल्याएको पीडिपी पाँच वर्षपछिको निर्वाचनमा भने तेस्रो स्थानमा खुम्चिएको हो।
भुटानमा आम निर्वाचन गर्न गत अगष्ट १ मा राष्ट्रिय सभाको विघटन गरिएको थियो। राष्ट्रिय सभाको विघटनपछि कामचलाउ सरकारका रुपमा प्रधानन्यायाधीश दाशो छिरिङ वाङचुकले अस्थायी प्रधानमन्त्रीको भूमिका निर्वाह गर्दै आएका थिए।
अन्तराष्ट्रिय सञ्चार माध्यमले भुटानको निर्वाचन नतिजा सँग गतवर्ष ७३ दिनसम्म चलेको चीन र भारतबीचको डोक्लाम सीमा विवाद जोडेर विश्लेषण गरेका छन्।
डोक्लाम क्षेत्रको सीमा विवादमा चीन र भारतबीच कसको जीत भयो यकिन गरी भन्न सक्ने अवस्था छैन। भुटानको आम निर्वाचनमा चीन र भारतबीच हुँदै आएको डोक्लाम विवादको हारजीतका रुपमा व्याख्या गरिँदै आएको थियो।
लामो समय भुटानको सुरक्षा र विदेश नीतिमा भारतको एकतर्फी नियन्त्रण रहेको थियो। सन् २००९ मा भएको भारत–भुटान सम्बन्ध पूनरावलोकनपछि भुटानले सुरक्षा र विदेश नीति आफ्नै तजबिजमा संचालन गर्न थालेको हो।
गतवर्ष डोक्लाम क्षेत्रमा भएको सीमा विवादमा भारत अनावश्यक रुपमा मुस्सिन आएपछि भुटानी युवाले त्यसलाई आफ्नो सार्वभौम सत्ताविरुद्ध भारतीय आक्रमणको रुपमा बुझेको ‘एसिया टाईम्स’मा प्रकाशित विश्लेषणमा उल्लेख छ।
डोक्लाम चीन र भुटानको सीमा रहेपनि उक्त क्षेत्रमा भारतको पनि रणनीतिक स्वार्थ रहेको बताइँदै आएको छ। भारतले भुटानलाई सहयोग गर्ने नाममा अनावश्यक हस्तक्षेप गर्न खोजेको ‘एसिया टाईम्स’मा प्रकाशित उक्त विश्लेषणमा बताइएको छ।
तत्कालीन भुटानी प्रधानमन्त्री जिग्मे सिग्मे थिङ्ग्लेले चिनियाँ प्रधानमन्त्री वानजिया बावलाई बाज्रिलमा भेटेको र चीनसँग आर्थिक सहयोग लिने सहमति गरेपछि भारतले भुटानलाई खाना पकाउने ग्यास र मट्टीतेलमा दिँदै आएको सहुलियत कटौती गरेको थियो।
भारतीय सहुलियत कटौतीको असर त्यहाँको निर्वाचनमा समेत परेको थियो। निर्वाचनमा थिङग्ले नेतृत्व गरेको ‘पिस एण्ड पोस्पेरिटी पार्टी (पिपिपी) १५ सिटमा खुम्चियो। पहिलो चरणको चुनावमा अग्रता लिएको पिपिपी दोस्रो चरणको निर्वाचनमा आईपुग्दा सत्तारुढ पार्टी पिडिपीसँग निर्वाचनमा पराजय भोगेको थियो।
चीन र भारत दुबै देशसँग सौहार्दतापूर्ण सम्बन्ध विस्तार गर्ने नारासहित सत्तामा आएका निर्वतमान प्रधानमन्त्री तोप्गेकै कार्यकालमा चीनसँग सीमा विवाद हुनु र भुटानमा भारतीय प्रभाव बढ्नुलाई तोप्गेको पराजयको कारणका रुपमा हेरिएको छ।
भुटान एक स्वतन्त्र देश भएपनि छिमेकी देश चीनसँग हालसम्म कूटनीतिक सम्बन्ध स्थापना गर्न सकेको छैन। भारतीय स्वार्थलाई पक्षपोषण गर्न सत्तामा आएको निर्वतमान सत्तारुढ दल पहिलो चरणको निर्वाचनमा नै पराजय भएपछि भुटान मामिलामा भारतको पराजय र चिनियाँ प्रभाव विस्तारको रुपमा व्याख्या गर्न थालिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।