काठमाडौं– निर्माण व्यवसायको क्षेत्रमा अहिले पप्पु कन्सट्रक्सन बद्नाम छ। कम बोलकबोल गरेर ठेक्का हात पार्ने तर वर्षौंसम्म कामै नगर्ने उक्त कम्पनीले देशभरका पुल निर्माणमा बदनामी कमाएको हो। पुल लगायत अन्य भौतिक संरचनाको ठेक्का लिएर वर्षौंसम्म नबनाउने, बनाए पनि कमसल सामग्री प्रयोग गर्ने र मानवीय धराप सिर्जना गर्ने आरोप पप्पुमाथि छ।
काठमाडौं/ललितपुरको सडक निर्माणमा भने यतिबेला नयाँ 'पप्पु' देखापरेको छ। चाबहिल-साँखुसहित १४ वटा सडक निर्माणको ठेक्का लिएको वर्ल्ड वाइड कन्सट्रक्सनले उपत्यकाको सडक विस्तार योजना अलपत्र पारेको छ। उपत्यकाका ढोलाहिटी–सुनाकोठी–चापागाउँ–प्याङ गाउँ–लेले–तिलेश्वर हुँदै सरस्वती कुण्ड सडक तथा नक्खु खोला–भैंसेपाटी–बुङ्मती सडक निर्माण यतिबेला अस्तव्यस्त बनेको छ।
डिभिजन सडक कार्यालय काठमाडौं १ र २ तथा काठमाडौं सडक विस्तार आयोजनाको विवरणमा सबैभन्दा बढी ठेक्का लिनेमा वर्ल्ड वाइड नै रहेको छ। ठेक्का लिएका कतिपय सडकको निर्माण अवधि सकिइसकेको छ भने कतिमा अवधि सकिनै लाग्दा पनि काम अघि बढ्न सकेको छैन। उपत्यकामा पप्पुले हात हालेका सडकको अवस्था पनि उही छ।
सडक विस्तार आयोजना र डिभिजन सडक कार्यालयले उक्त निर्माण व्यवसायी कम्पनीलाई बारम्बार ढिलाइ भएको बारे पत्राचार गरी सचेत गराउँदा पनि कम्पनीले अटेर गरिरहेको छ। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजयमान श्रेष्ठ निर्माण व्यवसायी कम्पनीलाई पटकपटक पत्राचार गर्दा पनि बेवास्ता गरेको बताए। 'बारम्बार पत्र पठाएर काम चाँडो सक्न सचेत गरायौं तर सडकहरु अलपत्र परेका छन्,' उनले भने।
सार्वजनिक खरिद ऐन २०६३ को पहिलो संशोधन २०७३ ले यसरी ठेक्का लिएर काम समयमा नै सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाहीको व्यवस्था छ। संशोधित ऐन २०७३ मा पुरानो ठेक्का पूरा नगरी नयाँ लिन नपाउने प्रावधान अर्थात् नयाँ ठेक्का लिनका लागि छुट्टै स्रोतसाधन देखाउनुपर्ने उल्लेख छ। समयमा काम नगरे, तोकिएको गुणस्तर कायम नगरे एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखी उक्त अवधिसम्म ठेक्का नपाउने व्यवस्था छ। उक्त संशोधित ऐन भौतिक योजना मन्त्रालयले कार्यान्वयनमा ल्याउन सक्छ तर हरेक वर्ष नवीकरणका लागि निर्माण कम्पनीहरु सोही मन्त्रालयमा पुग्ने गरेका छन्।
विकास निर्माणमा तपाईंहरु किन बाधक बन्नुभएको भन्ने प्रश्नमा वर्ल्ड वाइड कन्सट्रक्सनका निर्देशक रामेश्वर अधिकारी आफूले नभई अरुका कारण कारण ढिलाइ भएको तर्क गरे। मेलम्ची खानेपानी आयोजनाले बिनासम्झौता जथाभावी सडक खनेको, विद्युत प्रधिकरणले समयमा तार लगायत पोलको व्यवस्थापन नगरेको कारण आफूहरुलाई काम गर्न गाह्रो भएको उनको भनाइ छ।
'नगर विकासले साइड क्लियर नगरिदिँदा धेरै झन्झट बेहोरिरहेका छौं,' निर्देशक अधिकारीले भने, 'खुट्टा बाँधेर दौडी भने जस्तो गर्नुहुन्छ, यसमा कसरी सम्भव हुन्छ?'
वर्ल्ड वाइडले सडक डिभिजन कार्यालय काठमाडौं १ सँग २०७४ कात्तिक २३ मा सूर्यविक्रम तथा एनकेसिङ मार्ग, २०७३ असार २४ मा पेप्सिप्लानिङ (पेप्सिकोला– काँडाघारी सडक), सोही मितिमा भीमसेनगोला मार्ग, २०७२ मंसिर २१ मा हात्तीगौंडा–गणेश स्कुल सडक, २०७२ माघ २० मा लाखेचौर मार्ग तथा २०७२ असोज २२ मा चाबहिल–गौरीघाट सडक निर्माणको जिम्मा लिएको थियो।
त्यसैगरी, डिभिजन सडक कार्यालय काठमाडौं २ सँग २०७३ साउन १६ मा सिर्जनशील टोल–इसान नर्सिङ होम सडक खण्ड निर्माणको जिम्मा लिएको थियो। काठमाडौं उपत्यका सडक विस्तार आयोजनासँग उक्त कम्पनीले २०७२ असोज १३ मा चाबहिल–जोरपाटी–बाग्मती–साँखु सडक, २०७४ साउन १६ मा नक्खु खोला–भैंसेपाटी–बुङ्मती सडक, २०७४ साउन १६ मा ढोलाहिटी–सुनाकोठी–चापागाउँ–प्याङ गाउँ–लेले–तिलेश्वर हुँदै सरस्वती कुण्ड सडक निर्माणको सम्झौता गरेको थियो। यो खण्डमा त निर्माण नै सुरु भएको छैन।
सम्पन्न गर्नुपर्ने मिति गुज्रिइसक्दा पनि अन्य धेरै खण्डको काम बाँकी छ।
'अदालतले विभिन्न स्थानमा भत्काउनुपर्ने घरहरु नभत्काउन स्टे अर्डर जारी गरेको छ। सडकको सीमामा विवाद आएको छ। सडकमा भएका रुखहरु समयमा व्यवस्था गरिएका छैनन्,' निर्देशक अधिकारीले भन्छन्, 'यसकारण काममा हामीलाई कठिनाइ परिरहेको हो।'
साधारण बाधा अड्चन देखाउँदै महिनौंसम्म काम नगर्ने ठेकेदार तथा इन्जिनियरलाई कारबाही गरिने ऐनमा उल्लेख भए तापनि कार्यान्वयन फितलो भएका कारण वर्ल्ड वाइड जस्ता निर्माण कम्पनीहरु मौलाउँदै गइरहेका छन्। विकास निर्माण अवरुद्ध बनिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।