काठमाडाैं- यस वर्षको ‘माउन्ट एभरेस्ट म्याराथन सद्भाव पुरस्कार’ भारत कारगिलकी नाम्गेल यांग्मोलाई प्रदान गरिएको छ।
यांग्मो भारतको कारगिलमा आयोजित ‘कारगिल अन्तर्राष्ट्रिय म्याराथन २०१८’ को हाफ म्याराथनतर्फको महिला स्पर्धाकी विजेता हुन्।
‘तेन्जिङ हिलारी एभरेस्ट म्याराथन’का परिकल्पनाकार विक्रम पाणेकाजीले यांग्मोलाइ उक्त पुरस्कार प्रदान गरेका हुन्। पुरस्कारको राशि सगरमाथाको उचाई बराबर अर्थात ८ हजार ८ सय ४८ भरतीय रुपैयाँ रहेको छ।
पुरस्कार ग्रहणपछि यांग्मोले विश्वकै अग्लो हिमाल सगरमाथाको नाममा स्थापना गरिएको पुरस्कार पाउँदा आफू हर्सित भएको बताइन्। ‘यस्तो पुरस्कारले हामी धावकहरुलाई हौसला प्रदान गर्दछ,’ उनले भनिन्।
पुरस्कार वितरण समारोहमा बोल्दै पाणेकाजीले विश्वकै अग्लो सगरमाथाको प्रचारप्रसार गर्न आफूले ‘माउन्ट एभरेष्ट म्याराथन सद्भाव पुरस्कार’ प्रदान गर्न थालेको बताए। उनले यस पुरस्कारले आगामी वर्षहरुमा पनि निरन्तरता पाउने जानकारी दिए। ‘हामीले यस्तो पुरस्कार सिक्किममा आयोजना गरिने कन्चनजंघा म्याराथनमा पनि प्रदान गर्छौं। बिस्तारै हिमाली क्षेत्रमा आयोजना गरिने अन्य म्याराथनहरुमा पनि यो पुरस्कार दिने योजना छ,’ उनले भने।
नेपाल र नेपालको हिमाली पर्यटनको प्रचार–प्रसार गर्ने यो नौलो तरिका भएको पनि पाणेकाजीले दाबी गरे।
गत सेप्टेम्बर २ मा भारतको जम्मु कस्मिर राज्यमा आयोजना गरिएको ‘कारगिल अन्तर्राष्ट्रिय म्याराथन’मा १ हजार ५ सयभन्दा बढी धावकहरुले प्रतिस्पर्धा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।