काठमाडौं– विष्णुमाया दाहालले हरेक सन्तानलाई ९ महिनासम्म कोखमा राखेर धरतीमा अवतरण गराइन्। च्याहा-च्याहा गर्दादेखि अनेकौं अभाव र कष्टका बीच हुर्काइन्। बढाइन्। पढाइन्। र, आफ्नो खुट्टामा उभिन सक्षम बनाइन्।
सन्तानबाट एउटै मात्र आशा थियो– उनीहरु बुढेसकालको सहारा बनून्। तर तिनै सन्तानले वृद्धाश्रममा लगेर छाडिदिए। अहिले उनको ओत लाग्ने ठाउँ बनेको छ– काठमाडौं शान्तिनगरस्थित ज्येष्ठ नागरिक आवास गृह।
एक छोरा र एक छोरी अनि एक नातिकी धनी हुन्, विष्णुमाया। तर सन्तानले मनभन्दा धन ठूलो ठानेपछि उनी वृद्धाश्रममा आएको चार वर्ष बितेको छ। परिवारको फराकिलो संसार यही वृद्धाश्रममा साँघुरिएको छ।
दोलखा चरिकोट स्थायी घर भएकी उनी ८० वर्षकी भइन्। जीवनको आठ दशकमा उनले भोगेको संघर्ष लेख्ने हो भने 'महाभारत' हुन पुग्छ। 'संसारमा आफू नै परिवार हो भन्ने लाग्न थालेको छ,' उनी खिन्न हुँदै भन्छिन्, 'हराभरा परिवार र सन्तान साथमा भएका भए म किन यहाँ आएर यो अवस्थामा बस्थेँ होला।'
भनिन्छ, सन्तान भनेका बुढेसकालका सहारा हुन्। उमेर डाडाँपारिको घाम बन्दै गएपछि शरीर थाक्दै जान्छ। ओइलिँदै गएको घाम जस्तै। यही बेला हो आफ्ना सन्तानको सहारा चाहिने। उनीहरु चाहन्छन्, मिठोमसिनो खुवाऊन्। यताउता घुमाउन लैजाउन्।
तर सबैका सन्तानले बा-आमाको स्नेहलाई लत्याइदिन्छन्। जन्म दिने बा-आमाको मर्म बुझ्न नसक्दा र सन्तानहरुले कर्तव्यबोध नठान्दा विष्णुमाया जस्तै धेरै जना वृद्धाश्रममा बस्न बाध्य छन्।
'छोरा कपुत भए पनि आमा कुआमा हुन सक्दिनन्' भन्ने उक्ति नै छ। विष्णुमायालाई आशा छ– टुप्लुक्क कुनै दिन छोरा आइपुग्नेछ र आमा भनेर बोलाउनेछ। सन्तानको पीडा आमालाई पीडा कहिल्यै लाग्दैन। यसै भन्छिन् उनी।
'आशा चाहिँ कहिल्यै नमर्दो रहेछ। त्यो आफूमा श्वास भइन्जेलसम्म जीवितै हुँदो रहेछ,' यति भन्दै गर्दा उनी भक्कानिन्छिन्, 'मैले जन्माएको छोराले नै बिर्सिदियो। म पनि बिर्सिने बानी पार्दैछु। तर सक्दिनँ।'
उनका रसिला आँखाको दृष्टिले भ्याउन्जेल टाढाटाढा हेरिरहन्छिन्। आशा र प्रतीक्षाको यो शृंखला दिनहुँ चलिरहन्छ। जब साँझ ढल्दै जान्छ, आशाहरु मर्दै जान्छन्। 'अरु बेला त जसोतसो दिन काटिएला,' आँखा पुछ्दै उनले भनिन्, 'चाडपर्वको बेला भने मनभित्रै भक्कानो छुटेर आउँदो रैछ बाबु।'
धादिङ खानीखोलाकी दिलकुमारी रेग्मी पनि चुटिएको चंगा झैं परिवारबाट छुटेर आइपुगिन् यहीँ। चार वर्षदेखि बस्दै आएकी उनी ८० वर्ष पुग्न दुई हिउँदबर्खा बाँकी छ।
एक छोरा, दुई छोरी र एक नाति छन् उनका। तर उनीभन्दा निकै टाढा।
'जुन ठाउँमा मैले आफ्ना सन्तानलाई जन्माएँ, त्यही ठाउँमा म रहन सकिनँ,' उनी सुनाउँछिन्, 'पीडा सधैं बल्झिइरहन्छ। धन्न बस्नलाई यो ठाउँ पाइएको छ।'
बुढेसकालमा सन्तानले राम्रोसँग हेरचाह गर्लान् भन्ने आशा थियो उनमा। तर अहिले सबथोक उल्टो भइदियो। 'घरमा हुँदा त के खाइस्, के लाइस् भन्थे होला,' घाँटी गाँठो पार्दै उनी भन्छिन्, 'तर यहाँ त कस्तो छ भनेर सोध्न को आउने?'
यहाँ बस्ने ३८ वृद्धवृद्धाको कथा लगभग उस्तै हो। पीडाको तौल मात्र कसैको बढी होला कसैको कम।
मोरङबाट आएका ८० वर्षीय खडानन्द सापकोटाको पनि बुढेकालको सहारा बनिदियो यही वृद्धाश्रम। ६ वर्षदेखि उनी यहाँ बस्दै आएका छन्।
दुई छोरा, दुई छोरी र दुई नाति छन् उनका। आठ वर्ष अघिसम्म साथ दिने श्रीमती पनि थिइन्। उनले समेत छोडेर गएपछि एक्लिँदै गए। त्यो एक्लोपन वृद्धाश्रम आएपछि थपिएको छ।
प्रेसर, ग्यास्ट्रिक हाडजोर्नी लगायत विभिन्न रोगबाट पीडित छन् उनी। 'जिन्दगीमा मैले अनेक ठक्कर खाएँ तर शरीरमा तागत भएसम्म पसिना बगाएर खाने आँट गरेँ,' उनी भन्छन्, 'जवानी केके गरियो तर बुढेसकालमा शरीरले साथ नदिँदो रहेछ। श्रीमती भए पनि मलाई थोरै सहारा त मिल्थ्यो।'
सन्तानको सुख नपाउनुमा उनी 'भाग्यको खेल' ठान्छन्। 'जो आफ्ना छोराछोरी, नातिनतिनासँग छन्, उनीहरु संसारकै सुखी हुन्,' उनले भने।
यहाँ विभिन्न ठाउँबाट आएका बा-आमा छन्। उनीहरु आफ्ना दु:खका पोका खोलेर एकापसमा सुनाउँछन् र हलुका महसुस गर्छन्। सन्तान वियोगको पीडा खपिरहेका उनीहरु अरुको पीडा पनि सुन्छन् र त्यही कथामा एकाकार भएर सम्हालिन्छन्।
उनीहरुका अनुसार कतिपय सन्तानले सहर घुमाउन ल्याएर अलपत्रसमेत पारेका रहेछन्।
काभ्रे नमोबुद्ध नगरपालिका घर भएका कृष्णचन्द्र श्रेष्ठलाई पनि सन्तानले दिएको पिर पटकपटक आँखामा बल्झिएर आउँछ। उनी आठ वर्षदेखि वृद्धाश्रमको आडमा छन्। उनका तीन छोरा छन्। तर कोही भेट्न आएका छैनन्।
'श्रीमती बितेको केही समयमै पसलमा आगलागी भयो,' उनले सम्झिए, 'त्यो कसरी भयो दैवले जानून्। त्यसपछि ममा ठूलो बज्रपात आइलाग्यो।'
सन्तानको बेवास्ता त छँदैछ। उनमा आठ वर्षयता पत्निवियोगको पीडा पनि थपिएको छ। 'सानोमा छोराहरुलाई औंलामा डोहोर्याएर बाटो देखाएको थिएँ,' उनी विगततिर फर्किए, 'आज बुढेसकालमा मलाई डोहोर्याएउने कोही छैन।'
आफ्ना सन्तानबाट एक थोपा माया पनि पाउन नसकेको उनले बताए। 'मलाई माया गरेको भए घरमै रमाइरहेको हुन्थेँ। यहाँ किन हुन्थेँ र,' उनी भन्छन्।
जब चाडबाड नजिकिन्छ, उनी मन थाम्न सक्दैनन्। सन्तानको एकएक अनुहार आँखाअगाडि आइदिन्छ। बोलाउन खोज्छन्। र, एकछिनमा झसंग भएर वास्तविकतामा फर्कन्छन्।
'छोरा-नातिसँग चाडबाडमा रमाएर बस्न पाए छुट्टै आनन्द आउँथ्यो होला,' उनले भने, 'मलाई त घरबाटै निकालिदिए। तर उनीहरुले राम्ररी दसैं मनाऊन्। आशीर्वादबाहेक के दिन सक्छु र।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।