आइटी अध्ययनका लागि ५३ जनाले पाए सफ्ट एडको छात्रवृत्ति

Nepal Live

काठमाडौं– सफ्ट एड एजुकेसन ग्रुपले आफ्ना कलेजहरुमा दिने छात्रवृत्तिका लागि पहिलो चरणमा ५३ जना विद्यार्थीलाई छानेको छ। ग्रुपले २४ अगस्टमा आयोजना गरेको ‘स्कलरसिप डे’मा आवेदन दिएका ३ सयभन्दा बढी विद्यार्थीमध्येबाट छात्रवृत्तिका लागि उक्त संख्यामा विद्यार्थी छानिएका हुन्।

सफ्ट एडकाअनुसार छानिएका विद्यार्थीलाई ७० प्रतिशतसम्म छात्रवृत्ति प्रदान गरिएको छ। २ जनालाई ७० प्रतिशत, १९ जनालाई ५५ देखि ६५, १५ जनालाई ५० प्रतिशतसम्म छात्रवृत्ति प्रदान गरिएको छ। त्यस्तै, ३० देखि ४५ प्रतिशत छात्रवृत्ति १९ विद्यार्थीले पाएका छन्।

नेपालमा आइटी क्षेत्रको विकास गर्न र यो क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न सफ्ट एडले छात्रवृत्ति कार्यक्रम ल्याएको हो। सफ्ट एडले सन्चालन गरेका दुई कलेज सनवे इन्टरनेसनल बिजनेस स्कुल र सफ्टवेरिका कलेजमा छात्रवृत्ति पाएका विद्यार्थीले विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययन गर्न पाउनेछन्।

देशलाई समृद्ध बनाउने अभियानमा यो कार्यक्रम महत्वपूर्ण हुने सफ्ट एड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले विश्वास व्यक्त गरे। उनका अनुसार यो कार्यक्रम निरन्तर चलिरहने र यसका लागि लायक विद्यार्थीलाई मात्रै छात्रवृत्ति प्रदान गरिनेछ।

‘आइटी क्षेत्रमा नेपालमा दक्षजनशक्ति उत्पादन गर्न सकियो र नेपाललाई एजुकेसन हबका रुपमा विकास गर्न सकियो भने यो क्षेत्रले देशको अर्थतन्त्रमा ठूलो योगदान दिनेछ,’ सफ्ट एड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले भने, ‘हामी विद्यार्थीहरुलाई पढ्ने अवसर प्रदान गर्न चाहन्छौँ। देशलाई समृद्ध बनाउने अभियानमा यो महत्वपूर्ण हुनेछ।’

सफ्ट एडको छात्रवृत्तिका लागि सफ्ट एडका कलेज र सफ्ट एड ग्रुपले सन्चालन गरिरहेका युनिक्याम्पस र च्वाइसमेकर एजुकेसनमा विद्यार्थीले सम्पर्क गर्न पाउने सफ्ट एडले जनाएको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार