रसुवा– नेपाल र चीनबिच संचालनमा रहेको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी नजिकै बाढीले क्षति पुर्याएको पुलको मर्मत गरिएको छ। जिल्लाको गोसाईकुण्ड गाउँपालिका २ टिमुरे स्थित घट्टेखोलामा बाढीले क्षति पुर्याएको पक्की पुलको एक महिनापछि मर्मत गरिएको हो।
पुलको भासिएको स्थानमा ढुङ्गा हालेर ढलान गरिनुका साथै तलैदेखि वाल लगाएर मर्मतको काम गरिएको सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले बताए। उनले भने, ‘भासिएको ठाउँमा ढुंगा हालेर ढलान गरेका छौँ, र तलैदेखि वाल लगाएर मर्मतको काम गरेका छौँ।’
सडक विभागमा हेरिएको इस्ट्रक्चर ड्रोइङ डिजाइनमा जमिन भन्दा २४ मिटर तल तलको बेसमा ढलान भेटिएकाले छिट्टै नै भासिएको पुलको पिल्लर मर्मत गरिएको उनको भनाइ छ। बाढीले क्षति पुर्याएको पुलको मर्मत गरिएसँगै बिहीबारदेखि पुलमा सवारी संचालन गर्ने तयारी भइरहेको शाक्यले बताए।
बाढीले पुलको फाउण्डेसनमा क्षति पुर्याएपछि जोखिमलाई मध्यनजर गर्दै साउन १५ गतेदेखि सवारी सञ्चालनमा रोक लगाइएको थियो। अबिरल बर्षासँगै आएको बाढीले पुलको पिल्लरको दुवै तर्फको भागमा क्षति पुर्याएको थियो। पिल्लर कमजोर भएपछि सवारी संचालन गर्दा उच्च जोखिम भएकाले साना तथा ठुला सवारी संचालनमा रोक लगाईएको थियो।
सवारी आवतजावतमा रोक लगाएसँगै नेपाल तथा चिनतर्फ दुईसय भन्दा बढी कन्टेनर रोकिएर बसेका थिए। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा साउन महिनाभर सवारी साधन सञ्चालन नहुदाँ करोडौको घाटा भएको छ। उक्त पुल चिनियाँ पक्षले निर्माण गरेको बताइएको छ। चिनियाँ बदमासीका कारण पुलमा क्षती भएको बुझिएको छ।
त्यस्तै बर्षातका कारण धुन्चेदेखि रसुवागढीसम्म आधा दर्जन पहिरो झरेको छ। केही क्षेत्रमा बाढीले सडक भत्किएको छ। सडक सुचारु गर्नका लागि डिभिजन सडक कार्यालय, रसुवागढी जलविद्युत आयोजना, मैलुङ स्याफ्रु निर्माण कार्यदल र नेपाली सेनाले निरन्तर काम गरिरहेका छन्।
धुन्चे स्याफ्रु सडक खण्ड खुलाउनका लागि कठिनाई भएको कार्यालयले जनाएको छ। त्रिशुली खोलाको पहिरो पन्छाउनका लागि ब्लास्टिङ गर्ने, पानी लगाउने र स्काभेटर लगाएर द्रुत गतिमा काम भइरहेको कार्यालयले जनाएको छ। सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट आयात निर्यात बढ्दै गएको छ भने रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरेसँगै नाकामा चहलपहल बढेको छ।
रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ। २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेको छ। चीनले रसुवागढी नाकालाई अन्तराष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै नाकामा चहलपहल बढेको छ।
चीनबाट स्याउ, ऊन, तयारी कपडा, ज्याकेट, जुत्ता, विद्युतीय सामग्री, मोटरका पार्टपुर्जा, कस्मेटिक सामान आयात हुने गरेको छ भने नेपालबाट हस्तकलाका सामान, चाउचाउ, धागो, खुर्सानी, चिउरा लगायतका सामग्री निर्यात हुने गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।