इटहरी- प्रदेश सरकार गठन भएको लामो समय बितिसक्दा समेत नामांकन र स्थायी राजधानीको विषय टुंगो लाग्न सकेको छैन। प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने दलहरूबीच यस विषयमा अझैसम्म औपचारिक छलफल समेत हुन नसक्दा अन्योल लम्बिएको हो।
सरकाले पनि राजधानीको विषयलाई बहसमा ल्याउन चाहेको देखिँदैन। स्थायी राजधानी र नामांकनको विषयले दलीय विवाद बढ्ने डरले प्रदेश सरकार आलटाल गरिरहेको छ।
मोरङबाहिरका केही सांसदले विराटनगरबाहिर स्थायी राजधानी तोक्न संसद् र मुख्यमन्त्री समक्ष लिखित आग्रह गरिसकेका छन्। उनीहरूले इटहरी लगायत आसपासको क्षेत्रलाई राजधानी तोक्न भनेका छन्।
संसदमा प्रतिनिधित्व गर्ने साना दलहरूले प्रदेश सरकारको बारम्बार ध्यानाकर्षण गराएका छन्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फे राजधानी जहाँ भए पनि नाम आफूले भनेको हुनुपर्ने बताउँछिन्। लिम्बुवान किराँत खम्बुवान नाम राख्नुपर्ने आफूहरूले माग गरेको उनको भनाइ छ। उनकै भनाइको समर्थन गर्दै संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादव पहिचान र समर्थ्यका आधारमा नामांकन र राजधानीको टुंगो लगाउन सकिने बताउँछन्।
किराँत वा लिम्बुवान जे नाम राखे पनि आफूलाई मान्य हुने उनको भनाइ छ।
विराटनगरमा नै राजधानी बनाउनुपर्ने यादवको भनाइलाई राप्रपाले पनि समर्थन गरिरहेको छ। राप्रपाकी सांसद इन्दिरा राई राजधानी विराटनगरनै हुनुपर्ने र नामांकनको विषयमा छलफल गर्न सकिने बताउँछिन्।
उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारकै पारामा मौन देखिएको छ। सरकारले प्रस्ताव नल्याई केही बोल्न नसकिने संसदीय दलका नेता राजीव कोइराला बताउँछन्। सरकार एकदमै कामचलाउ शैलीमा अगाडि बढिरहेकोले अहिल्यै आत्तिएर केही बोल्ने बेला नभएको उनको भनाइ छ।
'हामीले मुख्यमन्त्रीलाई भेटेरै नामांकन र राजधानीको विषय टुङ्गो लगाउन भन्यौ तर उहाँमा त्यस्तो कुनै जाँगर देखिएन,’ उनी भन्छन्, 'सरकारले अझैसम्म संसद्मा प्रस्ताव समेत ल्याउन सकेको छैन। हामी आफैले संसद्मा बिजनेश लैजान मिल्दैन।’
प्रदेश सरकार पनि राजधानी र नाम अहिल्यै टुंग्याउने पक्षमा देखिँदैन। मुख्यमन्त्री आफै बृहत्तर विराटनगर बनाएर राजधानी घोषणा गर्ने पक्षमा छन्। विराटनगर, इटहरी, धरान लगायत सहरलाई समेटेर बृहत्तर विराटनगर बनाउने सरकारको योजना रहेको छ।
सरकार कानुन निर्माण तथा आन्तरिक व्यवस्थापनमा लागेकोले अब चाँडै नै राजधानी र नामको विषय टुंगिने हुने आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताए। 'सरकारले आन्तरिक छलफल र गृहकार्य गरिरहेकाले बर्खे अधिवेशनअगाडि नै यी विषयहरू फाइनल हुनेछन्,' उनी भन्छन्।
कार्कीकै भनाइको आधारमा पनि कहिलेसम्म नाम र राजधानी टुंगो लाग्ने हो भन्नेमा स्पष्ट हुन सकिँदैन।
राजधानीको विषयमा मोरङ र मोरङ बाहिरका नेताबीचमा मतैक्य छैन भने नामको विषयमा साना-ठूला दलबीच विवाद छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।