काठमाडौं– बिहीबार सर्वाेच्च अदालत परिसरबाटै पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’कलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत नुवाकोटले म्याद दिएको छ। आगजनी मुद्दामा अदालतले म्याद दिएको नुवाकोटका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले बताए।
२ महिनाअघि जिल्लाको बेलकोटगढीमा एक्साभेटर जलाएको आरोपमा उनीविरुद्ध मुद्दा दायर भइसकेको छ। अदालतले बयान सकेर अनुसन्धान प्रतिवेदन पेश गर्न म्याद दिएको हो।
उता उनको रिहाई माग गर्दे सर्वाेच्च अदालतमा फेरि बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता भएको छ।
प्रकाण्डका छोरा विरेन्द्र विश्वकर्माले शुक्रवार तेस्रो पटक निवेदन दर्ता गरेका हुन् ।
प्रकाण्डलाई दुई पटक सर्वोच्चले रिहा गर्न आदेश दिइसकेको छ। तर, प्रहरीले अदालतवाट बाहिरिए लगत्तै पक्राउ गरेको थियो।
विहीबार मात्र सर्वोच्चले उनलाई पक्राउ गर्दा हालै लागू भएको मुलुकी संहिताका व्यवस्थाहरु ख्याल गर्न नेपाल प्रहरी र सरकारलाई आग्रह गरेको थियो । मुलुकी फौजदारी संहिताको कानुनी व्यवस्था समेत पालना गरि उचित कारण र आधार विना पक्राउ गर्ने कार्य नर्गन समेत प्रहरीलाई सर्वोच्चको आदेशमा भनेको थियो । तर, अदालतको आदेशले रिहा भएर बाहिर निस्कने वितिक्कै पक्राउ गरेर अदालतको आदेशलाई समेत उल्लंघन गरेको दावी निवेदनमा गरिएको छ । मुलुकी फौजदारी संहिता लागू भएको दिनमा उनलाई अदालतले गैरकानुनी पक्राउ गरेको भनि आदेश जारी गरेको अवस्था पुन सोही कार्य गरेको भन्दै मुलुकी संहिताको व्यवस्था ख्याल गर्न आदेश गरेको थियो । पहिलो पटक भदौ १ गते उनी पक्राउ परि रिहा भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।