काठमाडौं– सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहितका नेताहरुलाई साधारण तारेखमा रिहा गर्न आदेश जारी गरेको छ।
न्यायाधीशद्धय दीपकुमार कार्की र बमकुमार श्रेष्ठको इजलाशले उनीहरुलाई बन्दी प्रत्यक्षीकरणको निवेदनमा फैसला गर्दै रिहा गर्न आदेश दिएको हो।
काभ्रे सदरमुकामस्थित क्रसरमा आगजनी गरेको अभियोगमा धुलिखेल प्रहरीले उनलाई हिरासतमा राखेको थियो।
भदौ १ गते सर्वाेच्च अदालत परिसरबाट दोस्रो पटक उनलाई गिरफ्तार गरिएको थियो। प्रकाण्डलाई गैरकानूनी रुपमा राज्यले गिरफ्तार गरेको र गैरन्यायिक तरिकाले थुनामा राखिएको भन्दै विरेन्द्र विकले रिहाइको मागसहित आइतबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता गराएका थिए।
रिटमाथि सोमबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले गिरफ्तार गर्नुको लिखित कारणसहित बन्दीलाई उपस्थित गराउन विपक्षीको नाममा आदेश जारी गरेको थियो। सर्वोच्चको आदेशपछि उनलाई हिजै सर्वोच्चमा पेस गरिएको थियो।
साउन २२ गते काठमाडौंको चोभारबाट सीआइबीको टोलीले उनलाई गिरफ्तार गरेको थियो। लगत्तै प्रकाण्डका छोरा नरेन्द्रबहादुर विकले सर्वोच्चमा निवेदन दर्ता गरेपछि उनलाई रिहा गर्न आदेश भएको थियो।
तर, उनलाई काभ्रेको एउटा घटनासँग जोडेर राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकसमेत भएको गाडीबाटै काठमाडौं प्रहरीले गिरफ्तार गरेको थियो।
साथमै गिरफ्तार गरिएका हरिचन्द्र आचार्य र गाडी चालक मनबहादुर श्रेष्ठ भने सोही दिन रिहा भएका थिए।
त्यसैगरी उक्त इजलाशले नेकपाका कार्यकर्ता दोलखाका लोकेन्द्र दर्नाल ‘प्रमेश’ र राजनप्रसाद लम्साललाई पनि रिहा गर्न आदेश दिएको छ। दर्नाललाई गएको साउन २६ गते ललितपुरको सानेपा डेराबाट गिरफ्तार गरिएको थियो भने लम्साललाई काठमाडौंबाट गिरफ्तार गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।