काठमाडौं– सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्व मन्त्री खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’लाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउने आदेश दिएको छ।
न्यायाधीश ईश्वर खतिवडाको एकल इजलाशले प्रकाण्डलाई पक्राउ गर्नुको कारणसहित उपस्थित गराउन आदेश गरेको हो । प्रकाण्डको पक्राउ प्रकरणमा सर्वोच्चको यो तेस्रो आदेश हो । यसअघि सर्वोच्चले उनलाई गैरकानुनी थुनामा राखेको भन्दै रिहा गर्न आदेश गरेको थियो । सर्वाेच्चको आदेशपछि रिहा भएका उनी तत्कालै पक्राउ परेका थिए ।
मानव अधिकार आयोगका सदस्य सुदिप पाठकको गाडीबाटै प्रहरीले पक्राउ गरेको थियो।
पहिलो पटक जारी भएको आदेशलाई बेवास्था गर्दै पक्राउ गरेको भन्दै प्रकाण्डका छोरा विरेन्द्र विश्वकर्माले बन्दीप्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए । सर्वोच्चले प्रकाण्डसंगै पक्राउ परेका लोकेन्द्र दर्नाल र राजनप्रसाद लम्साललाई पनि २४ घन्टाभित्र अदालत पेश गर्न सर्वोच्चले भनेको छ।
कांग्रेस नेता कुन्साङ लामाले नमोबुद्ध–६ मा सञ्चालन गरेका क्रसरमा गत बैशाख १ गते सो पार्टीका कार्यकर्ताहरुले आगजनी गरेका थिए। आगलागीबाट क्रसरमा भएको २ वटा स्काभेटर, एउटा जेसीबी, ४ वटा ट्रिपर र एउटा जेनेरेटर जलेर नष्ट भएको थियो आगलागीमा झन्डै १० करोडको क्षती पुगेको पीडितको दाबी छ। प्रकाण्डकै नेतृत्वमा सो आगजनी भएको भन्दै प्रहरीले मुद्दा दायर गरेको थियो।
काभ्रे प्रहरीले जिल्ला अदालत काभ्रेमा उपस्थित गराई थुनामा राख्ने म्याद लिएको लिएर अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।