जाकर्ता– १८औं एसियाली खेलकुद (एसियाड)को दोस्रो दिन नेपालले आज ९ खेलमा प्रतिस्पर्धा गर्दैछ। नेपालले तेक्वान्दो, फुटबल, फेन्सिङ, ब्याडमिन्टन, उसु, कबड्डी, लन टेनिस, सुटिङ र सेपाकताक्रोमा पनि प्रतिस्पर्धा गर्दैछ।
तेक्वान्दो
नेपालका कमल श्रेष्ठ र पार्वती गुरुङले प्रतिस्पर्धा गर्दैछन्। दुवैले चाइनिज ताइपेहका खेलाडीसँग प्रतिस्पर्धा गर्दैछन्। पार्वती लिओआ वेन्सुआनसँग तथा कमल चेन चिङसँग भिड्दैछन्। यस्तै महिला टिम इभेन्ट्सको पुम्सेमा नेपालले उज्वेकिस्तानसँग खेल्नेछ।
फेन्सिङ
फेन्सिङ सावर इभेन्टमा कमला श्रेष्ठ र रविना थापाले प्रतिस्पर्धा गर्दैछन्। पुल एमा रहेकी कमलाले जापान, मंगोलिया, हङकङ, चीन, इन्डोनेसिया र भियतनामकी खेलाडीसँग भिड्दैछिन्।
पुल डीमा रहेकी रविनाले दक्षिण कोरिया, कम्बोडिया र इरानकी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछिन्। यो इभेन्टको फाइनल खेल आजै हुनेछ।
कुस्ती
कुस्तीमा पनि ३ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। जसमा भागवत साह, सरोज यागद र सुरेश सुनार छन्।
उसु
उसुको ५२ केजी तौल समूहअन्तर्गत जुनी राईले प्रतिस्पर्धा गर्दैछिन्। उनको खेल भियतनामकी नगुएन थिथुथीसँग तय भएको छ। यस्तै ६० केजी तौल समूहमा नेपालका मंगलप्रसाद थारुले इन्डोनेसियाका सोफियन अब्दुस हारिससँग भिड्नेछन्।
फुटबल
फुटबलमा नेपाल सुरुवाती २ खेलमा पराजित भएसँगै समूह चरणबाटै बाहिने लगभग निश्चित छ। समूहमा तेस्रो टिम पनि दोस्रो चरणमा पुग्ने भएको हुँदा नेपालको गणितीय सम्भावना मात्र बाँकी रहेको छ। समूह चरणबाट बाहिरिने सँघारमा रहेको नेपालले आइतबार समूह डीको खेलमा पाकिस्तानसँग वेस्ट जाभास्थित सहिद चन्द्रभागा रंगशालामा प्रतिस्पर्धा गर्नेछ।
ब्याडमिन्टन
नेपालले आइतबार ब्याडमिन्टनको महिला तथा पुरुष टिम इभेन्ट्समा प्रतिस्पर्धा गर्दैछ। पुरुष टिम इभेन्ट्समा नेपालसहित १३ टिमले सहभागिता जनाउँदैछन्। चीन, चाइनिज ताइपेई र भारत सिधै क्वार्टरफाइनलमा पुगिसकेका छन्।
नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्दैछ। खेल जाकार्ताको बुङकार्नो रंगशालाको इस्टोरा हलमा हुनेछ। आइतबार जित हात पार्न सके नेपाल क्वार्टरफाइनलमा पुग्नेछ।
ब्याडमिन्टनको टिम इभेन्ट्समा पुरुषतर्फ नेपालका विकाससहित रत्नजित तामाङ, नवीन श्रेष्ठ र दिपेश धामी छन्। टिम इभेन्ट्समा भाग लिएका १३ टिममध्ये नेपाल १०औं बरीयतामा छ।
यता नेपालले आइतबार नै महिला टिम इभेन्ट्समा पनि खेल्दैछ। महिलामा नेपालको पहिलो खेल माल्दिभ्ससँग छ। माल्दिभ्सविरुद्ध खेल्ने नेपाली खेलाडीमा नङसलदेवी तामाङ, अमिता गिरी, जेशिका गुरुङ र रसिला महर्जन छन्। महिला टिम इभेन्ट्समा ११ टिम छन्।
जापान, भारत, थाइल्यान्ड र चीन सिधैै क्वारर्टरफाइनलमा पुगेका छन्।
यस्तै, नेपालले कबड्डीमा आयोजक इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ। टेनिसमा संरक्षकभूषण बज्राचार्यले अन्तिम ६४ को खेलमा इन्डोनेसियाका फ्रिटाडी रफ्कीसँग खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।