काठमाडौं– साउन ३२ गते बेलुका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीशको रुपमा ओमप्रकाश मिश्रले मुलुकी संहिता लागू हुने दिनको शुभकामना दिए। मिश्रको शुभकामना लगत्तै कायममुकायमकै रुपमा न्यायाधीश दिपकराज जोशीले पनि सोही प्रकृतिको सन्देश जारी गरे।
दुवैले आफूलाई सर्वोच्च अदालतको कामयमुकायम दावी गर्दै शुभकामना दिएका थिए। संविधानले सर्वोच्च अदालतको एकजना मात्र कायममुकायम हुने व्यवस्था गरेको छ। तर संसदीय सुनुवाइले जोशीको नाम अस्वीकार गरे लगत्तै इतिहासमा पहिलो पटक दुई जना कामु प्रधानन्यायाधीश देखिएका छन्।
साउनको १८ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले जोशीलाई प्रधानन्यायाधीशका लागि अस्वीकृत गरेको थियो। साउन २० देखि उनी बिदामा बसेका थिए। त्यसपछी वरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्रले कायममुकायमको रूपमा काम गरिरहेका छन्। सर्वोच्च अदालतको वेवसाइटमा पनि कामु प्रधानन्यायाधीशमा मिश्रकै नाम छ, जोशीलाई भने न्यायाधीशमात्र उल्लेख गरिएको छ।
बिदामा बसेको व्यक्ति कामु हुने वा नहुने संवैधानिक प्रश्न खडा भएको संवैधानिक कानुनका ज्ञाता डा चन्द्रकान्त ज्ञवाली बताउँछन्। ‘उहाँ संसदीय समितिबाट अस्वीकृत हुनु भएको हो। तर, अहिले बिदामा बस्नु भएकोले उहाँलाई संविधानले कामुको रुपमा चिन्दैन,’ ज्ञवालीले भने, ‘उनी फर्केर आएमा कामु हुन सक्छन्।’
संसदीय सुनुवाईबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि जोशीले के गर्छन् भन्ने धेरैको चासोका बीचमा उनी बिदामा बसेका थिए। कतिपय कानुन व्यवसायीहरुले उनलाई राजीनामा दिन सुझाव दिएका थिए। तर, उनले त्यसलाई अस्वीकार गर्दै बिदामा बसेका थिए।
प्रधान्यायाधीशका रूपमा अस्वीकृत भए पनि उनको न्यायाधीश पद भने कायमै रहन्छ। उनले ६५ वर्ष नपुगेसम्म न्यायाधीशको रूपमा काम गर्न भने पाउँनेछन्। उनको कार्यकाल अझै १ वर्ष बाँकी छ।
प्रधानन्यायाधीश अनुपस्थित भएको बेला सबैभन्दा वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको रूपमा काम गर्न पाउँछन्। कायममुकायमका हैसियतले मिश्रले नै अहिले सर्वोच्चमा मुद्दाका पेशी तोक्दै आएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।