भैरहवा– नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति आयोजनाका प्रमुख इ. ओम शर्मालाई सरुवा गरेको छ।
विमानस्थल शिलान्यासदेखि हालसम्म पनि निरन्तररुपमा कार्यरत शर्मालाई बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुखको रुपमा सरुवा गरिएको छ। निजगढ विमानस्थल राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बहुप्रतिक्षित अन्तर्राष्ट्रिय विमानस्थल हो।
प्राधिकरण अन्तर्गत राष्ट्रिय गौरवका आयोजनाको नियमन गर्ने शाखाका प्रमुख प्रदिप अधिकारीले आयोजना प्रमुख शर्माको सरुवा अरु कुनै कारण नभई नियमित प्रक्रिया अनुसार नै भएको बताए। आयोजना प्रमुखको सरुवा हुँदैमा विमानस्थल निर्माणको काम प्रभावित नहुने बताउँदै उनले विमानस्थल तोकिएको समय भित्रै सम्पन्न हुने दावीसमेत गरे।
उक्त शाखाले निर्माणाधीन गौतमबुद्ध विमानस्थल, पोखरा विमानस्थल र बाराको निजगढ विमानस्थलको नियमन गर्दछ। यी तिन वटै विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थल हुन्।
मुआब्जा विवादले सरुवामा ढिलाइ
केही समय अगाडि देखि नै शर्मालाई सरुवा गर्ने चलखेल भइरहेको थियो। श्रोतका अनुसार प्रमुख शर्मालाई सरुवा गर्नका लागि नेकपाका महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी तथा नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक संजिव गौतमले प्रयास गरिरहेका थिए।
तर विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जाको विषयमा स्थानीलयले आन्दोलन गरेपछि सरुवा केही समय पछाडी धकेलिएको थियो। स्थानीयको आन्दोलनका बीच प्रमखको सरुवा गरिए महानिर्देशक थप विवादित हुनसक्ने अवस्था देखिएकाले उनको सरुवा तत्कालका लागि रोकिएको थियो।
समयमै निर्माण सकिनेमा अाशंका
आयोजना प्रमुखको सरुवा भएपछि यस क्षेत्रका स्थानीयदेखि उद्योग, व्यवसायी तथा राजनीतिक दलसमेत विरोधमा देखिएका छन्।
रुपन्देही क्षेत्र नम्बर ३ का प्रदेश सांसद सन्तोष पाण्डेले आयोजना प्रमुखको सरुवाले विमानस्थल निर्माणको काम प्रभावित हुने बताए। उनले विमानस्थल शिलान्यासदेखि करिब ६० प्रतिशत काम सम्पन्न हुँदासम्म आयोजना प्रमुखको रुपमा रहेका शर्मालाई हटाएर अर्को आयोजना प्रमुख ल्याइँदा तोकिएको समयभित्र विमानस्थल सम्पन्न हुुनेमा आशंका उब्जिएको बताए।
‘नयाँ आयोजना प्रमुख आउँदा आयोजनाबारे बुझ्न महिनौ लाग्छ।’, सांसद पाण्डेले प्रश्न गरे, ‘अनि तोकिएको समयभित्र कसरी काम सम्पन्न हन्छ?’ उनले पर्यटन मन्त्रालयका केही कर्मचारीको मिलेमतो र प्राधिकरणका महानिर्देशनको व्यक्तिगत रिसइबीका कारण उनलाई सरुवा गरिएको आरोप लगाए।
सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष ठाकुर कुमार श्रेष्ठले विमास्थल निर्माण कार्य र स्थानीयलाई राम्ररी बुुझेका शर्माको सरुवाले प्रदेश ५ बासीलाई दुखित तुल्याएको बताए।
उनले सरकारले राजनीतिक स्वार्थ पूर्तिका लागि सरुवा गरिएको बताउँदै विमानस्थल निर्माणको काम एक वर्ष पछाडी धकेलिने संकेत दिए। उनले राष्ट्रिय गौरवका आयोजना प्रमुखलाई अन्य कर्मचारीजस्तो सरुवा गर्नु जायज नभएको भन्दै यसले विकास निर्माणमा प्रत्यक्ष प्रभाव पार्ने जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।