काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा हुने गरेको भ्रष्टाचार, जनप्रतिनिधीले उपभोग गरेका सुविधाको विषयमा चासो राखेका छन्।
गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधि मण्डलसँग आज सिंहदरबारमा अन्तरक्रिया गर्दै ओलीले स्थानीय तहमा अनियमितता भएको गुनासो आएको बताए। जनताका काम जनप्रतिनिधीले सहज ढंगले नगरिदिएको गुनासो धेरै आएकोले त्यस विषयमा गम्भीर हुन जनप्रतिनिधीहरुलाई आग्रह गरे।
‘कतिपय ठाउँमा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षले महंगा गाडी किनेको, कतिपय वार्ड अध्यक्षले डोजर किनेर सडक बनाउने ठेक्का आफैं लिएका गुनासाहरु आएका छन्,’ ओलीले भने, ‘तपाईंहरु जनप्रतिनिधि हो। त्यसकारण जनताले नरुचाउने काम नगर्नुहोस्। जनताले जे रुचाउछन् त्यस काममा केन्द्रित हुनुहोस्।’ कानुनले दिएको अधिकार उपभोग गर्दा पनि सचेत रहन सुझाव दिए।
“जतिसुकै चुनौति भए पनि देश निर्माणको जग भनेको तपाईंहरु नै हो।’ ओलीले भने,‘दुर्गमका बस्तीहरु, राज्यको सेवा सुविधा नपुगेका जनताहरुमा तपाईंहरुले नै सेवा प्रवाह गर्ने हो।’ दुर्गम भएर नै गाउँपालिका भएको बताउदै उनले सुगम ठाउँ भएको भए नगरपालिका हुने तर्क गरे।
स्थानीय तहका जनप्रतिनिधीका कामबाट जनताले प्रदेश र संघीय सरकारप्रतिको धारणा बनाउने भएकोले आफ्नो आचरणमा विशेष ख्याल गर्न प्रधानमन्त्रीले जनप्रतिनिधीलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।