काठमाडौं– फेवाताल मिचेर वाटरफ्रन्ट रिसोर्ट सञ्चालन गर्दै आएका कर्ण शाक्यले प्रभावित पार्दै मुद्दाको पेसी अदालतका तर्फबाटै स्थगित गराएका छन्। सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ नहुँदै समितिको प्रतिवेदन बाहिरिएपछि शाक्य चलखेलमा लागिपरेका थिए।
विचाराधीन मुद्दालाई प्रभावित पार्न मुद्दा सार्ने चलखेल सुरु भएको भनी बुधबार नै नेपाल लाइभलाई प्राप्त सूचनालाई सत्य साबित गर्दै शाक्यले मुद्दा सारेका छन्। अधिवक्ता खगेन्द्र सुवेदीले दायर गरेको मुद्दा स्थगितको १५ नम्बरमा सर्वोच्चले प्रकाशन गरेको छ। सर्वोच्च अदालत मुद्दा फाँटका एक कर्मचारीले केही पहिले नै शाक्यका कानुन व्यवसायी मुद्दा सार्ने लबिङमा लागेको जानकारी दिएका थिए। शाक्यले मुद्दाको फैसला तत्काल हुँदा रिसोर्ट भत्काउन आदेश हुने निश्चित भएपछि त्यसलाई केही समय पर धकेल्ने प्रयास स्वरुप मुद्दाको पेसी सारेका हुन्।
२०६८ असार २३ गते अधिवक्ता खगेन्द्र सुवेदीसहितले दायर गरेको निवेदनको पेसी स्थगित भएपछि अर्को पेसी छिटोमा १५ दिन पर धकेलिएको छ।
समितिले रिसोर्टका अधिकांश संरचना अवैध रुपमा तालको जग्गामा निर्माण भएको प्रतिवेदन दिएकाले आफ्नो विपक्षमा सर्वोच्चको फैसला आउने निश्चित भएकाले न्यायाधीशको इजलास गठन हुनुअघि नै स्थगित गराउने तयारीमा शाक्य रहेका थिए। शाक्यले त्यसका लागि काठमाडौंमा रहेका आफ्ना कानुन व्यवसायीहरुसँग समेत परामर्श गरेका थिए।
उक्त मुद्दा साप्ताहिक पेसी सूचीको २०औं नम्बरमा रहेको थियो। १ सय ५ वटा मुद्दाको पेसी रहेको उक्त दिनमा स्थगित गर्दा १५ नम्बर तल पारेर चलखेल गरिएको छ।
सर्वोच्च अदालत मुद्दा फाँटका एक कर्मचारीका अनुसार शाक्यका कानुन व्यवसायीहरुले अदालतका तर्फबाट स्थगितको सूचीमा राख्न लबिङ गरेका थिए।
सर्वोच्च अदालत नियमावली अनुसार २ पटकसम्म पक्षका कानुन व्यवसायीहरुले आफू अदालत उपस्थित हुन नसक्ने भएमा निवेदन दिएर स्थगित गराउँदै सुनुवाइ सार्न पाउने सुविधा छ। उक्त सुविधा २ पटक प्रयोग गर्दा २ महिना पेसी सार्न सकिने भएकाले यस्तो चलखेल भएको हो।
उक्त मुद्दामा यसअघि नै न्यायाधीशद्वय ओमप्रकाश मिश्र र सपना प्रधान मल्लले सुनुवाइ गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।